• २०८२ माघ १६, शुक्रबार

‘हजुरबुबा–हजुरआमा दिवस’ मनाउने अभियान सुरु

काठमाडौँ ।

माटो, पानी, पहाड–पर्वतदेखि घरपालुवा जनावरसम्मलाई पूजा गर्ने परम्परा रहेको नेपाली समाजमा हजुरबा–हजुरआमाको सम्मानस्वरूप ‘हजुरबुबा–हजुरआमा दिवस’ मनाउने अभियान सुरु भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानडाले २०२२ को भानु जयन्तीका दिनदेखि मंसिरको तेस्रो शनिबार ‘हजुरबुबा–हजुरआमा दिवस’ मनाउने घोषणा गरेको हो। स्थापना वर्षदेखि नै यो दिवस क्यानडा, अमेरिका, अष्ट्रेलिया तथा नेपालका केही विद्यालय र परिवारहरूले प्रत्यक्ष तथा भर्चुअल रूपमा मनाउँदै आएका छन् ।

अनेसासको २०२४ मा चयन भएको नयाँ नेतृत्वले यस दिवसलाई विश्वव्यापी उत्सवका रूपमा विस्तार गर्ने निर्णय गरेको छ। यसै क्रममा अनेसासले तात्कालीन प्रधानमन्त्रीको अमेरिका भ्रमणको अवसरमा ‘राष्ट्रपोशाक दिवस’ र ‘हजुरबा–हजुरआमा दिवस’ नेपाल सरकारले आधिकारिक रूपमा घोषणा गरिदिनु पर्ने माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको थियो। सो ज्ञापनपत्रमा नेपालमा प्रयोग हुने सबै परम्परागत पोशाकलाई विश्व चिनाउने अभियानका रूपमा प्रवद्र्धन गर्नुपर्ने उल्लेख छ ।

ज्ञापनपत्र अनेसासका पूर्व केन्द्रिय महासचिव सुरेन उप्रेती, केन्द्रिय सदस्य तारा उप्रेती र नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले तात्कालीन संस्कृति मन्त्री बद्री पाण्डेलाई बुझाउनुभएको थियो । मन्त्री पाण्डेले उक्त प्रस्ताव कार्यान्वयनका लागि मन्त्रालयका सचिवलाई तोक आदेश दिइसक्नुभएको छ । अनेसासका अनुसार हजुरबा–हजुरआमा दिवसले नातिनातिना र हजुरबा–हजुरआमाबीचको सम्बन्धलाई अझै मधुर बनाउने, युवापुस्तामा नेपाली संस्कृति र सभ्यताप्रति सम्मानको भावना जागृत गर्ने र परिवार–संस्थापक पुस्ताप्रतिको कृतज्ञता अभिव्यक्त गर्न प्रेरणा दिने उद्देश्य राखिएको छ ।

यस वर्षको ‘हजुरबा–हजुरआमा दिवस’ मंसिर २० गते, शनिबार विश्वभर अनेसास केन्द्रको आयोजनामा भर्चुअल रूपमा मनाइनेछ। दिउँसो आयोजित जुम कार्यक्रमसँगै विभिन्न देश र शहरमा रहेका नेपालीहरूले घरघरमै हजुरबुबा–आमालाई उपहार, फलफूल, मिष्टान्न प्रदान गर्ने, घुमघाम तथा पारिवारिक भेटघाट गरी दिवस मनाउने जनाइएको छ । अनेसासले सबै नेपालीलाई हजुरबा–हजुरआमाप्रति सम्मान व्यक्त गर्ने यस अभियानमा सहभागी हुन आग्रह गरेको छ । जुममार्फत सहभागिताका लागि बैठक आईडी ९०६८७६३९२५ र पासकोड INLA २०२५ सार्वजनिक गरिएको छ ।