समाचार
काठमाडौँ ।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई युरोपको आइआइइचएसआर विश्वविद्यालयले उनलाई विद्यावारिधि प्रदान गरेको हो ।
डा. उपाध्यायलाई साहित्य (डी लिट) मा उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको हो । विश्वविद्यालयका प्रतिनिधि जेम्स केरी र अन्य प्रतिष्ठित अतिथिहरूले डा. उपाध्यायलाई उक्त मानार्थ विद्यावारिधि प्रदान गरेका थिए । समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेका छन्। यो उनको नवौं मानार्थ विद्यावारिधि हो । डा. उपाध्यायलाई अमेरिका लगायत अन्य विश्वविद्यालयले आठ मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।
डा. उपाध्यायले गीत र साहित्यमा र्पुयाएको योगदानको मूल्याङ्कन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । उक्त समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो । डा. उपाध्यायले गीत, सङ्गीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् ।
यस्तै उनका एक दर्जन बढी उपन्यास, तीन गीतिपुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उनको पछिल्लो उपन्यास ‘आशक्ति’ हो ।
