वसन्तवेला
कवि तथा गीतकार पुष्पा खनाल सक्रिय साहित्यकार हुन् । विशेषगरी उनी कविता र गीतमा रमाएकी छिन् । ‘दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मानकी संस्थापक पुष्पालाई सर्वोत्कृष्ट आधुनिक गीतकार (महिला) तर्फ सगरमाथा म्युजिक अवार्ड २०७८, सर्वोत्कृष्ट राष्ट्रियभाव गीततर्फ योङ्ग माइण्ड इन्टरटेइन्टमेन्ट अवार्ड २०७६, माधवप्रसाद घिमिरे विशेष सम्मान २०७७ लगायतका पुरस्कार तथा सम्मानहरू प्राप्त भएका छन् । उनका ’प्रतिष्ठा’ र ’अभिनव’ गीति एल्बम, ’पोखिएँ यसरी’ र ’गह पोखिएर’ नामका गीत सङ्ग्रह तथा विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा थुप्रै फुटकर रचनाहरू प्रकाशित छन् । यसै वर्ष उनका ‘एउटा माझी’ र ‘जिउनैपर्छ’ नामका दुई गीत श्रव्यदृश्यसहित बजारमा आएका छन् ।
प्रवासमा रहेर साहित्य सिर्जनामार्फत नेपाली साहित्यलाई योगदान दिइरहेकी पुष्पासँग रञ्जना निरौलाले गरेको स्रष्टा संवादः
१. तपाईं अमेरिकामा बसेर पनि निरन्तर नेपाली साहित्य र सङ्गीतमा सक्रिय हुनुहुन्छ- प्रवासले तपाईंको सिर्जनात्मक जीवनमा कस्तो प्रभाव पारेको छ ?
प्रवास भन्ने कुरा केवल भौगोलिक दूरी मात्र होइन रहेछ । आफूसँग पटक-पटक भेटिने अन्तरयात्रा रहेछ । यहाँ आएपछि मैले आफ्नै अस्तित्वलाई बाहिरबाट हेर्न सिकेँ । टाढाबाट हेर्दा देश, माटोको सुगन्ध भाषा, संस्कृति अझ टड्कारो देखिँदोरहेछ । टाढाबाट हेर्दा अनुभूति अझ प्रष्ट देखिँदो रहेछ । प्रवासले मेरो मनमा उम्रने तीव्र संवेदना, विरह, माया, स्मृति-सबैलाई कविता र गीतमा पोख्न सघाएको छ । दूरीले अनुभूतिको आकाश फराकिलो पारिँदिदोरहेछ । देशबाट टाढाको परिवेशसँग बाँच्दैगर्दा समयले नै हुत्याएझैँ लागेपनि सिर्जनाले फेरि सम्हालेर जोडिदिन्छ । म यही सन्तुलनमा बाँचिरहेकी छु, यहीँबाट सिर्जनाको ऊर्जा पाउँछु । यी अनुभव र ती अनुभूति नै मेरा सिर्जनाका धड्कन हुन् ।
२. प्रवासको जीवन कति चुनौतीपूर्ण छ र त्यसले तपाईंका कविताहरू वा गीतहरूमा कस्तो भाव ल्याउँछ ?
प्रवास एउटा उल्झन हो । निस्केर भागे पनि त्यहीँ पुगिन्छ । यहाँ नयाँ सङ्घर्ष, नयाँ अनुभव अनि पहिचानको प्रश्नले चिमोटिरहन्छ । देशलाई सर्लक्क बोकेर दोहोरो जिम्मेवारीको दौडमा निस्कनु चानचुने कुरा होइन । तर पनि प्रवासले मलाई दुःखभन्दा बढी गहिरो दृष्टिकोण दिएको छ । प्रवासको चुनौती दुःख–कष्ट मात्र होइन, आत्मसम्बोधन पनि हो भन्ने सिकाएको छ । सङ्घर्षले शब्दलाई मजबुत बनाउन सहयोग गरेको छ । काम, समय, भाषा, भेष र सांस्कृतिक दूरीले मेरा शव्दभित्र तीखो संवेदना थपिदिएको छ ।
३. तपाईंको दृष्टिमा प्रवासी नेपाली स्रष्टाहरूको योगदान कस्तो छ, र स्वदेशले त्यसलाई कतिको कदर गरेको छ ?
