कविता

जीवनको उत्तरार्धतिर तिर्थयात्राको अभिलाषा झनै बढेर जाँदोरहेछ । हाम्रो परिवार पनि यो कुराबाट टाढा थिएन । तर रिटायर्ड पछि पनि हामी दुवै बुढाबुढीको, ‘खासमा काम पनि छैन ,फुर्सद पनि छैन’ भनेकै अवस्था चाँहि रहिरह्यो । यस्तो हुनुमा धेरथोर रूपमा सामाजिक कार्यहरू पनि जिम्मेवार छन् भनेर स्वाङ पार्न मिल्ने अवस्था पनि रह्यो । यस्ता कुरा मान्छे पिच्छेका स्वभावमा पनि भरपर्ने रहेछन् । उमेर छउन्जेल कमाउने आशक्तिले गर्दा होस नपाइने रहेछ । तर उमेर ढल्के पछि पछुताउने हामी धेरैको बानी पनि त छ ।
राजनैतिक, आर्थिक प्रसंगहरूमा भारत भन्ने वित्तिकै हामी कतिपयका कन्सिरिका रौंहरू तात्छन् । तर धार्मिक, सांस्कृतिक लगायतका पक्षहरूबाट नेपाल र भारत सदिर्याै देखिनै बाँधिदै आका छन् भन्दा जातिनै लाग्छ । जेहोस् नेपाली समाजमा तिर्थयात्रा भन्ने बित्तिकै भारतिय भुमिका प्रसंगहरू पनि जोडिनु कुनै अनौठो कुरा मानिन्न ।
यात्राको पिरलो र सकारात्मक सोच: सांसारिक मोहमा फसेका हामी जस्तालाई पिरलो भन्ने चिजले बाँचुञ्जेलसम्म नछाड्ने रहेछ । बरू उमेर अवस्था संगै आफ्नै जीवनसाथी, छोराछोरी, इष्टमित्र वा साथीभाइ, धनसम्पत्ति, पद प्रतिष्ठा आदिले क्रमशः छाड्दै जानेछन् । संसारिक मोहमा रमाउनेहरूका लागि पिरलो भन्ने कुराले नमरून्जेलसम्म छाड्ने होइन । त्यै भएर पिरलोको ओढ्ने र यसैको ओच्छ्याउने बाटै दिन गुजारी रहेका हुन्छौं हामीे । राजनीती गर्ने नेताहरूलाई भोटको, गरिबलाई नोटको, बाबु आमालाई सन्तानको, सन्तानलाई आफ्नो भविष्यको, रोगीलाई जीवनको पिरलो परि नै रहेको हुन्छ निरन्तर रूपमा ।
कतिपयलाई चिन्ता वा पिरलोले पनि रिस उठ्छ । रिस वा पिरलोलाई सहि तरिकाले ब्यवस्थापन गर्नु नै यसको सहि समाधान पनि हो । वास्तवमा रिस ब्यवस्थापनमा भगवान बुद्धको उपदेश निक्कै सान्दर्भिक मानिन्छ । ‘तिमीले कसैलाइ दिएको खानेकुरा उसले ग्रहण गरेन भने त्यो खाने कुरा तिम्रैै हुन्छ ।’ त्यसैगरी, आक्रोश नगरेकाहरूसँग आक्रोश गरयो भने उक्त आक्रोश पनि तिमी संगै रहन्छ ।’ यात्राका क्रममा पनि यी कुरा लागु हुन्छन् । यात्राका हरेक क्षणहरूलाई अविस्मरणीय बनाउने प्रयत्न गर्नु पर्छ । यसका लागि सँगै यात्रा गर्ने (सहयात्री)हरू बिचको हरेक सम्वन्ध, आवेग आदिलाई सौहार्दतामा बदल्न जान्नु पर्छ भन्ने मान्यता पनि छ । सार्वजनिक यातायातमा लामो यात्रामा हिंड्दा विशेषतः बढि उमेरका र रोगीलाई पर्ने मुख्य पिरलो भनेकै दिशा पिसाबको हो । तर यसपटकको यात्रामा भने यो कुरामा त्यति पिरलो लिन परेन । सहिष्णु यात्रा ब्यवस्थापक, भारतिय भूमिमा खुल्ला ठाउँहरूको प्रयाप्तता, अनि हिजोआज भारतीय क्षेत्रहरूमा पनि शौचालय ब्यवस्था प्रतिको जागरूकताले गर्दा पनि सहजता सृजना भएको हो कि झैं लाग्यो । क्रममा साँझपख हातमा लोहोटा लिएर मैदान (खाली ठाउँ) तिर गएका महिलाहरूका हुल कहिं कतै देखिएन भन्दा पनि हुन्छ ।
