• २०८२ पुष १६, बुधबार

गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक

काठमाडौँ ।

“तिमी पुग्यौ धेरै टाढा हिँड्नेलाई बाटो रहेछ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रहेछ” यी हरफहरू भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “तिमी पुग्यौ धेरै टाढा” गीतका स्थायी लाइन हुन् । कवि, नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम चलाउँछन् ।

प्रवासमै बस्ने अर्का सङ्गीतकार तथा गायक नवीन खनालले शब्द मन पराएपछि सहकार्य गर्ने सल्लाह त भयो तर रेकर्डिङको प्रक्रिया थाल्नै वर्षौँ लाग्यो। प्रवासी जीवन बाध्यता, आवश्यकता र परिस्थितिको दास हुँदै हो । समय अर्काको अधीनमा हुन्छ अनि जिन्दगी पनि अरूकै बन्दकीमा । पराधीन जीवनशैली र बन्दकी समयका चोक्राहरू निचोरेर आफूलाई थोरै भए पनि सिर्जनशील बनाउनु आत्मसन्तुष्टिको शर्तमा गति लैजानु पर्ने कुरा रहेछ । लेखेर छोडेको गीतप्रति अन्याय नहोस् भन्ने हेतुले अन्ततः गीत रेकर्ड भयो । पुरुष आवाज सङ्गीतकार नवीन आफैँले दिने भए। महिला आवाजमा गायिका रजिना रिमालले साथ दिएकी छिन्। गीत त रेकर्ड भयो, तर सुन्ने होइन हेर्ने जमाना मा अडियोले मात्रै गीतको पूर्णता महसुस गराउने कुरो थिएन ।

सन्तोषजनक सुनिएको गीतको अडियोले अन्ततः भिडियो पनि निर्माण गर्ने आकांक्षा बढायो । सबैको मन मिल्यो । टिम बन्यो र एउटा प्रेमिल सांगीतिक कर्मले पूर्णता पायो। गीतकार सेसेल्स, सङ्गीतकार दुबई अनि गायिका लगायत म्युजिक भिडियोमा सामेल अन्य टिम सदस्य नेपालमा छन् । कुनै समयका रेडियो सहकर्मी गणेश खड्का र नवीन खनालले आफूहरू पचासको दशकमा रेडियो नेपालमा हुँदै केही गीतमा सहकार्य गरिसकेका थिए ।

नाटक, कविता, गीत, गजल, मुक्तक, कथा, निबन्ध तथा समसामयिक लेख रचनामा कलम चलाउँदै आएका साहित्यकार गणेश खड्काका यसअघि पनि दर्जन बढी गीतहरू बजारमा आइसकेका छन् । साथै उनका नाटकसङ्ग्रह र कविता सङ्ग्रह सहित अन्य केही सम्पादित पुस्तकहरू पनि प्रकाशित छन् । लेखक तथा सम्पादकमा छवि बनाएका खड्का अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष पनि हुन्। अन्तरजातीय प्रेम सम्बन्धको सङ्घर्षपूर्ण कथा भन्दै अन्ततः आपसी समर्पण र सङ्कल्पले प्रेमसँगै जीवन पनि सफल हुन्छ भन्ने वस्तुनिष्ठ सत्य तथा सामाजिक सन्देश दिएर गीत क्लाइमेक्समा सुखान्त भएर सकिन्छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा दृश्य सुवेदी र रुषा नेउपानेले जीवन्त अभिनय गरेका छन् । गीतमा रिकेश गुरु गुङ्गको सङ्गीत संयोजन, हरि हुमागाईंको छायाङ्कन अनि शिवपुरीको निर्देशन तथा सम्पादन रहेको छ। यतिबेला प्रस्तुत गीतलाई दर्शक (श्रोताले) राम्रो प्रतिक्रिया सहित मन पराइरहेका छन् । गीतकारको आफ्नै युट्युब च्यानल Ganesh Khadka मार्फत २६ मङ्सिर २०८२ तदनुसार १२ डिसेम्बर २०२५ का दिन सार्वजनिक भएको गीतको समग्रता बुझ्न भने गीत पुरै सुन्नु र हेर्नु पर्ने हुन्छ ।