• २०८२ मंसिर ११, बिहीबार

गथासो

 लता के. सी.

लता के. सी.

घर अघिल्तिर बाटोको पेटिमा बसेर आमै एक्लै बर्बराइरहेकी थिइन् । छिमेकी सबै जम्मा भएर रमिता हेरिरहेका थिए । बजै अघि सरेर  के भनेकी आमै ! भन्दा पो उनी झसङ्ग भइन् ।

मुख लेप्र्याउँदै उनले भनिन् ऊ बेला चार सन्तानकी धनी, बुढेसकालका मेरा लाठी भनेर म खुबै मख्ख पर्थेँ । अहिले सन्तानको त कुरै परै जाओस्, सात जुनिसम्म संगै हुनेछु भन्ने खसमले समेत एक्लै पारेर गएको दुई वर्ष भयो ।

आश्वासन बाढ्दै बजैले भनिन्, छाडेर गएका बुढा र अर्काका घर पुगेका दुई छोरीको त तिम्लाई के आश र रु अनि जेठा र माइला छोरा जिउँदै छन् त ! किन यसरी आत्तिएर बौलाउँछौ ? आमै एकोहोरो भइन् । केही सम्झिएझैँ गरेर रूँदै भनिन्, माइलोले राजनीति गरेर प्रशस्तै धन कमायो भनेर होला, परदेश गएको जेठोले वास्तै गर्न छाड्यो । बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि ! यही दिन देख्नु थियो र त मेरो काल पनि आएन ।

बजैले आश्चर्य मानेर सोधिन्, यो आपतको बेलामा माइलो चै कता हिड्यो त ?
खरानीमा परिणत भएको घरतिर हेर्दै आमैले भनिन्, घर जोगाउन नसकेपनि ज्यान जोगाउँछु भन्दै कता हिँड्यो कता ?


लता के. सी .
तीनकुने, काठमाडौँ