प्रवासी स्रष्टाहरू अहिले नेपाली साहित्यको अत्यन्त महत्वपूर्ण स्तम्भ बन्न थालेका छन् । विश्वभर छरिएका नेपालीहरूले नेपाली भाषालाई संसारका कुना–कुनामा पु¥याइरहेका छन् । भाषा, संस्कृति र पहिचान जोगाइरहेका छन् । प्रवासमा भाषा बाँच्नु भनेको नेपाली पहिचान पनि बाँच्नु हो नि । नेपाली सिर्जनाका पहरेदार भएर रहेका छन् नेपाली स्रष्टाहरू, साथै पुस्तान्तरणका लागि पनि प्रयासरत छन् । यो सजिलो काम होइन । तर पनि हरहिसाबले लागिरहेका छन् ।
प्रवासमा जन्मेका आफ्ना बालबालिकाहरूलाई भाषा, भेष, संस्कृति र साहित्यमा अभिप्रेरित गर्न स्वयंसेवी रूपमा लागेका छन् । आफ्ना बालबालिकामा भाषा हस्तान्तरण गर्न औपचारिक रूपमा विभिन्न भाषा विद्यालयको स्थापना गरी भाषा कक्षा, साहित्यिक प्रशिक्षणलगायतका कार्यहरू गर्ने तथा अनौपचारिक रूपमा घरमा नेपाली भाषामात्र बोलेर नेपाली भाषामा बानी लगाउने कार्य गरिरहेका छन् । प्रवासी स्रष्टाले अर्थका अतिरिक्त सिर्जनात्मक विप्रेषण भित्र्याएका छन् देशमा । विभिन्न प्रतियोगिता, पुरस्कार, सम्मान प्रदान गरी देश तथा विदेशमा रहेका स्रष्टाहरूलाई लेखन ऊर्जा थपेर राष्ट्रले गर्ने कार्य गरिरहेको छ प्रवासी साहित्यले ।
कदरका हिसाबले हेर्दा पहिलेभन्दा अहिले प्रवासी स्रष्टाको योगदानप्रतिको हेराइ बिस्तारै बदलिँदैछ । प्रवासमा रहेर लेखिएका कृतिले पनि पुरस्कृत हुने मौका पाएको छ । प्रवासमा पनि सशक्त कलम छ भन्ने यो दरिलो उदाहरण हो । यो काम राज्य स्तरबाट भन्दा पनि साहित्यिक सङ्घ संस्थाबाट बढी भएको पाइन्छ । राष्ट्रले संस्थागत रूपमा जुन तरहले प्रवासी सिर्जनाको मूल्याङ्कन गर्नुपर्ने थियो, त्यो अझै भएको छैन । यसमा राज्यको ध्यान जानु जरुरी देखिन्छ । प्रवासी स्रष्टाले पाठक, श्रोता या दर्शकको प्रेम भने पाइरहेका छन् । त्यो प्रेम सबैभन्दा ठूलो पुरस्कार हो ।
४. हालै सार्वजनिक भएका ‘एउटा माझी’ र ‘जिन्दगी त जिउनैपर्छ’ गीतको विषय र सन्देश के हो ?