तिर्थयात्राबाट हामी नफर्कन्जेल करिव सतासी बर्ष पार गर्दै गरेकी हाम्री आमाको स्याहार सम्भारको जिम्मा हाम्री माइजुले लिइदिनु भयो । अझै बढि ढुक्क त यहि कुराले भइयो । वातानुकुलित बसको यात्रा, समुहगत हिंडाइ, स्वयं पाक्य खाना आदिजस्ता प्रबन्धका कुराहरू तिर्थयात्राको ब्यवस्थापनका राम्रा पक्षहरू लागे । एकजना हितैषीको भनाइको थेगोलाइ सापटी लिने हो भने सस्तो, मिठो र बलियो ।’ तर धर्मशालाको बास’ भन्ने कुराले भने यो मनमा चिसो पसेको थियो । उमेर अवस्थाका हिसाबले हेर्ने हो भने बालबालिका, असक्त एवं पाको उमेरका मान्छेहरूका लागि बास कस्तो ठाउँमा बसिन्छ भन्ने कुराले ठुलै महत्त्व राख्दछ । हाम्रो मनमा पनि यो कुराले घर गरयो । धर्मशालाको एउटै हलमा अनेकौं स्वभाव र प्रवृति भएका पचासौं, सयौंको संख्याका मानिसहरूसंग सुत्दा, बस्दा हुने कोलाहल, वाथरूम शौचालयमा प्रयोगका लागि बस्नु पर्ने लाइन, पालो जस्ता कुराहरू यो मनमा घुमिरहेका थिए ।
पुरा यात्रा बसबाटै गरिने हुनाले आरामदायी सिट पाइन्न की ? भन्ने पिरलोवाट मुक्त गरिदिए तिर्थयात्राका ब्यवस्थापकले । यद्यपी तिनै उपलब्ध सिटमा पनि मान्छेका चित्त र माछाको पित्त’ को अवस्था देख्न पाइन्थ्यो मज्जैले । बसको सबैभन्दा पछाडीका सिटमा बसेकाहरूलाई थोरै भएपनि अगाडी, बिच तिरकालाई त्यो भन्दा अगाडी, राम्रो सिट पाएकाहरूलाई झनै राम्रो र झ्याल तर्फ । अनि कसैलाई एसी नभै नहुँने, कसैले चलाउनै नदिने, यस्ता गनगनहरू त यात्रै भरि चलि नै रहे । यस्तै यस्तै गनगन, गलफत्ति र कल्याङकुलुङ सुन्दै अनि झिटिगुण्टा चढाउँदा र मिलाउँदाको सास्ति बेहोर्दै रहे बिचरा बसका स्टाफहरूले । अनि सकारात्मक सुभाबहरू दिनुहुने मित्रहरू नारायण शर्मा र डा.रामजी देवकोटाहरूलाई पनि यात्रैभरि संझिइनै रह्यौं ।
तिर्थब्रतका पुरानागफः पहिला पहिला पाका पुरानाहरूले समाजमा धाक लगाउने पाराले ‘गफहान्ने’ विषयहरूमा पर्थे तिर्थ यात्राका प्रसङ्गहरू पनि । प्रायः हिउँदको फुर्सदिलो समयतिर जोडिएर आउँथे अनेक घट्ना परि घट्नाका गफहरू । ‘गाउँदेखि बटौली सुनौलीसम्म झिटी गुन्टा सहित ओहोर दोहोर गरेको ।’‘तिन चार दिन पैदलै हिंडेर पुगेको ।’ ‘बाटैमा छुटेका, बिमार परेका, भारतीयहरूबाट ठगिएका, पकेट मारिएका’ …. जस्ता अनेकौं विषयहरूमा हुन्थे गफ । अनि तिर्थ नगएका वा भारततिरको अनुभव नभएका, जनहरू र हामी भुराभुरीहरू भने अनौठो मान्दै ट्वाल्ल परेर सुनिरहन्थ्यौं दन्त्य कथा जस्ता गफहरू । गफ हान्न तँछाड मछाड मात्र होइन कहिले काँहि त घम्साघम्सि र वादविवाद नै चल्थ्यो पाकाहरूका बिचमा । बढाइ चढाई वा अतिसयोक्ति पूर्ण गफ पनि हांक्थे उनिहरू । ‘कुरो र कुलोलाई जता बङ्ग्याउँन पनि सकिन्छ’भन्ने त्यो जमानामा ढाँट छलका कुरा त सामान्य नै हुने भए । त्यै अवस्थामा मनोरञ्जनको थप मौका मिल्ने देखिएमा आगोमा घिउ थप्ने( हौस्याउने) जमर्को पनि हुन्थ्यो हामी (दर्शक दिर्घा)बाट ।
हिँडियो तिर्थः गत बर्ष कार्तिकको अन्तिम हप्तातिर समय जु¥यो तिर्थ यात्राको । याने कि, यहाँबाट भारतको रक्सौल, पुन्पुन्, गया, काशि, प्रयाग, अयोध्यासम्म पुगेर गोरखपुर हुँदै करिव एक हप्तामा घर फर्किने । यस्तो कार्यका प्रमुख सारथी (तिर्थयात्रा गराउने ब्यवसायि) बने नवलपुर, कावासोतिका( हेंगौलिका) मुनिलाल सा । नवलपुर, परासी र चितवनतिरका गरि करिव असी जना तिर्थ यात्रीहरूको खेप पुरयाएका थिए यसपटक तिनले । यात्राको पहिलो दिन करिब एघार बजेतिर गैंडाकोटबाट प्रस्थान गरि नेपाल भारत सिमा रक्सौल पुग्दा अपरान्हको चार बजिसकेको थियो । सिमा चेक जाँच, भारूको ब्यवस्था, खित्री मित्री सामानहरूको खरिद लगायतका काम गर्दागर्दै पनि गैहाल्यो अरू थप दुई घण्टाको समय ।
सुर्यले पश्चिम क्षितिजवाट हामीलाई बाइबाई गर्दै गरेको अवस्था थियो । आकाशतिर चराचुरूङ्गीका बथानहरू आ–आफ्ना बासस्थान तर्फ फर्कंदै थिए । नजिकैका बाँसघारीहरूमा पनि हल्लीखल्ली गर्न थालिसके बकुल्लाका हुलहरूले । केहि गोठालाहरू हेइहेइ भन्दै आ…आना भन्दै वस्तुभाउहरूलाई पछाडीबाट लघार्दै घरतर्फ लाग्दै थिए । बोर्डर पारी गएर फर्केकाहरू हँसिलो अनुहारका साथ यता आउँदै थिए । यिनै माहौलका बिच सडक वत्तीहरू पनि मुस्कराउन थाली हाले । यी सबै परिदृश्यहरूले, अब यतिवेला कता जान लागेको? भन्दै सोधिरहे भैं लाग्न थाल्योे । ‘भारतमें आपका स्वागत हैं’ यति पढिसके पछि त झनै झसंङ्ग भयो यो मन पनि । अनि बल्ल महसुस हुन थाल्यो आफ्नो घरबास र दिन, अनि उज्यालोको महत्वको । अनि त्यसैगरि आफ्नो देश र सिमाको । जब कुनै चिज आफूबाट टाढा हुँदै जान्छ तब न त्यसको महत्त्व खड्कँदै जान्छ । यहि हो मानवीय स्वभाव ।
छुट्टै कोठाको आस, तर रूख मुनिको बासः रक्सौलवाट अगाडी बढ्यौं हामी । केहि पर पुगे पछि केहिबेर जाममा परयो हाम्रो बस । त्यहि मौकामा नेपालबाट तेल लिन गएका ट्यांकरका नेपाली चालकहरू पनि भेटिए । उनिहरूका अर्गानिक गफहरूले करिब डेढघण्टा बितेको पत्तै भएनछ । हामी मध्यका धैरेमा भरखरै मात्र नेपाल छाड्दा लागेको न्याश्रोमा केहिबेर भएपनि मल्हमपट्टी लाइदिए तिनले । रातको करिब डेढ बजेतिर एउटा