समाचार
काठमाडौँ ।
पत्रकार दीपेन्द्र शर्माको पुस्तक ’युद्ध पत्रकारिता’ सार्वजनिक गरिएको छ ।पुस्तकमा राष्ट्रिय सभाका अध्यक्षले जनयुद्धमा पत्रकारहरूको भूमिकाको प्रशंसा गरे । नेपाल पत्रकार महासंघका अध्यक्षले जनयुद्धको पत्रकारितालाई मिसन पत्रकारिताको रूपमा उल्लेख गरिन् । पत्रकार दीपेन्द्र शर्माको पुस्तक ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । राजधानीको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुस्तक लोकार्पण गर्दै बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए ।
पुस्तकमाथि समीक्षा गर्दै दाहालले पुस्तकले जनयुद्धमा जनपत्रकारहरूले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताए । आफूले पनि जनयुद्धमा पत्रकारिता गरेको स्मरण गर्दै दाहालले भने,“बन्दुक र कलमको समायोजन, लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोलको सम्मिश्रण आजको गणतन्त्र हो ।” जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरूले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारि रहेको बताइन् । यसैगरी महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले सो पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।
लेखका शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरू सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए ।
