कविता
काठमाडौँ ।
साहित्यिक पत्रकार संघले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को ‘प्यारो गाउँ भीमफेदी’ गीत सार्वजनिक गरेको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता र पूर्व राजदूत वरिष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा विजय गुरुङको सङ्गीत, तृप्ति खड्का गुरुङ र विजय गुरुङले गाएको ’प्यारो गाउँ भीमफेदी’ गीत प्रमुख अतिथि श्रेष्ठले सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएपछि गीतका सङ्गीतकार र गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले त्यो गीत गाउँदाको आफ्नो अनुभव व्यक्त गरे ।
सोही कार्यक्रममा समालोचक युवराज मैनाली र ’शब्दपथ’का प्रधान सम्पादक वरिष्ठ आख्यानकार किशोर पहाडीले आ-आफ्नो समीक्षात्मक मन्तव्य राखे । विशिष्ट अतिथि साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग तीसको दशकदेखि नै चिनजान भएको कुरा प्रष्ट पार्दै शुभकामना व्यक्त गरे ।
अनामनगरको डालो रेस्टुरेन्टमा भएको कार्यक्रमको सहजीकरण पत्रकार श्रीराम सिंह बस्नेतले गरेका थिए । सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि श्रेष्ठ, सर्जक भीमफेदीया लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