फराकिलै कम्पाउण्ड भएको गेट भित्र छिरयो हाम्रो बस । मनमनै सोंचे । राम्रै प्रवन्ध भएको धर्मशालामा ल्याएको हुँनु पर्छ । ढिलै भएपनि अब केहि बेर आराम गर्न पाइने भो । बसवाट ओर्लेर यसो वरिपरी हेरेको त हामी मात्र होइन त्यहाँ त हाम्रा जस्ता पाँच, छ वटा अन्य बसका दुइ अढाइ सय यात्रीहरूको कल्याङ्गमल्याङ्ग र भीडभाड पो रहेछ । त्यो अवस्था देखेपछि यो मनमा पनि चिसो पस्यो । एकैछिन त्यहाँको चालामाला बुझेपछि ओत लाग्न कुनै रूखको फेद सम्म पाएपनि अहोभाग्य मान्नु पर्ने अवस्थाको महशुस भइहाल्यो । यसैबिच अल्लि पर एउटा अशोक बृक्षको फेदैमा अलिकता खाली ठाउँ देखियो । त्यो ठाउँलाई हनुमानले जस्तै एकै झपट्मा कब्जा गरिहाल्यो हाम्रो टोलीले । यस अवस्थामा यो मनलाइ सकारात्मकता तर्फ डो¥याउँन जाति मानें मैले ‘आखिर हामी पनि घर छाडेर हिंडेका (धर्मकर्म गर्न हिंडेका तिर्थयात्री) नै त हौं ? ‘त्यत्रो सुखसयलमा हुर्केकी सीता माइले पनि त दुःख पर्दा अशोक बृक्षको सहारा लिएकी थिइन् नि त ??
बस्ने ठाउँको जोहो भएपछि मात्र हामी कहाँ रहेछौं ? भन्ने खुल्दुलि जाग्यो मेरो मनमा । हामी नजिकै ठडिएको एउटा बोर्डमा लेखिएको रहेछ ‘इण्डियन आयल कर्पोरेशन (आइओसी ), पिपराकोठी, बिहार आपका हार्दिक स्वागत करता हैं ।’ प्रातः करिब पाँचबजे त्यहाँवाट पनि गन्तब्य तर्फ लाग्यौं । एकदुई घन्टैमात्र भए पनि निन्द्राको न्यास्रो मार्न छहारी दिने अशोक बृक्ष, सुरक्षित तरहको स्थान, बिजुली बत्ती पानीको सुविधा प्रदान गर्ने आइओसी लाइ धन्यवाद दियो यो मनले । अनि हामीले साथैमा लगेका चारखुट्टे झुलहरू (मछड दानी)को भूमिका पनि दामी नै रह्यो ।
पट्नै पट्ना र पुन्पुन्ः हामी भारतिय नेसनल हाइवे नं ७२को फराकिलो (चारलेन) बाटोबाट पटना तर्फ (करीब २०५ किमी) जाँदै थियो । मुजफरपुर शहर कटियो । सडकका दायाँ वायाँबाट परैसम्म देखिन्थे हरियाली फाँट एवं बुट्यानहरू । बिहानपखको सुर्यको सुनौलो प्रकाशले ती दृश्यहरूलाई झनै सिंगारी रहेझैं लाग्थ्यो । यिनै दृश्यहरूले अब हामी गंगा नदीको तटिय इलाका नजिकै छौं भन्ने संकेत दिइरहेका थिए । नभन्दै हामी गंगाकै निकट मै आइसकेका रहेछौं । अनि करिब साढे छ किमी लामो फलामे पुल तर्ने बित्तिकै पटना शहर (बिहार राज्यको राजधानि) आइहालेछ । पटनाको इतिहास सुरू हुन्छ प्राचिन मगध साम्राज्यकालको (इपु ४९०)बाट । तत्कालिन राजधानि राजगिरबाट पाटलिपुत्र सारिएको अरे त्यो वेला । भनिन्छ मौर्य, मुगल, गौतम बुद्ध र शिख लगायतका समुदायका इतिहासहरूसंग जोडिएको छ पटना (जनसंख्या ५८३८०००) २०११)संग । मुल शहरको बाहिरी परिधीबाटै देखियो निर्माणाधिन आकाशे पुल( ओभर हेड ब्रिज)को लम्बेतान लहरो । यो दृश्यले शहर भित्र हुँने सवारी जामको कहरलाई संकेत गरेझैं लाग्थ्यो ।