‘एउटा माझीले प्रेममा व्यवहार र नैतिकताको कुरा गर्छ । जसरी एउटा माझीले दुइटा डुङ्गा एकै पटक तार्न सक्दैन, त्यसरी नै पारिवारिक जीवनमा दोहोरो व्यवहार भयो भने त्यो डुब्छ भन्ने नै हो । जिन्दगीमा आउने वाधा र अवसरलाई चिन्नुपर्छ, नत्र अप्ठ्यारोमा परिन्छ भन्ने ज्ञान दिन्छ यो गीतले ।
प्रेम शास्वत सत्य हो । त्यो जहिले पनि, जसरी पनि हुन्छ । तर प्रेमलाई पारिवारिक विखण्डनको माध्यम बनाइनु हुँदैन । प्रेम जीवन सहज बनाउने माध्यम बन्नुपर्छ भन्न खोजिएको हो ।
‘जिन्दगी त जिउनै पर्छ’ भन्ने गीतले सङ्घर्षलाई सौंन्दर्य र आशाको कोणबाट हेर्न सिकाउँछ । यो गीतले वर्तमान अवस्थामा जीवनको कठोर यथार्थ बोलेको छ – बदलिँदो समय, अतृप्त चाहना, आर्थिक विपन्नता तथा टर्न वाध्य सपनाहरू र फेरि उठेर हिँड्ने आँट । सङ्घर्षसँग सम्झौता गर्ने होइन, सामना गर्ने आत्मस्वीकृतिसहित लेखिएको गीत हो यो । यसले हरेक परिस्थितिसँग जुध्न जान्नुपर्छ भन्ने सन्देश बोकेको छ ।
५. गीत लेख्दा तपाईंलाई प्रेरणा दिने मुख्य स्रोत के हो—व्यक्तिगत अनुभव, समाज, वा कल्पना ?
छोटोमा भन्दा यी तीनैको मिश्रण हो । अनुभव र अनुभूतिको केन्द्रमा आफूलाई राखेर कलम चलाउँछ एउटा सर्जक । दुःख–सुखको वास्तविक अनुभूतिलाई कल्पनाका पखेटा हाल्दै जब बहकिन्छ मन, तब जन्मिन्छन्—जीवनमा गीतहरू । हामी बाँचेको समाजले कथा दिन्छ । अनुभवले आत्मा दिन्छ र कल्पनाले त्यसमा रङ्ग भर्न सघाउँछ । यी तीनैको सामञ्जस्यबाट गीत जन्मिन्छ ।
६. तपाईंका गीतहरूमा जीवन, प्रेम र सङ्घर्षका कथा देखिन्छन्- के ती तपाईंको व्यक्तिगत भावनासँग सम्बन्धित छन् ?
अवश्य छन्, तर शतप्रतिशत होइन । भावनाको सत्यता लेखनको शक्ति हो भन्नुहुन्थ्यो पारिजात । मलाई त्यस्तै लाग्छ । जीवनको कुनै न कुनै मोडमा प्रेम, विछोड, जीवन–सङ्घर्ष यी सब अनुभव गरेको हुन्छ मान्छेले । मेरा गीतहरूमा यी कुरा प्रतिविम्वित हुनु नौलो कुरा भएन । तर त्यतिमात्र पनि होइन । मन र मस्तिष्क दुवैको मन्थनबाट जन्मिन्छन् सिर्जना । मेरा गीतहरू चुपचाप मनका चर्का आवाजहरू हुन् र हुन् मेरा दृष्टिका अवयव । किनकी मेरो दृष्टि, मेरो श्रवणमार्फत् प्राप्त सूचनाको विश्लेणपछि पनि जन्मिएका छन् गीतहरू । मैले भोगेको जीवन, म बाँचिरहेको समय र कल्पनाशिलता नै मेरा गीतका भावभूमि हुन् । अनुभूतिका पर्खालबाट फुत्त निस्किएर उडेका रङ्गहरू हुन् मेरा गीत ।
७. सङ्गीतकर्मीहरूसँग काम गर्दा अनुभव कस्तो रह्यो ? कुन गीत तपाईंको मनमा सबैभन्दा नजिक छ ?
