समाचार
“दुरदेखि आएँ प्रिय, तिमी बस्ने शहरमा,
आत्माहरू बिक्दा रैछन्, सफल हुने रहरमा”
लोकप्रिय चलचित्र निर्देशक एवं गीतकार माधवराज खरेलको शब्द रचनामा हालै सार्वजनिक गीत ‘दुरदेखि आएँ प्रिय’ का यी शब्दले आधुनिक शहरको विसंगति, सम्बन्धको संकुचन र प्रेमको स्तरलाई दर्शाएको छ । समाजका संवेदनशील पक्षमा चोटिलो प्रहार गरिएको छ । सुमधुर स्वरका धनी गायक डेभिड शंकरको कर्णप्रिय स्वरले गीतका शब्दलाई अझ वजनदार बनाएको छ । राजेन्द्र बजगाईको मीठो संगीतले गीतमा सुनमा सुगन्ध थपिदिएको छ । गीतको संगीत संयोजन समेत संगीतकार राजेन्द्र बजगाईंले नै गरेका हुन् । मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेको यस गीतलाई म्यूजिक किचन स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
यो गीत गायक डेभिड शंकरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएसँगै डेभिडको स्वर, माधवराजको शब्द र राजेन्द्रको सङ्गीतको प्रंशसा भएका कमेन्टहरु प्राप्त भएका छन् ।
यसो त यस गीतका अडियोका टिम सांगीतिक क्षेत्रमा स्थापित भइसकेका छन् । उनीहरुका धेरै कृतीहरु लोकप्रिय छन् । तथापी यो गीतमा स्वर जतिकै शब्द र सङ्गीतलाई पनि उस्तै तारिफ गरिएको छ । माधवराजले लेखेका गीतहरु यसअघि पनि थुप्रै सार्वजनिक भएका छन् । यो गीत सार्वजनिक भएपछि न्यूज र कमेन्टका आधारमा भन्न सकिन्छ–चलचित्र निर्देशनमा जस्तै गीति लेखनमा पनि माधवराजलाई यो गीतले स्थापित गराउने छ ।
‘“दुरदेखि आएँ प्रिय’ को श्रव्यलाई अझै दृश्यमार्फत पनि थप प्रभावकारी बनाइएको छ । जसको भिडियोमा समेत स्वयं गायक डेभिड शंकरको जीवन्त अभिनय रहेको छ । पुजा ठकुरीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई युदिन योन्जलले छायांकन गरेका हुन् । भिडियो सम्पादन तथा कलरिङ बिनोद बमले गरेका हुन् । गायक डेभिड शंकरकै परिकल्पनामा तयार भएको भिडियो अडियो जति उत्कृष्ट छ भिडियो उतिकै दमदार छ ।
