• २०८२ मंसिर ७, आईतवार

गजलकार देवेन्द्र के.सी. ‘देवु’का गजलमा सन्तोष गुञ्जिए

काठमाडौँ ।

गजलकार देवेन्द्र के.सी. ‘देवु’का प्रेमिल पंक्तिमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर गुन्जिएपछि बुधबार सर्वनाम थिएटर मुग्ध बन्यो।

“नजरबाट कोही पस्यो दिल उघारी
चुमी यी अधरमा बस्यो दिल उघारी”
जस्ता भावनात्मक गजल गुञ्जिँदै थिएटर भरीभराउ बनेको थियो ।

लगत्तै प्रस्तुत गरिएको “बोकेर फूलपाती सिउँदोभरी सजाई को धाउँदै छ दिलमा छम्छम् चुरा बजाई ?” गाउँदा हल ताली र ‘वाह–वाह’को गुञ्जनले भरियो। सन्तोषले करिब दुई घन्टा देवुका बान्की र भावप्रवण शेरहरू शैलीपूर्ण ढङ्गले प्रस्तुत गर्नुभयो । कार्यक्रममा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहको प्रस्तुति उत्तिकै सशक्त रह्यो ।

कार्यक्रमको सुरुवात देवुको भिडियो प्रोफाइल प्रदर्शनबाट गरिएको थियो । गजल अभियन्ता घनेन्द्र ओझाले २०८० देखि २०९० सम्मको दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’का रूपमा मनाइरहेको बताउनुभयो । उहाँले गजल गायन अभियान सातै प्रदेश तथा विदेशसम्म पुरयाउने लक्ष्य रहेको बताउँदै देवु र सन्तोष दुवैको योगदानको प्रशंसा गर्नुभयो । गजलकार तथा सङ्गीत मर्मज्ञ रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनप्रति युवाको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कवि तथा समालोचक प्रा. डा. देवी नेपालले शास्त्रीय बहरमा आधारित गजललाई लोक रङ मिसाएर श्रोतामैत्री बनाउने सन्तोषको शैली प्रशंसनीय रहेको बताउनुभयो । उहाँले देवुलाई प्रेम–प्रणयसँगै समसामयिक विषयमा समेत प्रभावकारी कलम चलाउने स्रष्टाका रूपमा प्रस्तुत गजलले पुष्टि गर्ने धारणा राख्नुभयो ।

अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गजलकार ज्ञानु विद्रोहीले गर्नुभएको थियो । नेपाली गजलको विकास र परिष्कारमा दुई दशकदेखि सक्रिय अनाममण्डलीको आयोजनामा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज-नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।