हिँड्नुअघि
तिम्रो मनको बारीमा
फूलको दल राखेको थिएँ
उम्रियो ?
हिँड्ने वेला
उठाउन मन लागेन तिमीलाई
र, नब्यूँझने गरी
तिम्रो देब्रे कानतिर झुन्डिएको
कपाल कर्ली पार्न
एउटा चिम्टी
लगाइदिएको थिएँ
घुम्रियो ?
अब आउँदा
एकजोर रिबन ल्याइदिन्छु
तिमी त्यसैले
दुईतिर कपाल बाट्नू
एउटा ग्यालिजवाला पेन्ट
र, भि- नेक भा’को
टि- सर्ट पठाइदिन्छु
तिमी त्यही लगाएर
मौलोडाँडा जानू
लगाउँदा
पेन्ट लामो भो भने
नकाट्नु
बरू मिल्ने गरी दोबार्नू
टि- सर्टको गला
ठूलो भो भने
नखुट्नू
बरू खुकुलै लाउनू
बढ्दै जाँदा
मिल्दै जान्छ
तर अरूसँग नसाट्नू !
मायाले दिएका कुरा
कहिल्यै काट्न हुन्न
मनैले भनेको कुरा
कतै साट्न हुन्न
काटेर सिलाएको माया
चाँडै फाटिजान्छ
खुटेर मिलाएको गला
चाँडै उध्रिहाल्छ ।
केही भन्नुपरे
इमेल गर्नू
कुरा नलुकाउनू
रहरहरू भन्नू
मनमै नमेट्नू
लजाउनु पर्दैन ल !
मायामा त
जति लुकाउन खोज्यो
उति देखिन्छ
जति मेट्न खोज्यो
उति लेखिन्छ !
मायामा
यस्तै हुन्छ, पेमा
टाढा हुँदा
झन् धेरै तिखारिन्छ
सँगै हुँदा
कहिलेकाहीँ बटारिन्छ
तर जे- जे भने पनि
मनले मनको रहर
साँधिरा’को हुन्छ
सम्झनाको डोरीले
मायालाई
बाँधिरा’को हुन्छ !
अबको भेटमा
लाङटाङ्ग जानुपर्छ ल !
त्यहाँ त चिसो हुन्छ
जिउ सेक्नलाई
मिलेर आगो जोर्नुपर्छ
तातो छेउमा बसेर
यादका थैली खोलौँला
सँगसँगै गरेको कामले नै त हो
मायाका मुना पलाउने
तिमी आगो फुक्नू
म दाउरा थपौँला
तिमी थैली खोल्नू
म कुरा झिकौँला
तर पेमा,
बाल्न जानिएन भने त
मायाको आगोले पनि जलाउँछ
बोक्न जानिएन भने त
मायाको यादले पनि गलाउँछ ।
(कट्टेल विगत एक दशकभन्दा अघिदेखि कथा र कविता विधामा निरन्तररूपमा कलम चलाउँदै आएका स्रष्टा हुन् ।)
[email protected]