• २०८१ माघ २७ आइतबार

कार्थकको अन्तिम उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ लोकार्पण

काठमाडौं ।

दिवंगत लेखक, संगीतकार तथा सम्पादक पिटर जे कार्थकको अन्तिम अंग्रेजी उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ एक समारोहकाबीच सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा। केदारभक्त माथेमा, प्रा.डा अभि सुवेदी तथा कार्थकपत्नी रञ्जना कार्थकले कृति संयुक्त रूपमा सार्वजनिक गरे ।

कार्यक्रममा प्रा। माथेमाले पिटरलाई आफूले धेरैपछि मात्र भेटे पनि किन यति ढिला भेटेछु भनेर थकथकी लागेको बताए । पुस्तकमा पिटरले दार्जीलिङबाट काठमाडौं आउँदाको कथा लेखेका छन् । काठमाडौंबारे आउटसाइडरका रूपमा आफूले देखेभोगेका रूपमा पनि चित्रण गरेको उनले जनाए ।

माथेमाले भने, “पिटरको स्वतन्त्र लेखन र व्यंग्यात्मक भाषाशैलीले पुस्तकलाई थप रोचक बनाएको छ । यसले मलाई असाध्यै तान्यो । तपाईंहरूलाई पनि म पढ्न आग्रह गर्छु ।” पुस्तकका पात्र यथार्थ रहेको र यसले त्यति बेला अर्थात् पञ्चायतको समयताकाको चित्रणलाई राम्ररी अभिव्यक्त गरेको प्रा.डा. सुवेदीले बताए । उनले भने, “यहाँ पात्र यथार्थ छन्, तिनको जमात ठूलो छ । पुस्तक पढ्दा मैले विद्यार्थीकाल सम्झिएँ ।”