नारीविशेष आलेख
काठमाडौँ ।
नेपाली पर्या साहित्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन भएको छ । गत साता भर्चुअल माध्यमबाट बसेको बैठकले संरक्षक र सल्लाहकारसहित विजय हितानको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । बैठकमा प्रतिष्ठानको उद्देश्य, आगामी योजना र कार्यदिशामाथि छलफल गरिएको थियो । नेपाल, भारत, हङकङ र बेलायतमा बसोबास गर्दै आएका प्राज्ञ, समालोचक, प्राध्यापक, शिक्षक, कवि, वातावरण अभियन्ता, संरक्षणकर्मी, पत्रकार, साहित्यकार, गीतकार र प्रकृतिप्रेमीहरू यस समितिमा आबद्ध छन् । पदाधिकारीहरूको अनुभव, ज्ञान र पेसागत विविधताले यस समितिलाई सशक्त बनाएको बैठकमा उल्लेख गरिएको थियो ।
नेपाली पर्या साहित्य प्रतिष्ठानको स्थापना घोषणा ०८० मा सम्पन्न आठौँ वातावरण साहित्य गोष्ठीमा गरिएको थियो । दुई वर्षपछि औपचारिक समिति गठन हुन गएको हो । करिब एक दशकदेखि स्वयंसेवी समूहको रूपमा सञ्चालन हुँदै आएको यो अभियान अहिले आएर मूर्त स्वरूप लिन सफल भएको हो । प्रतिष्ठानको मूल उद्देश्य पर्यावरणीय लेखन (इको–राइटिङ) लाई प्रोत्साहन गर्दै यसको आवश्यकता र महत्त्वबारे लेखकहरूलाई जागरुक बनाउनु हो । साहित्यको माध्यमबाट पृथ्वीमा देखिँदै आएका वातावरणीय समस्या, तिनका कारण र सम्भावित समाधानबारे जनचेतना फैलाउनु तथा समग्रमा पृथ्वीको पर्यावरण संरक्षणमा योगदान पु¥याउनु नै यसको प्रमुख उद्देश्य हो ।
संस्थाका अध्यक्ष विजय हितानले भने, ‘स्थापनाको घोषणा भएको दुई वर्षपछि लामो अभ्यास र तयारीपछि बल्ल हामीले औपचारिक टिम गठन गर्न सफल भएका छौँ । प्रतिष्ठानको उद्देश्यलाई व्यवहारमा उतार्न सबै सदस्यहरूको सहकार्य अपरिहार्य छ ।’ प्रतिष्ठानले आगामी वर्षहरूमा वातावरण साहित्य गोष्ठीको शृंखलालाई निरन्तरता दिने, पर्या साहित्यका कथा, कविता, उपन्यास, सिद्धान्त र नियात्राका पुस्तकहरू प्रकाशन गर्ने, नयाँ लेखकहरूलाई पर्या साहित्यमा प्रोत्साहन गर्नेछ भने वातावरण संरक्षणका गतिविधिहरूमा अन्य संस्थाहरूसँग सहकार्य गर्ने योजना पनि बनाएको छ । ०८२ जेठमा दसौँ वातावरण साहित्य गोष्ठी आयोजना गरिएको थियो ।
