समाचार
काठमाडौँ ।
डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८२ सालका लागि तीन विधामा घोषणा गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तराष्ट्रिय दिवस, ३ डिसेम्बर २०२५ को उपलक्ष्यमा अपाङ्गताप्रति समाजको विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा अनि सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले पुरस्कार घोषणा गरिएको अन्तर्दृष्टि पुरस्कार समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रिकयाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरे काठमाडौं जिल्लाको ल्याबोरेटरी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई प्रदान गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरी अन्तर्दृष्टि हातेमालो पुरस्कार काठमाडौंको ल्याबोरेटरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रसिखा भट्टराईलाई प्रदान गरिने जनाइएको छ । ‘दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलगायतलाई आधारमानी भट्टराईलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
‘पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारहरूमध्ये यस वर्षको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार चटौतलाई प्रदान गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम रू. २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम रू. १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम रू. १५ हजार रहेको छ । पुरस्कारहरू वषन्तपञ्चमीका दिन प्रदान गरिने समितिले जनाएको छ ।
