• २०८२ पुष २७, आईतवार

अर्चना थापाको उपन्यास ‘अग्निगर्भा’ सार्वजनिक

काठमाडौंँ ।

आख्यानकार अर्चना थापाको उपन्यास ‘अग्निगर्भा’ एक समारोहबिच लोकार्पित भएको छ । काठमाडौंस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा कृतिमाथि बृहत्त परिचर्चा गरियो । परिचर्चाका सहजकर्ता महेश पौड्यालले उपन्यासमा विद्यमान अनेक विषयहरूको उठान गरे । उठेका प्रश्नहरूमाथि बोल्दै उपन्यासकार थापाले कृतिमार्फत हाम्रो समाज र त्यसभित्रका नैतिकतामाथि आफूले प्रश्न उठाएको बताइन् । कृतिमा स्वैरकल्पनाको प्रयोग भए पनि उपन्यासले नेपाली समाज, जनजीवन, छोरी बुहारीको सन्दर्भलाई नै उठाएको उनको तर्क रह्यो ।

उनले अहिलेका पुस्ताले आमाबाबुसँग कतिपय प्रसंगमा अडान लिँदै आएको, आफ्नै किसिमले निर्णय गर्दै आएकोमा आमाबाबुले त्यसलाई स्वीकार्नु पर्नेमा जोड दिइन् । कार्यक्रमका वक्ता आरती चटौतले आजको समयमा परिवर्तनका कुरा हुँदै आए पनि हाम्रो समाजमा खासै परिवर्तन नभएको चर्चा गरिन् । चटौतले आजको समयमा आवरण फेरिएको तर मानसिकता नफेरिएको उल्लेख गर्दै महिलामाथिको विभेदको चर्चा गरिन् ।

उपन्यासले यिनै सन्दर्भको उठान गरेको बताउँदै चटौतले यस उपन्यासले आफूलाई छोएको तरङ्गित बनाएको बताइन् । कार्यक्रमको अन्त्यमा कृतिकार थापाले बहसको सुरुवात भएको र पाठकले पढेपछि त्यसमा थप बहस हुने विश्वास व्यक्त गरिन् ।