हरेक मानिसमा ‘आफ्नै मात्र दुनो सोफ्याउने’ खालको प्रवृति हुन्छ । हाम्रा गुरुजी हामीमा पनि त्यहि कुरा प्रकट भयो । सम्भावित जामलाई छल्न भन्दै हाम्रा गुरुजीले गरेको प्रयासलाई हौस्याउँदै थियौं हामी पनि । हेर्दै अत्यास लाग्दा साँघुरा गल्लीहरूलाई छिचोल्दै अगाडी बढ्दै थियो हाम्रो बस । बिहान दस बजे भन्दा अगाडिको समय भएकाले ब्यवसाय, अफिस, स्कुल लगायतका काममा घरबाट निस्कने सवारी र पैदल यात्रीहरूको लर्को त कतिहुन कति ⁄ त्यस क्रममा हाम्रा गुरूजीले त्यहाँका प्रहरी, गुडेका अन्य सबारी साधनहरू र पैदलयात्रीहरूवाट पाएका गालीगलौज पनि कति हुन कति । करिब डेढघण्टाको यात्रामा भीडभाडलाई छिचोल्न निक्कै हम्मे परेको थियो त्यस बखत । सवारी चालकलाई रूखो ब्यवहार गर्दछन् धेरै ले । तर सवारी साधन चलाउँदा अपर्झट रूपमा आइपर्न सक्ने जोखिमबाट बच्नका लागि चालकमा हुँनुपर्ने दक्षता, धैर्यता र निर्णायक क्षमताले ठुलो महत्त्व राख्दछ । अझ सारमा भन्ने हो भने कैयौं यात्रीहरूको जिन्दगी उनकै हातमा रहन्छ भन्दा हुन्छ । यहि कुराको निचोड प्रत्येक मानिसको जिन्दगीका हरेक मोडहरूमा पनि लागु हुन्छ । वास्तवमा ‘जिन्दगी एक सफर नै त हो’ ।
पटनाको उपनगर पुन्पुन् पुगियो बिहानको करिव नौ बजे तिर । झारखण्ड राज्यको पालमु जिल्लाको नागपुर पठारमा उत्पत्ति हुन्छ यो नदी । अनि औरंगावाद, गया र पटना जिल्ला हुँदै फतुवा भन्ने स्थानमा गंगा नदीमा मिसिन्छ । श्रीरामजीले यहि नदीमा स्नान गरिसकेपछि गयामा गै पिण्डदान गरेका थिए भन्ने भनाइ छ । यहि जनविश्वासले पनि यो ठाउँको महत्त्व बढेको होला । छठ लगायतका पुजा व्रतहरूमा पनि यो नदीले महत्व राख्ने रहेछ । नदीलाई प्रदुषित गर्ने अमानवीय प्रवृत्ति रहिरहेको यहाँ पनि देखियो । धन्य भनौं कि, यसो हेर्दा अलि धमिलो र फोहर देखिने यो नदीमा स्नान गरेर पनि कुनै फोका उठ्ने वा शरीर चिलाउँने जस्तो हुने अवस्था आएन । बरू यतिखेर, हामी सानो छँदा यो भन्दा साना र ‘भलपानी’ प्रकृतिका खोल्सा–खोल्सीमा पौडी खेलेर आनन्द लिएको याद आयो । नामैले पनि बिर्सन नसकिने पुन्पुन्लाई स्मरणको कुनामा राखी त्यहि दिन अपरान्हतिर गया (करिब ९८ किमी) तर्फ अगाडी बढ्यो हाम्रो टोली ।
