• २०८२ पुष १४, सोमबार

गौरी तमूको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक

पोखरा ।

कवि गौरी तमूको नवीनतम कविता संग्रह ‘सैँप्रोल’ पोखरामा लोकार्पण गरिएको छ । गुरुङ साहित्यिक मञ्च नेपालको आयोजना भएको लोकार्पण तथा विमर्श कार्यक्रममा वक्ताले कविता कृतिलाई गुरुङ समुदायको मिथक, पहिचान र महिला अस्तित्वको एउटा सशक्त दस्ताबेजका रूपमा अथ्र्याए । संग्रहमा विशेषगरी प्रकृति, पर्यावरण र आदिवासी ज्ञानको स्रोतलाई सरल तर गम्भीर रूपमा प्रस्तुत गरिएको वक्ताले बताए ।

कृति लोकार्पण गर्दै साहित्यकार सरुझक्तले गौरीका कविता मुक्तकाकारका रहेको बताए । ‘जातीय चेतना, महिलाका बारेमा लेखिएका आवाज बुलन्द छ,’ उनले भने, ‘सामाजिक विसंगतिलाई सम्बोधन गरिएको छ । जागरूक कवितात्मक चेत गौरीमा छ ।’ जातीय चेतना लिएर आएका कवि तथा लेखकले जातीय बिम्बलाई बोलेर साहित्य सिर्जना गर्दा नेपाली साहित्य समृद्ध हुँदै गएको उनको भनाइ थियो ।

साहित्यकार गनेस पौडेलले ‘सैँप्रोल’ महिलाको नाम भएको र पिताबाट छोरालाई होइन छोरीलाई ज्ञान हस्तान्तरण गर्नुपर्ने बाध्यात्मक परिस्थिति भए पनि छोरीलाई ज्ञान लिनबाट रोकिएको मिथकलाई आधार बनाएर कविता लेखिएको बताए । उनले सैँप्रोललाई विद्रोही महिला पात्रको रूपमा चित्रित गरिएको उल्लेख गर्दै कविता संग्रहमा छोटा कविताहरू समावेश भएको जानकारी दिए । उनले गौरीका कविता शिल्पको हिसाबले केही कमजोर भए पनि वैचारिकीको हिसाबले सशक्त रहेको बताए । ‘यो कविता संग्रहले नेपाली साहित्यमा ठूलै केही गर्नेवाला छ भनेर भन्नेवाला छैन,’ उनले भने, ‘समुदायको मिथकीय कथाको आधार लिएर प्रेम, महिला भएर भोग्नुपरेको फीडाको आक्रोश व्यक्त गरिएको छ ।’ उनले कविता संग्रहमा पर्यावरणसँग जोडिएर आउने महिलाको समस्या उजागर गरिएको बताए ।

प्रकृतिसँगको संवाद नै सभ्यता भएको उल्लेख गर्दै उनले कविताको महत्त्व प्रकृतिसँग जोडिएको र सरलतम रहेको बताए । ‘जनजाति चेतनाको सत्य भनेको सरलता हो । सैँप्रोल गुरुङको मात्रै भाषा रहेन, नेपालीको पनि भयो,’ उनले भने, ‘यो नेपाली शब्दकोशमा समेटिनुपर्छ । यसरी नै भाषा समृद्ध हुन्छ ।’ कविता संग्रहमा प्रकृति, पर्यावरण, समुदायको पुरातन ज्ञानको स्रोतको मिथकको कोलाज जस्तो भएर सरल रूपमा अभिव्यक्त भएको उनको धारणा थियो ।