• २०८२ मंसिर ४, बिहीबार

‘प्लाष्टिकको फूल’ कथा–सङ्ग्रह माथि समीक्षा तथा परिचर्चा कार्यक्रम सम्पन्न

दाङ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आफ्नो नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९७औँ श्रृङ्खलामा साहित्यकार खगेश्वर भण्डारीको नवीनतम कथा–सङ्ग्रह ‘प्लाष्टिकको फूल’ माथि समीक्षा तथा परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

घोराहीमा आयोजित कार्यक्रम परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षता, नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक विभाग केन्द्रका प्रमुख निर्देशक डा. टीकाराम उदासीको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको हो ।

समालोचक तथा साहित्यकार प्रमोद धितालले कथा–सङ्ग्रहको समीक्षा प्रस्तुत गर्दै भण्डारीको कृति हरेक दृष्टिकोणबाट पठनयोग्य रहेको उल्लेख गर्नुभएको थियो । ‘प्लाष्टिकको फूल’ मा समावेश १२ कथालाई अक्षरधाम नेपालले प्रकाशनमा ल्याएको हो ।

कार्यक्रममा कथाकार भण्डारीले कथा लेखनका अनुभव र कृति प्रकाशनसम्मको आफ्नो सिर्जनात्मक यात्राका प्रसङ्गहरू साझा गर्नुभएको थियो। सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम र सल्लाहकार पुरुषोत्तम खनालले शुभकामना व्यक्त गर्दै भण्डारीलाई बधाई दिनुभएको थियो ।

परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव घनश्याम केसीले सञ्चालन गर्नुभएको थियो ।