म अत्यन्त भाग्यमानी छु कि मेरा शब्दलाई आत्मा भर्न सक्ने सुर–स्वरदायी सङ्गीतकर्मीहरू भेटेँ । उहाँहरूसँगको सहकार्यले सिर्जनामा सौंन्दर्य भरिदिएको छ । उहाँहरूको पेशागत प्रतिबद्धता र मानवीयपनले मेरा हरेक सिर्जना सरस, सहज र कर्णप्रिय बने । सम्पूर्ण सहृदयी सङ्गीतकर्मीहरूप्रति म ऋणि छु । सबैमा आभार प्रकट गर्दछु ।
स्रष्टा आफैँले सिर्जनामा भेदभाव गर्नु उचित हुँदैन भन्ने लाग्छ मलाई । सबै सिर्जना मनको सबैभन्दा नजिक भएर नै प्रस्फुटित हुने हुन् । मेरो लागि सबै सिर्जना बराबर छन् । तर भन्नै पर्दा आमाको देहावसानपछि जब खालीपन आयो जीवनमा, त्यसपछि लेखिएको गीत–‘आमा ! मैले पुज्ने देव तिमी’ । यसको सङ्गीत गर्न लक्ष्मण शेष दाजुलाई पनि निकै गा¥हो भएको सुनाउनुहुन्थ्यो । यो गीत म आफैँ पूरा सुन्न सक्दिनँ । सायद यही गीत अति नजिक छ की ?
८. कविता र गीत दुवैमा सक्रिय हुनुहुन्छ- यी दुई माध्यमबीचको फरक र समानता कसरी अनुभव गर्नुहुन्छ ?
कविता अवरोधविहीन स्वतन्त्र उडान हो । गीत भने ताल, लय र स्वरको अनुशासनमा बाँधिनुपर्छ । बाँधिएकै कारण त्यो जन–जनसम्म पुग्छ सायद । समानता भनेको दुवै हृदयबाट नै बग्छन् । दुवैको मुटु भनेको अनुभूति हो । कविताको स्तर कति गहिरो छ भन्ने कुरामा निर्भर रहन्छ भने गीतको स्तर कति सजीव छ भन्ने कुराले निर्धारण गर्छ ।
९. तपाईंका कवितामा स्त्री-मन, वियोग र आत्मसंवेदना गहिरो रूपमा देखिन्छ- यी विषय किन खास लाग्छन् ?
म आफूपनि स्त्री हुँ । त्यसकारण पनि स्त्री मन देखिने नै भयो । तर त्यतिमात्र होइन । मेरो लेखनमा स्त्री मनका संवेग। संवेदना दिखनुमा दुइटा कुरा छन् विशेष गरेर । स्त्री–मन आफैँ एक संसार हो–सम्झनाको, सहनशीलताको, र साँच्चिकै अन्तहीन वियोगको । स्त्रीको मौनता, पीडा, र साहसलाई शब्द दिनु मेरो सामाजिक र भावनात्मक दुवै कर्तव्यजस्तै लाग्छ ।
अर्को कारण सरल छ- स्त्री-अनुभूति नेपाली समाजमा प्रायः ओझेलमा छ । स्त्री-अनुभूतिलाई समाजले धेरैपटक मौन बनाइदिन्छ । यो मौनता सबैले तोड्न सक्दैनन् । तोडिएका मौनतालाई पनि विभिन्न आक्षेप लगाइन्छ र गन्थनको पगरीले ढाकिन्छ । म आफ्ना शब्दमार्फत ती मौन स्त्री–मनको अदृश्य भूगोल उजागर गर्न चाहन्छु-जहाँ पीडा छ, तर पीडालाई जितेर चम्किएको शक्ति पनि साथमै छ ।
१०. तपाईंका कवितामा सरल भाषा तर गहिरो अर्थ हुन्छ-यो शैली सचेत रूपमा रोज्नु भएको हो ?
जुन कुरा म बुझ्दिनँ त्यही कुरा मैले गर्नु पाठक÷दर्शक माथिको अन्याय हो भन्ने लाग्छ । साहित्यको महत्व भाव अर्थपूर्ण बनाउनुमा हुन्छ; न कि भाषा गाह्रो बनाउनमा । त्यसैले मैले सरल भाषा रोजेँ । सरल भाषाले साहित्यको गहिराइ घटाउँदैन भन्ने लाग्छ । सरल भाषा पाठक÷श्रोता नजिक हुन्छ, तर अर्थ भने गहिरो हुनुपर्छ । असल कविता बुझिनु मात्रै होइन, महसूस गरिनुपर्छ भन्ने लाग्छ । म पाठकलाई भाषा होइन; भावनासँग जोड्न चाहन्छु । यसो भनिरहँदा सरल भाषाको प्रयोग सहज हो भन्ने होइन । सजिलो भाषामा गहिरो अनुभूति भर्न सक्नु चुनौतीपूर्ण काम हो । र, मैले यसलाई अवसरको रूपमा लिएकी हुँ ।
११. आजका पुस्ताका कविहरू र उनीहरूको लेखनबारे तपाईंको दृष्टिकोण के छ ?
