• २०८२ पुष २५, शुक्रबार

‘अविरल जनसाहित्य यात्रा–१०५’मा गुञ्जिए कवि डा. सरोज धिताल

काठमाडौँ ।

‘अविरल जनसाहित्य यात्रा–१०५’ मा प्रगतिवादी कवि डा. सरोज धितालका एक दर्जन कविता गुञ्जिएको छ । वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७२ सालदेखि अविच्छिन्न रूपमा आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को १०५ औँ शृङ्खला भएको हो । उक्त शृङ्खलामा कुशल चिकित्सक, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सशक्त प्रगतिवादी कवि डा. सरोज धितालका एक दर्जन सशक्त कविता गुञ्जिएका छन् ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षता र एमाले उपाध्यक्ष, पूर्वमन्त्री एवम् साहित्यकार रघुजी पन्तको प्रमुख आतिथ्यमा र राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका महासचिव एवम् अविरल जनसाहित्य यात्रा संयोजन समिति संयोजक डा. कृष्ण सुवेदीको सञ्चालनमा कार्यक्रम भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवी, हेमराज राई, प्राज्ञ सुलोचना मानन्धर, मञ्जुल, प्राज्ञ माधव प्रधान, मानवअधिकारकर्मी गौरी प्रधान, प्राडा देवी नेपाल, वरिष्ठ संस्कृतिकर्मी श्याम तमोट, वासुदेव अधिकारी, प्राज्ञ लक्ष्मी माली, डा. सावित्री श्रेष्ठ, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालकी उपाध्यक्ष नमुना शर्मा र महासचिव आर.सी। न्यौपाने, स्नेह सायमी, तारक धिताल, शार्दूल भट्टराई, युद्धप्रसाद मिश्र प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नन्दु उप्रेती र सोही प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा. फणीन्द्रराज निरौला, डम्बर पहाडी, जयन्ता पोखरेल, मा.आभा सेतु सिंह, डा. देवकी आचार्य, देविका तिमिल्सिना, डा. गोविन्दप्रसाद आचार्य, प्रशान्त खरेल, महेशराज खरेल, सुस्मिता नेपाल, राजेश थापा, मधु गुरुङ लगायत अतिथिका रूपमा उपस्थिति रहेका थिए ।

उक्त समारोहमा उनले नै कविनायक डा. सरोज धितालको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । डा.सरोज धिताल पुराना, नेपाली वामआन्दोलनमा भूमिगत भएर सामाजिक रूपान्तरण अभियानमा सरिक भएका स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले डा।सरोज धितालका समसामयिक विषय र सन्दर्भका एक दर्जन कविता प्रस्तुत गर्नेगरी कविलाई उभ्याएका छौँ । चिकित्सा विज्ञानका माध्यमबाट मानवजीवनको रक्षा, वैचारिक सक्रियताका माध्यमबाट सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता तथा साहित्यका माध्यमबाट सामाजिक विकृतिमा रूपान्तरण गर्ने तथा मानवहितका लागि साहित्य सिर्जना गर्ने अभियानमा सामेल रहेका स्रष्टालाई आज हामी सुन्ने छौँ ।

डा. धितालले सन १९९१ मा चीनबाट जनरल सर्जरीमा स्नातकोत्तर उत्तीर्ण गरेर २०३४र ३५ सालदेखि नै साहित्यमा कलम चलाएका हुन् । डा. सरोजका ‘उज्यालोको बिउ’ निबन्धसङ्ग्रह, ‘आँसु र उत्सव’ कवितासङ्ग्रह र ‘झ्यालमा रमाउने सानी केटी’ जस्ता अनुवादकृति प्रकाशित छन् । नेपाली समाजको नजिकबाट अवलोकन गर्ने र देखिएका विकृति उजागर गरी रूपान्तरणका पक्षमा कलम चलाउने डा. धिताल सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानका अभियन्तासमेत रहेको धारणा राखेका थिए । त्यस्तै नर्मदेश्वरी सत्यालले दश वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’मा यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वबारे समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने गरेको बताइन् ।

यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका स्रष्टाको कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन उनले बताइन । डा. धिताल आफ्ना सिर्जनामा गम्भीरताका साथ समाजका कुरूप यथार्थलाई उतार्ने र सरलताका साथ जीवनभोगाइका यथार्थ एवम् सुन्दर विम्बलाई प्रयोग गर्दै रूपान्तरणका पक्षमा वैचारिकता सम्प्रेषण गर्ने स्रष्टा पनि हुन् । उनले उपस्थित अतिथिहरू व्यक्तित्वलाई हार्दिक स्वागत पनि गर्दै कविनायकलाई माल्यार्पण गरी स्वागत गरेकी थिइन ।