यात्रा गंगाको तटैतट: जहाँगए पनि रमणीय हुन्छ नदी तटीय (आसपास) क्षेत्रको पर्यावरण । आँखैले नभ्याउँन्जेलसम्मका समथर फाँट र तिनमा छाएका खेतिबारी, हरियालीहरूमा नजर डुलाउँदाको आनन्दै बेग्लै । गुडीरहेको बस भित्रबाट एकपछि अर्को गर्दै आइरहेका यस्तै दृश्यहरूलाई एउटा तिर्खाएको प्राणीले घट्घट् पानी पाउँदा झैँ पिइराखेको छु मैले पनि । बिहान उठेदेखी अहिलेसम्म पेटमा चारो नपरेर के भो त? यात्राका क्रममा देखिएका यी दृश्यहरूले यो मन भरिपूर्ण भैराखेकै छ । ‘तन् भन्दा मन् ठुलो हुन्छ’ भनेको यहिरहेछ क्यार ? ‘प्रिय, मन यी दुई नयन मार्फत कति हेर्छौ हेर । धक फुकाएर हेर’ भन्दै खुल्ला छाडिदिएको छु यो मनलाई मैले पनि । यो बाटो काँ जाने होला ? फेरी भेट होला कि नहोला ??। ढल्किँदो यो उमेरमा योे मनले यस्ता कुरा पनि चिताउँदो रैछ है ।
करिव एक घण्टाको यात्रा पछि कुन ठाउँमा भात भान्छा गर्ने भन्ने बारेमा चर्चा चल्न थाल्यो । यस विषयमा सुरूमा ‘मुंडे मुंडे मतिर्भिन्ना’ को अवस्था नआएको होइन । तर यात्राका क्रममा पंथे (पहिलो पटके)ले पुराना(यात्राका अनुभवि)हरूका कुरा नसुन्दा दुःख पनि पाइन्छ भन्ने कहावतको यहाँ यस पटक पनि महसुस भयो । खुल्ला ठाउँ र पानी उपलब्ध भएको त्यो ठाउँमा खाना पकाएर नखाएको भए त्यो दिन हामी भोकभोकै परिने रहेछ भन्ने कुरा त्यहाँ भन्दा अगाडी बढेपछि पो बल्ल महसुस भयो । ‘भोक मिठो कि, भोजन मिठो ?’ भन्ने अकबर बिरवलको कथा यहाँ पनि चरितार्थ भएझैं लाग्यो । मिठो वा नमिठो ? भन्ने त भेउनै पाएन यो जिब्रो ले । ‘यो यात्राको पहिलो दिनको अनुभव । भोकको झोंकमा तात्तातो भात कपाकप । त्यहि मेसोमा मन्दिरका पुजारीको चन्दा आवहानलाइ पनि सहजै स्विकारीयो हामी मध्यका धेरैले । दाताहरूको अवस्था र मनोविज्ञानको फाइदा उठाउन खप्पिस हुन्छन् यतातिरका पुजारीहरू पनि ।
बस हिंड्यो । भाते निन्द्रा मात्र होइन हिजोको अनिंदोको दह्रो प्रभाव देखियो यात्री मध्येका धेरैमा । निद्राको तालमा तिनका टाउका एवं शरीरले देखाएका चालामाला भने नेपाली लोक गीत “वारी जमुना, पारी जमुना ….।’ मा अभिनय गर्न सुहाउँने खालका बन्दै गए । म भने प्राचीन कालदेखि नै नदीले बनाएका पठार, हरियाली र ठाउँ ठाउँमा झुरुप्प परेर बसेका बस्ती लगायत हेर्न मै ब्यस्त थिएँ । भारतको उत्तराखण्डदेखी लिएर बङ्गालको खाडीको सुन्दरवनसम्मको विशाल भूभागलाई सिंचित गर्छिन गंगा नदीले । कुल २५२५ किमी लामो यी नदीका प्रमुख सहायक नदीहरूमा नेपाल तर्फका महाकाली, कर्णाली, सरयु, गण्डकी र कोशी आदि हुन् । त्यसैगरी भारत तर्फका यमुना, सरस्वती (हाल लुप्त) सोन, महानन्दा आदि छन् । समस्त भारतको प्राकृतिक सम्पदा मात्र होइन आम जनताको आस्थाको आधार पनि मानिन्छ गंगानदीलाई । उसो त संसारका हरेक नदीहरूसँग मानव र मानव समाजको सम्बन्ध जोडिए कै हुन्छ ।
