• २०८२ मंसिर २०, शनिबार

चौतारीमा

तारा सुवेदी

तारा सुवेदी

हिसाब गर्दैछु
मैले थकान बिसाएको यो चौतारीको
पुरानो यो फलैँचामा
कति मानिस बसे होलान् ?

कहिले प्रेमीप्रेमिका
कहिले तस्कर
कहिले कुनै पार्टीको नेता, कार्यकर्ता
व्यापारी- शिक्षक
कवि- कलाकार
को को बसे होलान् ?

कुनै एउटा प्लेटफर्म जस्तै
कुनै बसस्टप जस्तै
अथवा कुनै मन्दिर, मस्जिद र चर्चजस्तै
सरकारी कुनै पद वा कुर्सी जस्तै
यहाँ कति धर्मावलम्बी बसे होलान्
कति जागिरे बसे होलान्
कति भाग्यमानी बसे होलान्
कति अभागी बसे होलान्
खुसीको उत्सव मनाउँदै
पिरको भारी बिसाउँदै
आँसुका झरीले रुझ्नेहरू
बसे होलान्
खुसीका होली खेल्नेहरू
पनि बसे होलान्
गोठालाहरू बसे होलान्
किसानहरू बसे होलान्
घाँसको डोको नाम्लो बिसाउँदै
कैयौँ चेलीहरू बसे होलान् ।

चौतारी रुङेर बसेको
यो बुढो बरको रुखमा
गिद्धहरू, चिलहरू, परेवाहरू आदिआदि
कैयौं चराचुरुङ्गीहरू बसे होलान्

फुर्सदको बेला
अनुमानको उकालो चढ्दै
ओरालो झर्दै
सोच्ने त हो
यो पुरानो फलैंचामा बसेर
चुपचाप चुपचाप सोचिरहेकी छु
साँच्चै! मक्किंदै भत्किंदै
दुख्दै पिरोलिंदै भग्नावशेष बाँचेको
बिचरो यो चौतारीमा
अहिलेसम्म कति बसे होलान्
को को बसे होलान् ?


तारा सुबेदी