समाचार
युद्धको ज्वालामा
निष्कलंङ्क,निर्दोष,निहत्था
अभिमन्युहरू
पटकपटक मारिन्छन् ।
राज्यसत्ताको चक्रव्यूह
सँधै बनेकै हुन्छन्
छलप्रपञ्च पनि भएकै हुन्छन्
गलाकाट प्रतिस्पर्धा चलेकै हुन्छ
समय कठोर बन्दै
अभिमन्यु माथि बर्सिन्छ ।
बालसुलभ चेतनामा
स्वतन्त्रता,स्वराष्ट्र,सुशासनको
गहिरो भाव हुन्छ
समर्पणको सागर छल्किन्छ
उद्देश्य चुम्नका लागि
बलिबेदी रोज्छन्
शत्रु सामु झुक्दैनन् ।
निष्पाप गुरुले सिकाएको
सत्य,धर्म,निष्ठा,समर्पण
बुझेका हुन्छन्
अमूर्त चेतना,अलौकिक स्मृतिले
साहास बढाएको हुन्छ
व्यूह भित्र फस्छन् र मारिन्छन् ।
अत्याधुनिक शस्त्र चलेको देख्दैछन्
शस्त्र,अस्त्रले जोकोहीलाई पनि मार्छ
त्यो पनि थाहा छ
प्रतिकार ,प्रतिरोध प्रशस्त क्षमता छ
अपुरी बिद्या जहिले काल हुन्छ ।
राज्यकाप्रति
सँधै आक्रोश रहिरहन्छ
राज्य पुर्वाग्रही हुन्छ
राज्य अन्धो हुन्छ
राज्य कसैलाई चिन्दैन
राज्य विरुद्ध देखिने सबै शत्रु मान्छ
छानीछानी अभिमन्यु भेटिन्छन् ।
युवा जोस, तागत
उत्साहका साथ समर्पित हुन्छ
सत्य,न्याय ,धर्मका लागि
आफ्नो बिरानो भन्दैन
जस्तोसुकै जोखिम मोल्न तत्पर हुन्छ
भुमरीमा पस्छ
भुङ्ग्रोमा डढछ
तमासा हेर्दै आगो बढाउछन्
भएभरका अस्त्र प्रयोग गर्छन् ।
निष्ठाको आवेग
प्रतिशोधको विद्रोह
सदाचार,सुशासनको कामनाले
निर्दोषलाई पिरोल्छ
पटकपटक मारिन्छन् अभिमन्युहरू ।
देशको राजधानी हस्तिनापुरमा
एकलब्यको औंला काटिन्छ
बर्बरिकको घाँटी काटिन्छ
कर्णहरू सुतपुत्र भनिएर
अवहेलनाको जीवन जिउँछन्
आन्धाको देशमा
लाटो देशमा गाणो तन्नेरी
स्वार्थको लाक्षागृह बनाउछन्
कपटपूर्ण पासा खेलाउछन्
कुरुक्षेत्रको रचना गर्दछन् ।
भ्रुण,अदृश्य चेतना मै
मारिन्छन् अभिमन्यु
स्थुल चेतनामा पुग्दा चक्रव्यूह भेटिन्छ
भावात्मक सुक्ष्म अभ्यासको
भरपूर प्रयोग गर्दागर्दै मारिन्छन् ।
राज्यसत्तामा मर्नु, मार्नु
सामान्य मानिन्छन्
योजना बन्दा आक्रोश हुन्छ
आग्रह,पुर्वाग्रह,प्रतिशोध हुन्छ
परिणाम सत्ता,शक्ति पाइन्छ
शेष पश्चाताप मात्र रहन्छ ।
राजनीति
सत्य,निष्ठा,बिचार,सिद्धान्तको
हुनुपर्ने हो
राजनीति सदाचारको हुनुपर्ने हो
तर स्वार्थ,आग्रह ,पुर्वाग्रह
भ्रष्टाचारबाट पोषित भयो
विद्रोह उत्पन्न भयो
अभिमन्यु मारिए ।
सँधै यस्तै हुन्छ
अर्धचेतना भएका
अबोध ,निर्दोषको प्रयोग हुन्छ र
पटकपटक मारिन्छन अभिमन्युहरू ।
कैलासकुमार पाण्डेय, परशुराम १२, डडेल्धुरा