हामी गयामा: अब घरैघर देखिन थाले । गया शहर आइ पुगिएको अनुमान सत्य सावित भयो । साँझ पर्न थालेकाले सुर्यले पश्चिमबाट लालिमा छर्न थालिसकेको छ । हाम्रो बस घ्याच्च रोकियो । मुनिलालको इसारा अनुसार सबैले आआफ्ना झिटीगुण्टा बोक्दै अगाडी बढ्न थालियो । गोरेटो बाटो त्यसैमा पनि सिमसिम पानी परिरहेकाले हिंडीनसक्नु गरि चिप्लीएको छ । यसैमा लुरुलुरू हिड्नुको विकल्प भने देखिएन । पितृ औंसी नजिकिएकाले पनि होला मान्छेको भिडभाड बढेको । यहि कल्याङमल्याङ्ग वातावरण संगै अगाडी बढ्दै छौं हामी पनि । करिव आधा घण्टाको पैदल हिंडाइ पछि हाम्रो लाइन रोकियो । लामो समयदेखि खण्डहर जस्तै रहेर यै मौकामा प्रयोगमा ल्याइएको हो कि झैं लाग्ने एउटा कम्पाउण्ड अगाडि थियौं हामी । बल्ल तल्ल एउटा ठुलो हल भित्र छि¥यौं । त्यहि हलको एउटा खाली कुनालाई कब्जा गर्न सफल भयो हामी चारजनाको समुह पनि । भिडभाडमा अरूले जे गर्छन् त्यहि गर्ने न हो । पिप्राकोठीको हिजोको बसाइले नै संकेत गरिसकेको थियो कि, ‘मर्निङ सोज् द डे’ । तैपनि झिनो आस भने मरेको छैन है, छुट्टै कोठाको । त्यै आस लिएर धेरै मान्छेहरूले घेरिएर बसेका मनुलाल नजिकै पुग्न सफल भएँ म पनि । उनका र मेरा आँखा पनि जुधे । तर ‘तँलाइ हेर मलाइ हेर, अनि बेला हेर’ भने जस्तै गरि रुमल्लियो, छुट्टै कोठा पाउने हाम्रो टोलीको आश ।
स्थानिय पण्डाको आदेश र इसारा मुताविक बिहान चारबजे नै श्राद्ध स्थल पुगिसकेको थियो हाम्रो हुल । हामी मात्र कहाँ हो र ? हज्जारौंको भीड जम्मा भैसकेको थियो त्यहाँ । कृत्रिम तरहले भएपनि स्नान र श्राद्ध गर्नका लागि सहज हुने किसिमले बनाइएका रहेछन् त्यहाँका संरचनाहरू । मोहना र लिलाजन नदीहरू रहेछन् फाल्गु(निरञ्जना) नदीका मुहानहरू । गयामा आइपुग्दा लुप्त हुने भएकाले अन्यत्रबाट पानी ल्याएर भएपनि विशाल कुण्ड बनाइएको थियो त्यहाँ । पहिला पहिलाको भन्दा धेरै सहज भएको भन्ने पनि सुनियो ।
अन्तिममा: मानिसको मृत्यु पछि के हुन्छ ? त्यो कसैलाई थाहा छैन । तर मृत्यु अनिवार्य र सत्य कुरा हो भन्ने चाँहि धेरैलाई थाहा छ । अध्यात्म होस् वा भौतिकवादी ? यो सत्यलाई भने दुवै थरिले मान्छन् । पुस्तागत नासोका रूपमा हस्तान्तरण हुँदै जानेहुन् वंशाणुगत गुण, आचरण, सिप र सम्पत्ति आदि । त्यै भएर पनि मानव जाति आफ्ना पिता पुर्खाप्रति जिम्मेवार र नतमस्तक भैराखेको होला । श्राद्ध भने कै आफ्ना दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गर्नु हो ।
गयामा आउने लगभग सबै तिर्थयात्रीहरूका चाहना भनेकै आफ्ना पितृ पुर्खाहरूलाई संझना गर्नु र पिण्ड–तर्पण दिनु नै हो । यस्तै माहौलमा नतमस्तक भैराखेका छौं यहाँ उपस्थित हामी सबैजना । नदीमा स्नान गरिसके पछि हामी सहितका सयौंजना जजमानहरूलाई सामुहिक रूपमा श्राद्ध गराउन थाले पण्डाहरूले । दर्जनौंको संख्यामा थिए होलान् त्यहाँ हामी जस्ता जजमानका हुलहरू । मुल (मोहरिया)पण्डा भने मुस्कुराउँदै र जुँगामा ताउ दिंदै प्रत्येक हुलहरू तर्फ निगरानी बढाउँदै थिए । सायद तिनले आम्दानीका बारेमा पनि सोच्दै होलान् ।
