समाचार
हात्ती आएर माला लगाउँदै
साइमल्यालाई राजा बनाइन्छ ।
राजा घोषणा हुन्छ
आजदेखि कसैले भारी बोक्नु पर्ने छैन
जाडो खेप्नु पर्ने छैन
भोकभोकै बस्नु पर्ने छैन
भएका पुराना संरचना आगो लगाउने
बुढापाका लाई वृद्धाश्रममा राख्ने
हजारौं सिंहदरबार बनाउने
घोषणा कार्यक्रममा बुढी आमा पुग्छिन
साइमल्या कि बुढी आमा.….
जहाँ पाए भत्काउनु पर्छ भन्छिन
न्यायालय पाउँदा न्याय नदिने
टुडिखेलमा न्याय दिने भन्ने
संविधानको कसम खाएर
पदमा रहँदा नरहँदा पालन गर्ने बाचा खाएर
असंवैधानिक बाटोबाट चौतरिया बनिन
भारदारहरुको सभा बस्यो ।
जय जयकार गर्नेको भिड हुन्छ
चमत्कार, जादु देखाउने तयारी हुन्छ
स्वागतका माला आउछन्
सल्लाहकार जम्मा हुन्छन्
गाणा देशको लाटो तन्नेरी
आत्तिन्छन् , मात्तिन्छन् ।
साइमल्याको देशमा
लोकतन्त्र भनियो तर
दलबिहिन सोच बन्यो
स्वतन्त्रता बन्धक राख्ने योजना बन्यो
लुकिलुकी लुसिफर र सैतान आदेश दिने भए।
एकादेशको
साइमल्या राजाको राज्यमा
खरानीमा बसेरी खरानी पार्ने योजना बन्छ।
साइमल्या निकै आक्रामक हुँदै
राजालाई हेप्ने
अवमूल्यन गर्ने
यिनीहरूलाई जेल हाल्नु पर्छ
फाँसी दिनु पर्छ भन्दै गर्दा
एकाएक हात्ती आउँछ
राजाको माला खोस्छ …..
माला तानातान हुँदा चुडिन्छ
साइमल्या झल्याँस हुँदा
त्यही भारी त्यही परिवेश
एक सर्को तान्दै
टोपी मिलाउंदै
ऐना हेरेर टीको लगाउँदै
आफ्नो बाटो लाग्छ ।
कैलाश पाण्डे