• २०८२ मंसिर ९, मंगलवार

‘रचना’को नेसास शतवार्षिकी विशेषाङ्क सार्वजनिक

काठमाडौं ।

नेपाली साहित्य सम्मेलन (नेसास) दार्जिलिङको शतवार्षिकी अवसरमा ‘रचना’ साहित्यिक पत्रिकाको १९६औं अंक विशेषाङ्कका रूपमा सार्वजनिक गरिएको छ।

६५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको ‘रचना’ ले भदौ–असोज २०८२ अंकलाई नेसास दार्जिलिङ शतवार्षिकी विशेषाङ्कको रूपमा प्रकाशित गरेको हो। उक्त विशेषाङ्कको विमोचन काठमाडौंमा सम्पन्न भएको थियो। कार्यक्रममा ‘रचना’का प्रधान सम्पादक रोचक घिमिरे, साहित्यकार डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई, डा. कुमार कोइराला, शरद प्रधान र नारायणप्रसाद शर्मा फुयालले संयुक्त रूपमा विशेषाङ्क विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा सम्पादक रोचक घिमिरेले ‘रचना’को यो अंक नेपाली साहित्य सम्मेलन दार्जिलिङको सय वर्षे यात्राको सम्मानमा समर्पित गरिएको बताउनुभयो। उहाँका अनुसार शरद प्रधानको पहलमा एक वर्षअघि नै विशेषाङ्क प्रकाशनको तयारी सुरु भए पनि हाल आएर मात्र यसले रूप लिएको हो। “यो अंक प्रकाशित गर्न सहयोग गर्ने दार्जिलिङ र नेपालका साहित्यकारहरूलाई धन्यवाद दिन चाहन्छु,” घिमिरेले भन्नुभयो । उहाँले कलाकार भोटू प्रधानद्वारा २०३२ सालमा तयार गरिएको आवरणलाई यस अङ्कमा पुनः प्रकाशित गरिएको जानकारी दिनुभयो ।

नेपाली साहित्य सम्मेलन दार्जिलिङ सन् १९२४ मे २५ मा हरिप्रसाद प्रधानको अध्यक्षतामा स्थापना भएको हो। हरिप्रसाद प्रधान नेपालका पहिलो प्रधान न्यायाधीश पनि हुन्। डा. तुलसी भट्टराईले ‘रचना’को यो अंक केवल साहित्यिक प्रकाशन नभई नेपाली भाषाको एक ऐतिहासिक दस्तावेज भएको बताउनुभयो । उहाँका शब्दमा, “नेपालमा १०० वर्ष पुरा गरेको साहित्यिक संस्था भनेको यही सम्मेलन हो । यसको इतिहासलाई ‘रचना’ले नयाँ पुस्तासम्म पुरयाउने कार्य गरेको छ।” त्यस्तै, डा. गोविन्दराज भट्टराईले सम्मेलनले नेपाली भाषा र साहित्यको राष्ट्रिय पहिचानमा पुरयाएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले यो विशेषाङ्कले सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सुधपा) जस्ता पुराना अग्रज स्रष्टाको योगदानलाई पुनः उजागर गरेको बताउनुभयो ।

नेपाली साहित्य सम्मेलन दार्जिलिङ शतवार्षिकी विशेषाङ्कमा ८ वाट भारतीय नेपाली साहित्यकार र ७ जना नेपालका साहित्यकारहरूको गहकिलो लेखहरु समावेश गरेको छ। लेखहरू यस प्रकारको छः

१. नेपाली भाषा संघर्षको सम्झना– पारसमणि प्रधान
२. यता उताका भाषाका कुरा– गोकुल सिन्हा
३. सम्मेलन र अकादेमीको साहित्यिक सहकार्यको अद्र्धशताब्दी– डा. जीवन नामढुंग
४. सम्मेलनको शतवार्षिकी समारोह संस्मरणात्मक टिपोट– डा. चन्द्रकुमार राई
५. नेपाली साहित्य सम्मेलन शतवार्षिकी संक्षिप्त टिपोट– ज्ञानबाहादुर छेत्री
६. भारतीय नेपाली भाषामा ड़, ढ़ तथा पञ्चमवर्णको प्रयोग एक विश्लेषण – डा. खेमराज नेपाल
७. नेपाली साहित्य सम्मेलन शताब्दीको यात्रामा – नवीन पौड्याल
८. नेपाली साहित्य सम्मेलनकी प्रथम नारी अध्यक्ष अमृतादेवी छेत्रीको योगदान– डा. गीता छेत्री
९. नेपाली साहित्य सम्मेलन शतवार्षिकी समारोह– रोचक घिमिरे
१०. नेसास दार्जीलिङको शताब्दी यात्रा– डा. तुलसी भट्टराई
११. दार्जीलिङको बाङ्मयिक महोत्सवले दिएको सन्देश– प्रा. गोविन्दराज भट्टराई
१२. नेसासका सय वर्षः नेपाली भाषाको हर्ष – शरच्चन्द्र वस्ती
१३. शतवार्षिकी समारोहमा सहभागी हुँदाको खुशी– प्रा.डा. कुमारप्रसाद कोइराला
१४. सूर्यिवक्रम ज्ञवाली नेपाली साहित्य सम्मेलनका भीष्मपितामह– शरद प्रधान
१५. हाम्रो दार्जीलिङ् सहयात्रा– प्रेमप्रकाश फलाहारी
हाम्रो कुरा
१) शताधिक वर्ष पुगेको गौरवशाली नेपाली संस्था
२) सिक्किम उच्च अदालतको निर्णय पनि परम्परागत वर्णविन्यासका पक्षमा– रोचक घिमिरे
काटुन – शशि शाह

नेसास दार्जिलिङको शतवार्षिकी समारोह २०२५ मे २४ र २५ मा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा नेपालबाट ‘रचना’का प्रधान सम्पादक रोचक घिमिरे, डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई, डा. कुमार कोइराला, शरच्चन्द्र वस्ती र शरद प्रधानले सहभागिता जनाउनुभएको थियो ।
‘रचना’को यो अंकले नेपाली भाषा र साहित्यको ऐतिहासिक यात्रा, सम्मेलनको योगदान र साहित्यिक एकताको प्रतीकका रूपमा आफूलाई स्थापित गरेको छ ।