कविनायक डा. सरोज धितालले दश वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको समारोहमा धेरै स्रष्टाका कविता सुन्ने र सुनाउने कामले निरन्तरता पाएको खुसी पोखे । उनले भने, भूमिगत जीवन ग्रहण गर्दा पनि मैले कविता लेखेको छु । विशेषज्ञ डाक्टर भइसकेपछि ग्रामीण जीवनसँग उठबस भइसकेपछि फेरि कविता लेखेको छु । राजधानी काठमाडौँको व्यस्त शहरमै पनि दिउँसोभन्दा साँझ वा राति मानिसका दुःख बढी देखेपछि मन दुखेर पनि कविता लेखेको छु । पहिले आफूले हिँडेको सैद्धान्तिक बाटो लर्बराएको देखेर पनि मैले कविता लेखेको छु । जोसुकै र जुनसुकै विचारको भए पनि उपचार गर्नुपर्ने एउटा चिकित्सिकले कहिलेकाहीँ प्रताडित हुनुपर्दाको क्षणमा पनि कविता लेखेको छु ।

आखिर हामी सपना देख्ने मान्छेलाई जहिल्यै सपनाले पछ्याइ नै रहने रहेछ तैपनि अब भने राजनीतिक विकृति, विसङ्गतिबारे प्रश्न गर्नुपर्ने बेला आएको महसुस गरेर पनि कविता सिर्जना गरेको छु । रचनागर्भको जानकारीसहित उनले आफ्ना ‘आँसु’, ‘धरहरा लासहरूको’, ‘तिमीलाई चिन्ता’ र ‘सपना’ शीर्षकका चार सशक्त, सुन्दर, विम्बात्मक एवम् वैचारिक कविता वाचन गरेका थिए । सहयोगी कविहरू गौरी प्रधानले पचास वर्ष पुरानो ‘क्रान्तिकारी’ शीर्षकको, जीवनसङ्गिनी प्राज्ञ सुलोचना मानन्धरले ‘जेल परेकी बहिनी’ शीर्षकको कविता सुनाउँदै यही कविताले कविलाई चिनाएको इतिहास खोतले ।

त्यसैगरी कवि तारानिधि भुर्तेलले ‘पैतालिस वर्ष अगाडि लेखिएको ‘हामी’ शीर्षकको, विना सुवेदीले ‘बिदाइ’ शीर्षकको, शार्दूल भट्टराईले ‘अझै नजन्मेको सन्तानसित’ शीर्षकको, स्नेह सायमीले ‘स्फटिकको चिसोभित्रको इतिहास’ शीर्षकको, प्राज्ञ माधव प्रधानले छयालिस वर्ष अगाडि लेखिएको ‘जीवननदी’ शीर्षकको, तारक धितालले ‘विजय’ शीर्षकको र नन्दु उप्रेतीले ‘घामको सपना’ शीर्षकको त्यस्तै सशक्त, सुन्दर, कलात्मक, विम्बात्मक कविता वाचेका थिए । समारोहका समालोचक श्यामलले वाचित कवितामाथि टिप्पणी गर्दै कवि एवम् अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान १०५ औँ शृङ्खलामा पुगेको बताए ।

जीवनलाई सम्पूर्णतामा हेर्नुपर्ने दृष्टिकोण पनि उनका कवितामा पाइन्छ। विम्बको सुन्दर संयोजन छ, अनुभूतिमा इमानदारिता छ र इमानको अभिव्यक्ति कवितामा पाइन्छ । चौतर्फी रूपमा देखिएको पाखण्डका विरुद्धमा प्रश्न गर्नुपर्ने आग्रहसहितको प्रवृत्र् िपनि कवितामा देखिएको छ । प्रमुख अतिथिले धेरै पहिलेदेखि कवि तथा परिवारसम्मका सबै सबैलाई चिनेको बताए। डा. धिताल भूमिगत हुनेबेला नै मैले डाक्टरले भूमिगत हुने होइन, जीवनरक्षा पनि गर्दै सामाजिक रूपान्तरणको अभियानलाई पनि सघाउनुपर्छ भन्ने मान्यता अघि उनले बताए । आजका कविताका माध्यमबाट कविको पचास वर्ष पहिलेको भूमिगत राजनीतिक प्रवेश, प्राज्ञ सुलोचना मानन्धरसँगको भेटजस्ता इतिहासको उत्खनन पनि भएको छ । क्रान्ति, सङ्घर्ष र रूपान्तरणका पक्षमा अनि विभेद तथा शोषणका प्रति विद्रोह कवितामा अभिव्यक्त भएको छ । मृत्युको घण्टी बजाइरहेको भूमिगतकालको चित्रण कवितामा गरिएको छ । निरङ्कुशतन्त्रको चित्रणमा अत्यन्त सुन्दर विम्बको प्रयोग गरिएको छ ।

कविको सिङ्गो परिवार सामाजिक रूपान्तरण अभियानमा समर्पित रहेको छ । कविताहरू कलात्मक, सुन्दर हुनुका साथै ध्वन्यार्थ सम्प्रेषणमा सफल रहेका छन् । विकृत राजनीतिकाप्रति स्रष्टाले प्रश्न उठाउनुपर्ने भावसमेतको अभिव्यक्ति गरेको पाइन्छ । अर्को महिनामा १०६ औँ ‘अविरल जनसाहित्य यात्रा’मा सिन्धुपाल्चोकका प्रगतिवादी कवि लक्ष्मण तिमिल्सिनालाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उनका एक दर्जन कविता गुञ्जिने बताउँदै कार्यक्रम समापन भएको थियो ।