कविता
इटहरी ।
स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित पुस्तक ‘गर्भको गर्व’ विषयक विमर्श तथा परिचर्चा कार्यक्रम इटहरीमा सम्पन्न भएको छ। नेपालबिट मिडिया प्रा.लि.को आयोजनामा तथा गोदावरी विद्या मन्दिरको सहकार्यमा माइतिघर क्याफे, धरान रोडमा आयोजित कार्यक्रममा ३५ भन्दा बढी साहित्यकार र सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालबिट मिडियाका अध्यक्ष तथा लेखक रामप्रसाद खरेलले अध्यक्षता गर्नुभएको थियो । कवि मनु मन्जिल प्रमुख अतिथि रहनुभएको थियो भने डा. इन्दिरा मिश्र र इन्दु नेपाल योञ्जन ले पुस्तकका बारे समीक्षात्मक विचार राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन उषाकिरण घिमिरेले गर्नुभएको थियो ।
गोदावरी विद्या मन्दिरका अध्यक्ष कमल कोइराला ले लेखकसँगको स्कुले जीवनका स्मरण सुनाउँदै डा. साहलाई विद्यालयको “पहिलो ब्याचका पहिलो चिकित्सक र लेखक” भन्दै गर्व व्यक्त गर्नुभयो । समीक्षक इन्दु नेपाल योञ्जनले पुस्तकका कथा समाजका विकृति, संस्कार र स्वास्थ्यका संवेदनशील पक्ष सँग जोडिएको उल्लेख गर्नुभयो ।
“युद्ध जितेको रात कथाले त आङै सिरिङ्ग पार्ने प्रभाव छ,” उहाँले भन्नुभयो ।
डा. इन्दिरा मिश्रले कृति पूर्ण गैरआख्यान शैलीमा भए पनि जीवन्त अनुभवका कारण कतै आख्यानजस्तै लाग्ने टिप्पणी गर्नुभयो । “हाम्रो समाजका छोरीहरूलाई दाइजोको रूपमा दिन लायक पुस्तक यही हो,” उहाँले भन्नुभयो । डा. साहका अनुसार पुस्तकका कथा अस्पतालका शैयामा देखिने पीडा, संघर्ष र मातृत्वका वास्तविक अनुभव बाट जन्मिएका हुन् । “मातृमृत्यु घटाउने र समाजलाई संवेदनशील बनाउनुपर्ने सोचले पुस्तक लेखिएको हो,” उहाँले भन्नुभयो ।
कवि मनु मन्जिलले पुस्तकले ‘मानिस पहिले मान्छे बन्न सिकाउने’ टिप्पणी गर्दै कथाहरूमा चिकित्सकको मानवीय दृष्टि स्पष्ट देखिने बताउनुभयो । उहाँले कार्यक्रममै आफ्ना छोरीहरूका लागि पुस्तक खरिद पनि गर्नुभयो । कार्यक्रममा गोदावरी विद्या मन्दिरले डा. साहलाई सम्मानपत्र प्रदान गरेको थियो । अतिथि तथा वक्ताहरूलाई सीमा आभास, खगिन्द्र खुशी, छवि वैरागी लगायत पुस्तकमार्फत मायाको चिनो प्रदान गरिएको थियो । अध्यक्ष खरेलको समापन मन्तव्यसँगै कार्यक्रम सम्पन्न भएको घोषणा गरिएको थियो ।