सामुहिक रूपमा आ–आफ्ना पितृहरूलाई श्रद्धा र सम्मान प्रकट गर्दाको माहोलै अर्कै हुने । त्यसबाट प्राप्त हुने अनुभूती पनि बेग्लै खालको । पण्डाहरूले विभिन्न मन्त्रोच्चारण गर्दै छन् । उनिहरू कै अनुसार हामीले पनि परलोक भएका घर, मावली तथा ससुराली तर्फका आ–आफ्ना बाजे बराजु, जिजु बराजु एवं बज्यै, फुपुहरू लगायतलाई सम्झिने बेला भो । र उनीहरूका नाम लिदै तर्पण दिनु पर्ने भो । यति कामसम्म त सहजै सम्पन्न भए ।
तर जब तिनीहरूले हामीलाई आ–आफ्ना बा को अनुहार पनि सम्झनोस् भन्न थाले । म त केहि बेर ‘अक्क न बक्क’ परें । कता कता, केहि न केहि हराइरहे झैं लाग्न थाल्यो । बाको अनुहारका विषयमा निक्कै वेर रन्थनिएँ । हामी सानै छँदा (म करिब चार बर्षर्को हुँदा) बित्नु भएका हाम्रा बाको अनुहार अहिले सम्झना छैन मलाई । भाइ र बैनीहरूलाई त झनै हुने कुरा भएन । त्यो बेला तिर फोटो सोटोको चलन पनि थिएन । दाजुले पनि बा बितेको धेरै बर्ष भएकाले सम्झन गाह्रो छ भन्नु भो । यसैबिच, अहिले मलाई हाम्री आमाले बाका सम्बन्धमा पटक–पटक सुनाइ रहने एउटा घटनाका बारेमा झट्ट याद आयो । उक्त घटना यस्तो छ: ‘चैतको महिना, बिहानी पखको समय, अरु दिन भन्दा बेस्कन हुरीबतास चलिरहको थियो, बा एक्कासी बिरामी पर्नु भो । आँगनमा एउटा गुन्द्री माथि लम्पसार परिरहनु भएको थियो । केहि बेरमै छटपटाउन थाल्नु भो, अनि त हल्लिखल्लि मच्चिन थाल्यो । एकै छिनमा मान्छेहरूले भरिभराउ भयो हाम्रो आँगन । बिरामी परेर सुतिरहेका बाको शरीर माथि कुनै एकजना मान्छे आएर सेतो कपडा एक्कासी ओढाई दिएकोसम्म याद छ । त्यस पछि त म बेहोस् भएछु । यति मात्र याद छ त्यो दिनको घटना । अरु छैन ।’
बा बितेको अहिले करिव साठ्ठी वर्ष भएछ । अहिले यहाँ पनि बिहानीपखको समय छ । हावा पनि जोडले चल्दै छ । फाल्गु नदीको विशाल जलासयको डिलमा उभिएर पूर्वतर्फ फर्किरहेको अवस्थामा छु । यो विशाल जलासयका छालहरूमा नवोदित सुर्यका किरणहरू मिसिँदा अनेकौं रंग–तरङ्गहरू पैदा भैरहेको अवस्था छ । यहाँ उपस्थित अन्य सबैजना पनि आ–आफ्ना पिता पुर्खाप्रति नतमस्तक भै राखेका छन् । तर मलाइ भने यी रङ्गिन र बाहिरी कुराहरूले छुँदै छोएका छैनन् । मेरो मन मस्तिष्क यो विशाल जलाशय र यसैमा उठिरहेका यिनै छालहरू मै केन्द्रित छ । म त हाम्री आमाले भने झैं ‘सेतो कपडा र त्यसैले छोपिएको हाम्रा बाको अनुहार’ खोज्ने ध्याउन्नमा छु ।
जनक तिवारी
गैंडाकोट – २