• २०८१ फागुन ३ शनिवार

अद्वितीय प्रेम

बसन्त चौधरी

बसन्त चौधरी

ओ ! मेरी मायालु
अनजान, अनामिका
तिमी कतै छैनौ
र त सुरक्षित छौ मेरो निम्ति
म निश्चिन्त छु
तिमी कदापि हराउने छैनौ

गर्छु भनेरै प्रेम गर्नुनपर्ने
त्यसैत्यसै
प्रेमको आनन्द प्राप्त हुने
कति अलौकिक तिमी
निराकारमै आकृत हुने
ओ ! भव्य आकार
समाहित हुन्छौ तिमी ममा
तब बोध हुन्छ
म हराएको

सखारै हाँसिरहेको देख्दा
हिलोबाट निर्लिप्त कमल
त्यही हाँसोमा
तिमीलाई पाउँदै विस्मित हुन्छु म
र आँखा चिम्लिँदा
परमानन्दमा हृदय झुमेको अनुभूत गर्छु

जब आकाश
हुन्छ मात्र आकाश
त्यही हो विनापदचाप
तिमी ममा पुग्नुको आभास !


बसन्त चौधरी
[email protected]