• २०८२ पुष २, बुधबार

निरञ्जनाचन्द ‘निरू’को ‘वनफूलको विद्रोह’ कृति विमोचन

काठमाडौँ, मंसिर २६ ।

सभ्यता अन्वेषण केन्द्रको आयोजनामा कवयित्री निरञ्जनाचन्द ‘निरू’को कविता–कृति ‘वनफूलको विद्रोह’ एक समारोह बीच विमोचन गरिएको छ ।समारोहका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, विशेष अतिथिहरू प्रा. डा. जीविन्द्रदेव गिरी, प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित, प्रा. डा. हेमनाथ पौडेल, प्रा. डा. देवी नेपाल र कवयित्री विमला तुम्खेवाको संयुक्त उपस्थितिमा कृतिको औपचारिक लोकार्पण गरिएको हो । कार्यक्रममा साहित्य, समालोचना र कविता विधामा सक्रिय प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विमोचनपछि बोल्दै प्रमुख अतिथि उप्रेतीले कवयित्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, मानवीय संवेदना र भावनात्मक गहिराइको प्रखर प्रस्तुति भएको उल्लेख गरे । उनले २०७८ सालमा प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना गरिएको कविता महोत्सवमै चन्दको काव्य–क्षमताले आफूलाई गहिरो रूपमा प्रभावित पारेको स्मरण गर्दै भने, “चन्दका कवितामा मार्मिकता छ, तिख्खरता छ र पाठकको अन्तरमनलाई चिर्न सक्ने शक्तिशाली उपस्थितिहरू देखिन्छन् ।”

उनका अनुसार कृतिको शीर्षक ‘वनफूलको विद्रोह’ नै प्रकृति–प्रतीकमार्फत स्वतन्त्रता, विद्रोह, अस्तित्व र सामाजिक न्यायका मुद्दाहरूप्रति कवयित्रीको संवेदनशील दृष्टिकोणलाई संकेत गर्दछ ।
कार्यक्रममा प्रा. डा. गिरी, प्रा. उपाध्याय, प्रा. डा. पौडेल, प्रा. डा. नेपाल तथा कवयित्री तुम्खेवाले कृतिमा समावेश कविताहरूको शैली, भावभूमि, चिन्तन तथा सामाजिक–सांस्कृतिक पृष्ठभूमिबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

समारोहमा कवयित्री चन्दले आफ्नो सिर्जनात्मक यात्रा, जीवन–अनुभूति र लेखन प्रेरणाबारे संक्षिप्त मन्तव्य राख्दै सबैप्रति आभार व्यक्त गरेकी थिइन् । सिम्ता–साहुखोला (सुर्खेत) जन्मस्थल र बर्दिया कर्मथलो भएकी चन्द साइनो (२०७६), निरूपण (२०७७) तथा पत्रपत्रिकामा प्रकाशित कृतिहरू मार्फत समकालीन काव्य–मञ्चमा स्थापित हुँदै आएकी साहित्यकार हुन् ।

लुम्बिनी प्रदेश कविता प्रतियोगिता २०७७मा पहिलो, प्रज्ञा-प्रतिष्ठान राष्ट्रिय कविता महोत्सव २०७८ मा तेस्रो तथा साहित्य सदन राष्ट्रिय कविता महोत्सव २०८० मा दोस्रो पुरस्कार प्राप्त गरेकी चन्द निरन्तर काव्य-सृजनामा सक्रिय छिन् । रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कृतिको मूल्य रु. ३९५ तोकिएको छ। समारोहको अध्यक्षता सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी लुमुम्बूले गरेका थिए भने कार्यक्रमको सञ्चालन एलिसा ढुंगानाले गरेकी थिइन् ।.