आत्मा रमायो प्रोफेसर धनन्जयरत्न प्रेमोपाध्याय आनन्दको, किन कि यमलोक यात्रामा पनि उनले धरतीमा महान् महान् व्यक्तित्वहरूको साथ पाएजस्तै यतिखेर पनि, यो यात्रामा पनि एक महान् हस्ती उनको सहयात्री, नाम “साधुराम लेखनोपाध्य विवेकी“ अति ख्याति कमाएका जिउँदो रहुन्जेल । “साथी धनन्जय, तिमी भाग्यमानी छौ ! कस्ता कस्ता महापुरुषहरूको सङ्गतमा पुग्यौ । “मितवा प्रोफेसर जगमोहन आजादले भनेको सम्झियो ।“
भैरव अर्याल बाजेले भनेजस्तै ! “उसको मजाकिया पारा । अनेक सम्झियो, मुस्कुरायो । विवेकीले आफ्नो जीवनमा गरेको महान् कामहरूको फेहरिस्त सुनायो । “आनन्दजी, सबै गरियो, बिहे बाहेक, किन कि कुमार रहनुको मज्जानै अर्कै छ । “आफू आजीवन “पितामह भीष्म “ रहेको किस्सा सुनायो । सन् २०५५ फेब्रुअरी ३३ को घटना हो यो । सजिलोका लागि । चित्रगुप्तको कार्यालय, उनीहरू लाइनमा । धर्मराज र चित्रगुप्त भएर भटाभट न्याय गर्दैछन् । यो नेपाल विभाग हो, आजको पालो नेपालको । ९५% सबै आत्माहरू नरकतिर चलान, किसान र साना कर्मचारी, प्राइमरी टिचरहरू मात्र बैकुण्ठ, स्वर्ग र कैलाशतिर । आनन्द पनि डरायो, “अलिअलि गल्ती त गरेकै हो, यहाँ आएर उम्किन पाइन्न, अपराध र पाप भएको छैन, देखा जायेगा ! “उसको मनले भन्यो ।
“यो नक्कली ब्रह्मचारीलाई सोझै नरकमा लिएर जाऊ, सिपाही ! “ साधुरामको पालोमा । कालो मुख बनायो, बोल्न सकेन विवेकी । पालो आयो आनन्दको । “वाह, अराजक फेसबुके, ७४ पोस्ट डेली, तर उपकारी, तिमी बैकुण्ठ जाऊ ! “धाप मारेर भने धर्मराजले । हिम्मत बढ्यो आनन्दको, बोल्यो, “प्रभु, एउटा प्रश्न सोध्न सक्छु ?“ तिम्रो मनमा खेलेको कुरा थाहा छ, त्यही कुमार, तिम्रो महान् पात्रका बारेमा होइन ? त्यो त पापी हो । के को कुमार हुने ! महाभ्रष्ट हो । उसको कारणले भित्रभित्र कतिको घरबार बिग्रेको हो, हाम्रो बही हेर । उहाँ पो ढाकछोप, यहाँ त नीरक्षीर विवेक, रौरव नरक गयो । उसको नरक यात्रा, भनेर तिम्रो मितवाले धरतीमा कथा लेख्नेछ । आनन्द बाबु, धरतीमा ९९% महान् मानिएकाहरू पापी र अपराधी हुने पक्का । मान्छे धरतीमा रहस्यको पोको हो । चित्त बुझाउनू । अब जाऊ । अरूको खाता हेर्नुछ । “धर्मराजले सम्झाए । “मितवा, हजुरले भनेको कुरा सही रहेछ, दुई चार उज्याला कामहरूको आडमा फटाहाहरूले पाप, अपराध नै गर्नेरहेछन् । लौ मितवा, मान्छे चिन्न गाह्रो रहेछ । “ उसको नरक यात्रा !“ कथा लेख्नुहोला । “सिपाहीले एउटा विमानमा राखेर उसलाई बैकुण्ठ पुर्यायो ।
धनराज गिरी