• २०८२ माघ १६, शुक्रबार

मोहन तिम्सिनाको ‘सङ्घीय जैविक गणतन्त्र नेपाल’ पुस्तक माथि विमर्श सम्पन्न

काठमाडौँ ।

लेखक तथा चिन्तक मोहन तिम्सिनाद्वारा लिखित पुस्तक ‘सङ्घीय जैविक गणतन्त्र नेपाल’ माथि शनिबार इटहरीमा विमर्श गरिएको छ । पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरूले अब नेपालको राजनीति विदेशी वादको सट्टा आफ्नै मौलिकतामा टेकेर गर्नुपर्ने सन्देश दिएका छन् । २०८१ सालमा प्रकाशित ‘जैविक दर्शन’ पुस्तककै एक खण्डलाई अझ परिस्कृत गरेर तयार पारिएको यो नयाँ कृतिको विमर्शमा वक्ताहरूले वर्तमान राजनीतिक विचारमाथि प्रश्न उठाए ।

कार्यक्रममा बोल्दै नेकपाका नेता निर्मल बरालले देशमा रहेका पुराना तथा नयाँ दलका विचारधारा र दर्शनमाथि पुस्तकले गम्भीर प्रश्न गरेको बताए । नेता बरालले भने, ‘यो लेखक तिम्सिनाको नितान्त नयाँ दर्शन हो । यतिबेला नेपालमा बग्रेल्ती नयाँ राजनीतिक दलहरू खुलिरहेका छन्। तर, पुराना हुन् वा नयाँ, ती कसैले पनि नेपालको माटो सुहाउँदो दर्शन र विचार नअपनाएको कुरा पुस्तकमा औंल्याइएको छ ।’

कार्यक्रममा पहिचानवादी नेता अमर इजमले मौलिकतालाई पहिचानकै समानान्तर मान्न सकिने बताउँदै पुस्तकले दलहरूलाई ‘थ्रेट’ सहितको प्रश्न गरेको टिप्पणी गरे । उनले गणतन्त्रका नाममा दलहरूमा देखिएको निरङ्कुश प्रवृति सुधार्न पुस्तकले सकारात्मक सन्देश दिएको बताए । सोही कार्यक्रममा साहित्यकार टीका आत्रेयले लेखक तिम्सिनाले उठाएको विषय अनुसार देशमा आफ्नै मौलिकपन कायम राख्न सके पक्कै पनि सबै क्षेत्रको विकास हुने विश्वास व्यक्त गरिन । लेखक तिम्सिनाले पुस्तकको सन्देशले देशको शासन प्रणाली, सामाजिक, वातावरणीय, आर्थिक र शिक्षा प्रणालीमा सुधार ल्याउने अपेक्षा व्यक्त गरे ।