• २०८२ पुष २९, मंगलवार

अस्तित्वको खोजीमा गाउँ

उद्धव देवकोटा

उद्धव देवकोटा

ती अक्करे भीरमा
बैँस पोखिनेगरी फुल्ने गुराँसहरू
खै आजभोलि किन
त्यति साह्रो मन गर्दैनन् फुल्न
र फुलिहाले भनेपनि
देखिन्छन् उदास, बेरङ्गी, फुङ्ग उडेका जस्ता ।१।

यहाँ गाउँमा
हरेक दशैंआमाले
भित्तामा झुन्डाइएको छोराको तस्बिरलाई
आँसुमा मुछेर लगाइदिने गर्छिन् नुनीलो टिको
आँगनका डिलमा
मुग्लान बाट दाजु आउने बाटो पर्खेर
फक्रदैं, ओइलाएर झर्छन् मखमली र सयपत्री
हिजोआज गुञ्जिदैनन्
देउसी, सोरठी र देउडाका भाकाहरू
सुनिन्छन् त केवल
म्यासेनजर, ह्वाट्स्यप, भाइबर र टिकटकका सुख्खा ध्वनि
जसले कहिल्यै तृप्त पार्दैन
आफ्नोपनको प्यास
कहाँ मेटोस् महीले पानीको तिर्खा ।२।

हरेक पल्ट
बुबाले टारीखेत जोत्नु अगाडि
एक पटक नियाँल्छन्
दृष्टि बन्धक राखेको गैरीखेत

आँखा नअघाउन्जेल पर्खिरहन्छन्
भोकाएको बोराको मुख बाध्ने बाचा गरेर
डोरी लिन गएका
छोराका अविराम पाईलाहरू ।३।

देउराली र चौतारो बुढ्यौलीको सुस्केरा हालिरहेछ
पाखो र पखेरो सुनसान छ
बाटोको नाडी रोकिएको छ

घिट्केसो रहेझैं हरेक पल एउटै कुरा सोधिरहेछ
मेरा छातिमाथी कुदेर उडान भरेका ती स-साना पैतालाहरू
खै आज कता पुगेरु

अब कहिले फर्किन्छन् ? ।४।

गाउँका घरहरू
जसका भित्ताबाट
बग्न छाडेको छ कमेरोको सुगन्ध
बनमाराले ढाकेको छ आँगन
र मक्किएर ममता
चिरा-चिरा परेका छन भित्ताहरू

खोजिरहेछन आफ्नोपनको मिठास
जसका कोमल स्पर्शले छुमन्तरमै सब कुरा ठिक पारोस् ।५।

तिम्रो अनुपस्थितिमा
वन पाखामा गुन्जिन छाडेका छन् वसन्तको गीत
देखिदैनन् चखेवाका प्रेमालाप
रङ्गिन हुन छाडेका छन् पखेराहरू
न त गाउँमा
कपाल कोरिबाटी गरेर गुराँस पर्खेकी मुना छे
न त गुराँस टिपेर चुल्ठो सजाइदिने मदन नै छ
यिनीहरू
अरब, ओमान, मलेसिया या कतारतिर
या जापान, अष्ट्रेलिया र युरोपका गल्लीहरुमा
खोजिरहेछन्
पसिनामा नुनका मणिभहरू
र शिरा अनि धमनीमा बगाईरहेछन्
ममताको हेमोग्लोविनका मोलिक्युलहरू ।६।

आँफूलाई टपक्क मायाले टिपिदिने हात

कपाल पन्छाएर सिउरिदिने सिउँदो
नदेखे पछी
भीर पाखामा ढकमक्क फुलेर रमाउने गुराँसहरू
भएकाछन् एन्जाइटी र डिप्रेसनको सिकार
अनि एकाएक ओईलाएर झर्दैछन्

गाउँ अवशेष जस्तै बनेको छ अस्तित्वको खोजीमा ।७।


उद्धव देवकोटा, तिलोत्तमा, रूपन्देही