• २०८२ पुष ६, आईतवार

मौनता

केवरा भट्टराई

केवरा भट्टराई

मौनता लुकाउनु पनि हो,
मौनता दुखाउनु पनि हो ।
मौनताले धेरै कुरा
बोलिरहेकै हुन्छ !

नाता रगतले होइन,
उत्तरदायित्वले बाँच्दोरहेछ
जहाँ स्वार्थ बोल्छ,
त्यहाँ आफ्नोपन
मौन हुँदोरहेछ

सन्तान त सन्तान हुन्,
सन्तानको भविष्य
कसैको प्रयोगशाला होइन-
यद्यपि
प्रयोगशाला बनाउने
कोसिस भइरहेकै हुन्छ ।

जिस्किरहेछ चलखेल-
वर्तमानसँग, भविष्यसँग,
सन्तानका संवेदना र अभावसँग,
बाध्यता र विवशतासँग

आजको यो कठिनाइ,
यो चलखेललाई
समयले प्रश्न बनाउनेछ,
र उत्तर माग्नेछ।

किनकि
म त मौन छु-
आफ्नालाई आफ़्नै मानेर
मौन बसेकी म
हेरिरहेकी छु,
सुनिरहेकी छु ।

आफ़्नाभित्रको
स्वार्थीय संस्कार
बोलिरहेछ,
स्वार्थ नै
हाँसिरहेको छ र मस्किंदै
जिस्क्याईरहेकोछ अभावलाई

अब बुझ्दैछु-
मौनता कमजोरी होइन,
आफ्नाहरू चिन्ने
कसी रहेछ ।


केवरा भट्टराई