आजका युवा स्रष्टाहरू अत्यन्तै उर्जाशील, साहसी छन् । अनुसन्धान, खोज गरेर लेख्छन् । विषयवस्तु, प्रयोग, भाषा सबैतिर नवीनता छ । प्रविधिको साथ छ । प्रविधिको ज्ञान, व्यापकता र सहज पहूँच उनका अवसर हुन् । साथमा चुनौती पनि त्यत्ति नै छ । आजको युग कृत्रिम बुद्धि Artificial Intelligence को युग हो । यसबाट भाग्न सकिन्न । तर ब्क्ष् को असावधानीपूर्ण, अविवेकी प्रयोगले मौलिक साहित्य सिर्जना नै सङ्कटमा परिरहेको छ । विज्ञानले दिएको सुविधा हामीले अवश्य उपयोग गर्नुपर्छ, तर गलत प्रयोगले सिर्जना होइन, नक्कल जन्माउँछ । त्यसैले मौलिकपन जोगाउनु र साहित्य बचाउनु अनि भाषा–संस्कृतिलाई भविष्यका पुस्तामा सुरक्षित राख्नु आजका पुस्ताको पनि जिम्मेवारी हो ।
त्यो जिम्मेवारीवोध सहितको नयाँ पुस्ताको लेखन निरन्तरताले विश्व साहित्यमा देखिएको नेपाली साहित्यको खडेरीमा मलजलको काम गथ्र्यो र नयाँ पुस्ताले नयाँ बिहानीको ढोका खोल्थ्यो । उनीहरूमा देखिएको उर्जालाई लेखनको अनुशासन बनाउन सके सिर्जनाले निरन्तरता पाउँथ्यो । नेपाली साहित्यले गर्व गर्न लायक पुस्ता पाउँथ्यो । आँधीझैँ आउने र हुरिमै बिलाउने (भाइरल) भन्दापनि सुस्त तर सुक्ष्म खोज, विश्लेषण र संश्लेषणमार्फत प्रभावशाली उपस्थिति आजको आवश्यकता हो नेपाली साहित्यमा । नयाँ पुस्ताले त्यो खाली ठाउँ पूरा गरिदियोस् भन्ने लाग्छ ।
१२. आगामी दिनमा नयाँ कविता वा गीतसङ्ग्रहको तयारी छ कि ?
फुटकर रूपमा मेरा गीतहरू त आइनै रहेका छन् । केही गीत, केही कविता लेखिएका पनि छन् । तर डायरीमा सिमित छन् । पुस्तकका रूपमा तयार भइसकेका छैनन् । प्रवासी मान्छेका योजना चाहिँ थुप्रै हुने रहेछन्, तर योजनालाई मूर्तरूप दिने समय र जाँगरको चाहिँ सँधै खडेरी । सपना कतिपय समयको गर्तमै छन् । पाठक–श्रोता समक्ष आउन केही समय लाग्छ सायद ।
१३. सृजनात्मक यात्रामा प्रेरणा कसबाट लिनुभएको छ ?
प्रेरणाका केही कुरा मैले माथि पनि उल्लेख गरिसकेकी छु । बाल्यकालदेखि पढ्दै सुन्दै आएका अनेकौँ साहित्यिक हस्तीहरूले प्रभाव नपार्ने त कुरै भएन । मैले लिएको श्वास, मैले छोडेको प्रश्वास, मेरो वरिपरिको वातावरण, समाज, समय र जीवनले दिएका असाध्यै तीता–मीठा अनुभव नै सबैभन्दा ठूलो शिक्षक हो । जिम्मेवारीवोधले पनि उचाल्न लगाउँछ कलम, पोख्न सिकाउँछ मसी – कहिलेकाहिँ ।
१४. तपाईंले प्राप्त गरेका सम्मान र पुरस्कारहरूले कस्तो ऊर्जा दिन्छन् ?
