• २०८१ फागुन १ बिहीबार

बहुआयामिक व्यक्तित्व भावनाथ घिमिरेको स्मृतिग्रन्थ विमोचन

काठमाडौँ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन सभाहलमा ‘आधुनिक साहित्य परिषद’को आयोजनामा बहुआयामिक व्यक्तित्व भावनाथ घिमिरे (स्मृतिग्रन्थ) पुस्तकको विमोचन तथा रचनावाचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको सभापतित्व आधुनिक साहित्य परिषदका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मुरलीप्रसाद ढकाल तथा प्रमुख आतिथ्य नेपालीभाषा साहित्यका इतिहास तथा वर्तमान साथै भाषा विज्ञ मुकुन्दशरण उपाध्यायको रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरूमा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. डा. भोलानाथ पोखरेल, वरिष्ठ साहित्यकार तथा नेपाली बृहत्तर शब्दकोशका लेखक चूडामणि गौतम, प्रा. डा. या देवी ढकाल, प्रा. डा. गार्गी शर्मा, विमोचित कृतिका लेखक तथा नेपाली साहित्यविधा अन्तर्गत बहुविधामा कलम चलाउनु हुने वरिष्ठ साहित्यकार छवि वैरागी घिमिरे र वरिष्ठ साहित्यकार तथा अन्वेषक लोकमणि पौडेल हुनुहुन्थ्यो ।

साथै लोकार्पित पुस्तकलाई प्रकाशन गर्न प्रमुख भूमिका निर्वाह गर्नु हुने प्रकाशकका तर्फबाट एजिन्द्रप्रसाद लुइँटेल, इन्जिनियर गुणराज घिमिरे, घिमिरे कुलवंश प्रतिष्ठान बेलवारी मोरङका केन्द्रीय अध्यक्ष हेमचन्द्र घिमिरे तथा भावनाथ घिमिरेका बहिनी ज्वाइँ समस्तका तर्फबाट प्रतिनिधित्वगर्दै ज्वाइँ विष्णुप्रसाद पोखरेलहरू मञ्चासिन अतिथिको रूपमा रहनुभएको थियो भने राष्ट्रिय सुसेलीमञ्चका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’, गौरी पब्लिकेशनका प्रबन्धक दामोदर ढकाल ‘दीपक’, विश्व नेपाली साहित्य महासंघ वागमती प्रदेश अध्यक्ष तोयानाथ सुवेदी, शीतकाव्य समाज नेपालका अध्यक्ष शीत ईश्वर कृष्ण के.सी., मनमती साहित्य समाजका उपाध्यक्ष माधव विडारी, उज्यालो मन नेपालका तर्फबाट विमून्स पौडेल, सुख शान्ति टि.भि. का तर्फबाट तिलक भट्टराई ’कल्पित’ लगायत विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, पदाधिकारी, पत्रकार, मिडियाकर्मीको आतिथ्य रहेको थियो ।

स्मृतिग्रन्थलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र बृहत् सभाकाबीच भव्य रूपमा लोकार्पण गरियो । उक्त क्षणलाई भवनाथ घिमिरेका नाति सरून प्रभात लुइँटेलले बाँसुरीमा मङ्गल धून बजाएर जीवन्त पार्नु भएको थियो भने प्रा.डा.भोलानाथ पोखरेलले पुस्तकमाथि समीक्षा गर्दै बहुआयामिक व्यक्तित्व भावनाथ घिमिरेको जीवनको प्रारम्भ, पूर्वार्द्ध, वृत्त,आयतन साथै उत्तरार्धलाई प्रस्ट्याउनु भएको थियो ।

कार्यक्रममा तिलक भट्टराई ‘कल्पित’ले प्रत्यक्ष गायनबाट सबैलाई मनोरञ्जन गराएका थिए । कार्यक्रममा घिमिरे कुलवंश प्रतिष्ठान बेलबारी मोरङका अध्यक्ष हेमचन्द्र घिमिरेले शुभकामना दिनु भएको थियो भने कल्पना भट्टराई अधिकारीको कोकिल स्वरमा शार्दूलविक्रीडित कविताले मुग्ध बनाएको थियो । सम्पूर्ण परिवारको तर्फबाट प्रतिनिधित्व गर्दै इ. गुणराजले सभालाई सम्बोधनगर्दै आफ्नो मन्तव्य मार्फत शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल गजल प्रतिष्ठानका सचिव अनजान यात्रीले तरन्नूममा गजल प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रा.डा. या देवी ढकालले सभालाई सम्बोधन गर्नुभयो । राष्ट्रिय सुसेलीमञ्चका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ले सो अवसरमा सुसेली गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिद्वारा लोकार्पित पुस्तकका लागि लेखक छवि वैरागी घिमिरेले विस्तृत अनुसन्धान गर्दै अथक परिश्रमका पश्चात् पुस्तक तयार गर्नुभएको, शब्दकोश लेखकहरूका लागि आधारग्रन्थ रहेको, सर्जकले सिर्जना गर्नु नै ठूलो कुरा रहेको धारणा व्यक्त गरिएको थियो ।