• २०८२ पुष ३, बिहीबार

लामिछानेका पाँच बालकथासङ्ग्रह सार्वजनिक तथा परिचर्चा सम्पन्न

भैरहवा ।

बालकथाकार कपिल लामिछानेका पाँच बालकथासङ्ग्रह एकैपटक सार्वजनिक र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम भुँडी पुराण प्रकाशनको आयोजनामा, प्रश्रित प्रतिष्ठान नेपालको सहकार्यमा भैरहवा स्थित होटेल पौवामा भएको थियो । लोकार्पित कृतिहरू हुन् ‘जाती आमा’, ‘आफ्नै ठाउँ’, ‘भकुन्डे भूत’, ‘दुम्सीलाई तक्मा’र ‘बिरालाको लोकतन्त्र’ कार्यक्रम कृष्णप्रसाद बस्यालको सञ्चालनमा, डा. नारायणप्रसाद पन्थको अध्यक्षता र प्रा. डा. गितु गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

पाँचै पुस्तकको लोकार्पण कृतिकार कपिल लामिछाने, डिल्लीराज भट्टराई (सिद्धार्थ साहित्य परिषद्), सरु ज्ञवाली (सिर्जनशील साहित्यिक समाज), रुद्र ज्ञवाली (शहीद स्मृति पुस्तकालय), विजय सागर (भैरहवा मर्निङ वाक ग्रुप) र अन्य साहित्यकारहरूले सामूहिक रूपमा । कृतिकार लामिछानेका अनुसार एउटै लेखकका पाँच बालकथासङ्ग्रहको एकै मञ्चमा लोकार्पण हुनु पहिलो घटना हो ।

पुस्तक समीक्षा तथा परिचर्चा डा. शालिकराम पौड्याल, डा. प्रेम तिवारी र डा. त्रिभुवन बराईले गर्नुभएको थियो । समीक्षकहरूले बालकथासङ्ग्रहहरू पर्यावरणीय सचेतना, सामाजिक–सांस्कृतिक रूपान्तरण र स्वस्थ लोकतान्त्रिक चेतना प्रवद्र्धनमा सक्षम भएको निष्कर्ष प्रस्तुत गर्नुभयो । प्रा.डा. गितु गिरी, साहित्यकार वनमाली निराकार, बालस्रष्टा सुश्रुतराज न्यौपाने, रुद्र ज्ञवाली, सरु ज्ञवाली लगायतले बालकथाहरूको शैक्षिक र सामाजिक उपादेयतामा प्रकाश पार्नुभएको थियो । डा. नारायणप्रसाद पन्थले पुस्तकलाई विद्यालयका छात्रछात्रा र अभिभावकका लागि अतिरिक्त बौद्धिक खुराक भन्नुभएको थियो ।

कपिल लामिछानेले आफ्ना बालकथाहरू देश, समाज र बालबालिकालाई ध्यानमा राखेर सिर्जना गरेको बताउनुभयो । चित्राङ्कन राजकुमार प्रजापतिले गर्नुभएको हो भने सम्पादन प्रा.डा. ध्रुवकुमार घिमिरेले गर्नुभएको हो । बालकथाहरूले स्वस्थ मनोरञ्जन, सकारात्मक सन्देश, व्यावहारिक ज्ञान, पर्याप्रेम र देशभक्तिका विषय समेटेको बताइएको छ । कार्यक्रममा ४१ जना साहित्यकार र सरोकारवालाको गरिमामय उपस्थिति रहेको थियो ।