समाचार
विराटनगर ।
खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित गरेको छ । विराटनगरमा आयोजित एक भव्य समारोहमा उहाँहरूलाई सम्मानित गरिएको थियो । नेपाली भाषा,साहित्यमा अविछिन्न रुपमा साधनारत ९५ वर्षिय रेग्मी र नेपाल स्रष्टा समाजका अध्यक्ष समेत रहेका रोदन सम्मानित भएका हुन् । दुबै सम्मानित स्रष्टाहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रा.कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली लगायतले सम्मान गरे ।
सम्मानित व्यक्तित्व मध्ये रेग्मी उमेर र स्वास्थ्यका कारण उपस्थित हुन नसक्दा उनका पुत्र डा.उत्तमकुमार रेग्मीले सम्मान ग्रहण गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व रोदन तथा डा. रेग्मीले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली भाषा,साहित्य र कलाको उन्नयनमा वि.सं. २०५४ मा स्थापित मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा.न्यौपानेले भाषा,साहित्यमा अविच्छिन्न क्रियाशिल व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा साहित्यकारहरू विवश पोखरेल, बलराम पोखरेल, महेश रेग्मी, प्रदीप सापकोटा लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसअघि सम्मानित व्यक्तित्वहरूको बारेमा साहित्यकार बाबुराम पोखरेलले प्रकाश पारेका थिए ।
कार्यक्रममा मधु पोखरेल, सरला चापागाईं, डा.देवी पन्थी, हरिप्रसाद बराल, हरि कट्टेल, पुष्पा सायरा, यमुना भट्टराई, दिङ्लाली कान्छो लगायत तीन दर्जनभन्दा बढी कवि तथा साहित्यकारहरूले आ आफ्नो रचना वाचन गरे ।
मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षता एवं सञ्चालन लक्ष्मी पोखरेलले गरेको उक्त कार्यक्रममा स्रष्टाहरूले समसामयिक दृष्ट्रिचेत, विकृति र विसङ्गतिको विरुद्ध उज्यालोको पक्षमा आ आफ्नो सृजना सुनाएका थिए ।
