कविता
पोखरा ।
साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रूपमा वि. सं. २०३४ सालदेखि निरन्तर सक्रिय अग्रणी वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित आयोजना हुँदै आएको मासिक काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३८८औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व सुप्रसिद्ध कवि तथा पोखरा महानगरपालिकाद्वारा हालै पोखरेली नवरत्न सम्मानबाट सम्मानित तीर्थ श्रेष्ठले समता काव्य सन्ध्यालाई नयाँ-पुराना स्रष्टाबीच पुनर्मिलन र सिर्जनात्मक सिकाइको साझा थलोका रूपमा व्याख्या गर्नुभयो । उहाँले कविता लेख्न जीवनप्रतिको दृष्टिकोण, साधना र मौलिक शैली आवश्यक हुने उल्लेख गर्दै “सबै लेखिएका वा छापिएका रचनाहरू कविता हुँदैनन्; पाठकको मनमा बसिरहने कविता नै साँचो कविता हो” भन्नुभयो ।
काव्य सन्ध्यामा संस्थाका सल्लाहकार डा. ईश्वरमणि अधिकारी, दीपक समीप, ढाकामोहन बराल, शितल गिरी, शिव त्रिपाठी, अमृत क्षेत्री, सूरज पौडेल, विद्या विमल बराल, हेमराज बास्तोला, भूमिराज बस्ताकोटी, कौशलचन्द्र जिसी, संजना गिरी, अनिल कार्की, लोचना अधिकारी, हेमन्त हितैषी र रती भट्टराईलगायत कविहरूले आफ्ना सशक्त कविता वाचन गर्नुभएको थियो ।
परिवारका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य विभाग संयोजक केशु शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएको थियो ।
