• २०८२ पुष ५, शनिबार

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा ‘विद्यालयमा कुलपति’ कार्यक्रम सम्पन्न

सोलुखुम्बु, मंसिर २४ ।

मातृभाषा बाँचे मात्रै देश र सांस्कृतिक समृद्ध हुन्छ: कुलपति राई

नेपाल प्रज्ञा प्रतिष्ठानले विगत केही समयदेखि निरन्तर चलाउँदै आएको “विद्यालयमा कुलपति’ कार्यक्रम चर्चाको विषय बन्ने गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने कामबारे थुपै्र अनभिज्ञ रहेको अवस्थामा स्कुले नानीबाबुसँग कुलपतिको प्रत्यक्ष संवादले उक्त संस्था र कलासाहित्यबारेको जिज्ञाषा शान्त गर्ने काम गरेको छ । यस पटक सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयद्वारा “विद्यालयमा कुलपति’ तथा कविता वाचन” कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरिएको छ ।

बालबालिकालाई सम्बोधन गर्दै कुलपति राईले भन्नुभयो, “प्रत्येक जातजातिका आआफ्नै मातृभाषा छन् । सबैले आआफ्नै मातृभाषामा कविता लगायतको लेखन कार्य गर्न सक्नुपर्छ ।” महाकुलुङमा कुलुङ भाषाको बाहुल्य रहेको छ । कुलुङभाषी विद्यार्थी र साहित्य सर्जकले यसै भाषामा साहित्य सिर्जना गर्न प्रेरित गर्नुभएको थियो । महाकुलुङ गाउँपालिका आफैँमा स्थानीय सरकार भएकाले कुलुङलगायतका भाषाको संरक्षण र सम्बद्र्धन गर्न ’महाकुलुङ प्रज्ञा–प्रतिष्ठान’ गठन गर्न सुझाउनु भएको थियो । उहाँले मातृभाषा बाँचे मात्रै देश सांस्कृतिक रूपमा समृद्ध हुने बताउनु भएको थियोे । सगरमाथा माविका विद्यार्थीबिच संवाद गर्दै कुलुङभाषा लगायतका विद्यार्थीले आआफ्नो मातृभाषामा कविता लेख्न उत्प्रेरित गर्नुभएको थियो ।

उहाँले सबैले नेता, कर्मचारी, शिक्षक ,डाक्टर ,इन्जिनियर र प्रहरी आदिलाई चिने जस्तै लेखकलाई पनि चिन्न सक्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानको ऐतिहासिक पृष्ठभूमि र प्राज्ञिक संरचना बारे प्रकाश पार्दै नेपाली र अङ्ग्रेजीसाथै आआफ्ना मातृभाषामा कविता लेख्न विद्यार्थीलाई सुझाब दिनुभएको थियोे । जसले मातृभाषामा कलम चलाउँछ, उसको कविता लगायतको सिर्जना अब्बल हुने बताउँदै आफूले पढ्ने पुस्तकको लेखक को हो ? विद्यार्थीले चिन्नुपर्ने बताउनुभएको थियो ।

विशिष्ट अतिथि महाकुलुङ गाउँपालिका बुङ, सोलुखुम्बुका अध्यक्ष सूर्यबहादुर कुलुङले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञिक व्यक्तित्वहरू गाउँगाउँ र स्कुलस्कुलमा आउनु भनेको भाषा, साहित्य, संस्कृति र कला क्षेत्रको विकासमा प्रेरणा मिल्नु हो । यसबारे अध्ययन गरेर महाकुलुङ प्रज्ञा–प्रतिष्ठान स्थापना गर्दै यस क्षेत्रको मातृभाषा र साहित्यको विकासमा लागिपर्ने बताउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजमान राईले स्वागत मनतव्य राख्नुभएको थियो । विद्यार्थीबाट ’हाम्रो कुलुङः मेरो कुलुङ’ बोलको पालिका गानका साथै नृत्य र गीत प्रस्तुत गरिएको थियोे । कार्यक्रममा नेपाली,अङ्ग्रेजी र कुलुङभाषामा कविता वाचन गरिएको थियोे । जसमा कवि तिलक बाहिङ राईले ’लाली गुँरास’ र कवि मनुहाङ किरातीले ’नेपालीको चिनारी’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

उक्त विद्यालयकी कक्षा–७ कि छात्रा अमृता कुलुङले कुलपतिको स्वागतार्थ नेपाली भाषामा ’ज्ञानको ज्योति’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । दिया कुलुङ, सुस्तिका कुलुङ र वर्षा राईले अङ्ग्रेजी भाषामा आआफ्नो कविता प्रस्तुत गर्नुभएको थियोे।यसैगरी जेनी कुलुङले (नेपाली र कुलुङभाषा) र प्रिन्सा कुलुङले कुलुङभाषामा कविता वाचन गर्नुभएको थियोे । विद्यालयमा कुलपति, अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको प्राज्ञ चेतनाथ धमलाले जानकारी दिनुभयो ।