• २०८१ माघ ५ शनिवार

लाज

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

उ पुरै नाङ्गो भैसक्यो
हातले लाज छोपेर
असली स्वरुप देखाउँदैछ ।

नाङिएर उसलाई लाज लाग्दैन
लजाउन छोडेको धेरै भयो
सामान्य मान्छ
समाजका अगाडि नाङ्गिन
लाज पचाइ सकेको छ ।

लजाओस पनि कति
एक पटक भए पो लजाउनु
लाज छोप्नु
मुख कसरी देखाउने पीर हुनु
बानी परिसकेको छ
नाङ्गो हुन ।

लाजको चेतना भए पछि
आफैं यसरी कहिल्यै कहीं पनि
नाङ्गिएको थिएन ।

बुझेर बुझ पचाउँदा नाङ्गिन्छ
झुठो बोल्दा नाङ्गिन्छ
गल्ती गरि ढाकछोप गर्दा नाङ्गिन्छ
नराम्रो गर्दा नाङ्गिदा पनि
लाज मान्न छोडी सक्यो

एक लज्जाः परित्यज्य, सर्वत्रः विजयी भवेत
को अर्थ नाङ्गिनु होइन
गल्ती, कमजोरी छोप्नु होइन
लाज पचाउनु पनि होइन
राम्रो कामका लागि लाज मान्नु पर्दैन
भन्ने हो ।

लाज नैतिक बन्धन हो
मानव जातिको गहना हो
लाज नै हुन्थेन भने
मान्छे र पशुमा भिन्नता हुन्थेन ।

लाजको सिमा हुन्छ
कुनै कार्य लजाएर बिग्रेको हुन्छ
कुनै कार्य गर्न लजाउनु पर्छ
लाजको सिमा नाध्यो भने
निर्लज्ज हुन्छ ।

नाङ्गोमा मात्र होइन
बढी लुगा लगाएर पनि
लजाउछन
लुगा, टालोले छोप्न नसकिने
लाज हुन्छ ।

लाज संगतले गराउछ
एक्लोपनले लजाइन्छ
लजालु स्वभावले लजाउँछ
स्वभाविक पनि
अस्वभाविक लाज पनि हुन्छ ।

काम ब्यवहारमा त्रुटि भए पनि
लाज हुन्छ
आत्मगाल्नीले पनि लज्जा बोध गराउछ
लाजै नभएकाहरूको त के कुरा
लाज पचाउने, निर्लज्जको पनि के कुरा
एउटा सिमासम्म
कम्तीमा लाज लाग्नु पर्ने हो ।

हत्केलाले सूर्य छेक्छु भनी
आँखामाथि हात राखेर घाम रोके जस्तै
गर्दै गर्दा सर्वाङ्ग नाङ्गो रुप
हत्केलाले लाज छोपेको मात्र छ ।

अब त केही बाकी रहेन
उ पुरै नाङ्गो भैसक्यो
हातले लाज छोपेर छोपिन्न
लाजको पसारो
असली स्वरुप देखिंदैछ ।


कैलासकुमार पाण्डेय
परशुराम ५ परिगाउँ, डडेल्धुरा