सम्मान, पुरस्कार भनेका लेखनका ऊर्जा हुन् । तिनले जिम्मेवारी थपिदिन्छन् । कर्तव्यवोध गराउँछन् र साथमा चूनौती पनि थपिदिन्छन् । अझ बढी इमान्दार भएर सिर्जना कर्ममा लाग्न उत्प्रेरित गर्ने तत्व हुन् पुरस्कार, सम्मान, कदर भनेका । निरन्तर अभ्यासरत बनाउन दिइने इन्सुलिन हो जस्तो लाग्छ मलाई ।
१५. नेपाली साहित्य र सङ्गीतमा प्रवासी स्रष्टाहरूको भूमिका तपाईंले कस्तो देख्नुभएको छ ?
यस प्रश्नका बारेमा केही कुरा मैले माथि पनि राखिसकेकी छु । प्रवासी स्रष्टाहरू भनेका नेपाली सांस्कृतिक पहिचानका ‘अदृश्य दूत’ हुन् । हामी जहाँ बसेपनि नेपालीपन बोकेर हिँड्छौँ । गीतमा, कवितामा, भाषामा, संस्कृतिमा । पराईभूमिमा देश खोजिरहेको एउटा यायावर हो प्रवासी स्रष्टा । उसमा रहेको भाषाप्रतिको मोह मापन गर्ने गणित बनेको छैन भन्छु म । वेफूर्सदबीचबाट फूर्सद निकालेर भावनाका शव्द कोर्नु र शव्दमा भावना भर्नु निकै ओजपूर्ण काम हो । त्यही गरिरहेका छौँ हामी । प्रवासमा भाषा बचाएर पहिचान जोगाएका छन् प्रवासी स्रष्टाले ।
त्यतिमात्र होइन, सिर्जनाको बजार पनि हो प्रवास । सिर्जना भलै कम होला तर नेपाली गीत सङ्गीतको बजार धानेको छ प्रवासले । संसारभर छरिएर रहेका प्रवासी नेपालीले नेपाली भाषा, नेपाली पन, नेपाली लय र तालमा विश्व मानवलाई झुमाउन सफल भएका छन् ।
१६. पाठक र श्रोताहरूका लागि तपाईंको सन्देश ?
पाठक र श्रोताहरू भनेका सिर्जनाका दक्ष मूल्याङ्कनकर्ता हुन् । आजका पाठक र श्रोताहरू वौद्धिक छन् । सिर्जनाको स्तर मापन गर्न सक्ने उच्च क्षमता छ पाठकमा । यहाँहरूलाई विदितै छ कि आजको युग विज्ञान र प्रविधिको हो । यसले हाम्रो जीवन सहज बनाइदिएको छ । तर त्यही विज्ञानले विकास गरेको कृत्रिम बुद्धि (AI) को गलत प्रयोगले मौलिक साहित्य सङ्कटमा पुग्न सक्छ । साहित्य सङ्कटमा पर्नु भनेको भाषा नै सङ्कटमा पर्नु हो । भाषा सङ्कटमा पर्नु भनेको पहिचान नै धरासायी हुनु हो । सर्जक र पाठक दुवै नै भाषा, साहित्य, कला, संस्कृति र सिर्जना संरक्षणका संवाहक हुन् । त्यसैले साहित्यलाई समय, माया र सम्मान दिनुहोस् । शब्दसँग आत्मीयता राख्नुहोस्, र मौलिक सिर्जनालाई मूल्य र प्रोत्साहन दिनुहोस् । यही मेरो पाठक-श्रोतालाई आग्रह छ ।
रञ्जना, मेरा भावना, विचार र संवेदना राख्ने मौका दिनुभयो, तपाईँप्रति पनि आभारी छु ।
धन्यवाद ।