• २०८२ मंसिर ७, आईतवार

शंकर राईको पुस्तक ’ट्रायम्फ एन्ड टियर्स’ सार्वजनिक

काठमाडौँ  ।

भूतपूर्व ब्रिटिश गोर्खा सैनिक, शंकर राईले लेखेको अंग्रेजी भाषाको पुस्तक ’ट्रायम्फ एन्ड टियर्स’ बजारमा आएको छ । ७ अक्टोबरमा बेलायतको एल्डरसट टाउनस्थित एम्पायर बाङकेटिङ हलमा यो पुस्तक विमोचन गरिएको थियो ।

सन् १९८६ मा ब्रिटिश सेनामा भएको हवाइ काण्डका विषयमा केन्द्रित पुस्तकलाई सांसद् एलेक्स बेकरले विमोचन गरेकी हुन् । बेकर सर्वदलीय संसदीय समूहकी अध्यक्ष हुन् ।

सन् १९८२ मा भएको प्रसिद्ध फोकल्याण्ड युद्धमा भाग लिएका लेखक राई त्यसपछि ब्रिटिश सरकारबाट सम्मानित भएका थिए । हवाई द्वीपमा अमेरिकन र ब्रिटिश सैनिकहरूको संयुक्त अभ्यासपछि भएको बिदाइ भोजमा एउटा सानो घटनाले उग्र रूप लिँदा, उनी लगायत ११० जना नेपाली मूलका गोर्खाहरूलाई ब्रिटिश सेनाबाट निष्कासित गरिएको थियो । क्षतिपुर्तिबिना निष्कासित गरिएपछि ११० मध्ये धेरै सैनिक बेरोजगार भए । यही घटनाक्रमका आधारमा पुस्तकको नाम ’ट्रायम्फ टु टियर्स’ अर्थात विजयदेखि आँसुसम्म राखिएको उनले बताएका छन् ।

’पूर्ण छानबिन नगरी हामीलाई सुविधाविहीन ढंगले खाली खुट्टा, रित्तो हात ब्रिटिश सेनाबाट निकालिएको थियो,’ लेखक राई भन्छन्, ’हामीमाथि भएको यस अन्यायविरूद्ध हामी आज पनि संघर्ष गरिरहेका छौँ ।’