समाचार
चन्द्रगढी ।
सशक्त नारी साहित्यकार सीता पाण्डेद्वारा रचित कविता संग्रह ‘टुकुनी खुशी र म’ माथि झापामा परिचर्चा गरिएको छ । लेखनाथ पुस्तकालयले प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गर्ने नियमित ‘अन्तिम शुक्रबारे’ कार्यक्रमअन्तर्गत कार्तिक २८ गते पुस्तकालयको प्रेक्षालयमा परिचर्चा सम्पन्न भएको हो ।
कार्यक्रममा चर्चित कवि प्रकाश बुढाथोकी (दमक)ले कृतिकार पाण्डेको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । त्यसपछि तारा विविधले कृतिको विषयवस्तु, भाषिक स्वरूप र प्रस्तुति शैलीबारे विस्तृत टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार होम सुवेदी र गंगाप्रसाद ओलीले समकालीन नारी साहित्य र पाण्डेको लेखन यात्राको प्रसङ्गमा आफ्ना विचार राख्नुभएको थियो ।
कोशी प्रदेशका पूर्वमन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य र पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई सम्मान गरिएको आयोजकहरूले जानकारी दिनुभयो ।
कार्यक्रममा केशव आचार्य, तुलसी भट्टराई, डा. स्मिता श्रेष्ठ, राजेश ढुंगाना, हरिप्रसाद न्यौपाने, उषा गुरुङ, दुर्गा सिग्देल, महेन्द्र दूरगामी, निर्मला बास्तोलालगायतका साहित्यकारले कविता वाचन गर्नुभएको थियो । सहसचिव गोविन्द कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य महेन्द्र कोइरालाले दिनुभएको थियो ।
