• २०८२ कार्तिक २८, शुक्रबार

पारिजातबारे सुकन्या भन्छिन्, ‘उनी त हावाजस्तै स्वच्छन्द’

काठमाडौं, कार्तिक २६ ।

नेपाली साहित्यकी महान स्रष्टा पारिजातबारे हामीले धेरै पढेका छौं, सुनेका छौं तर जति पढेपनि, सुनेपनि धीत मर्दैन । उहाँको साहित्यिक व्यक्तित्व जति विराट छ उत्ति नै स्वच्छन्द छ उहाँको व्यक्तिगत जीवन पनि । पारिजातकी बहिनी तथा लेखिका सुकन्या वाइबाले ‘तिम्रो स्वच्छन्दताको पराकाष्ठा’ शीर्षकमा एउटा संस्मरण नै लेख्नुभएको छ । जो गरिमा मासिकमा छापिएको छ ।

वास्तवमा पारिजातको जीवन एउटा प्रेरणादायी महाआख्यान नै हो । उहाँका जीवनका नसुनेका कतिपय यस्ता ‘किस्सा’हरू अझै सुन्न बाँकी छ । अझ नयाँ पुस्ताले उहाँका जीवनका उकाली-ओरालीबारे, उहाँका आफ्नै धरातल, परिवेश, अनुभव, अनुभूति र सिकाइबारे धेरै जान्नुपर्ने हुन्छ । उहाँका रचनाहरू पढिरहँदा उहाँको वैचारिक विराटतालाई हामी महसुस गर्न सक्छौं । उहाँका रचनाहरूमा नोस्टाल्जिया मात्र होइन, विद्रोहचेत छ, नारी स्वच्छन्दताको अनुपम तस्बीर छ, भने प्रेमका मानकहरूमाथि पनि तिखो प्रश्न गरिएका छन् ।

उहाँका बाल्यकाल, जीवन बाँच्ने ‘काइदा’ र उटपट्याङबारे उहाँकी बहिनी तथा संगिनी सुकन्या वाइबाले हामीसँग स्मरण साझा गर्नुभयो । पारिजातका ‘किस्सा’ भनिरहँदा सुकन्याको अनुहारमा अनौठो चमक देख्न सकिन्थ्यो । मानौँ उहाँ दार्जिलिगंको हरियालीमाझ पुग्नुभयो र जंङ्गली फूल तथा वनगन्धको रमरममा भुल्नुभयो । मानौँ सुकिला दिनहरू मनभरि वसन्त बोकेर आए ।

उनलाई ‘एडभेन्चरस’ जे पनि गर्नुपर्ने
सुकन्या सुनाउँनुहुन्छ, “दार्जिलिगंको स्वच्छन्द हावाले उनलाई वायुपंखी बनाएको थियो । सानैदेखि खुब उटपट्याङ गर्नु पर्ने उनलाई । भीरपाखा-सल्लाघारी चहार्नुपर्ने । गुराँसरको पत्रदल र भोटेपान खोजीखोजी खानु पर्ने । कतिसम्म ‘बदमासी’ गर्थिन् भने बाउलाई मात्रै हैन घरपरिवारलाई नै आजित बनाउने गर्थिन् । महान लेखिका पारिजातले कुनैवेला ज्यानै जानेगरि उट्पट्यांग गरेकी थिइन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उनी स्वच्छन्द स्वभावकी थिइन् । ‘एडभेन्चरस’ जे पनि गर्नुपर्ने ।” आजभोली त्यस्तो हर्कत गर्नेलाई टमब्वाई भनेर परिभाषित गर्ने गरिन्छ । हुन् त ‘धूपी, सल्ला र लालीगुराँसको फेदमा’ भन्ने आत्मकथात्मक निबन्धमा लेखिका स्वयम्ले आफ्ना बाल्यकालका ती उटपट्याङको कलात्मक चर्चा गर्नुभएको छ ।

यद्यपि सुकन्यासँग विगतका अनेक किस्साहरू अझै बाँकी थिए हामीसँग साझा गर्नका लागि । दिदीको किशोरावस्थाबारे कथा हालिरहँदा त उहाँ झन् किशोरावस्थामै पुगेजस्तो ‘चञ्चल’ हुनुभयो । उहाँका भंगिमा र लयले हामीलाई आर्कर्षित गर्छ । भाकापनि उही दार्जिलिगें, मानौँ हामी उहाँका दौतरी भयौं । उमेरले कहाँ सीमाको पर्वाह गर्छ र ? मीठा पलहरूका स्मृतिले जहिलेपनि कुत्कुत्याएर जान्छ नै । मैले विगत कोट्याइरहेँ, उहाँ ‘भाका’ हाल्दै जानुभयो, “दिदी हठी थिइन् । हतपत कसैसंग न मिल्ने । उनलाई छुच्छी, घमण्डी भन्थे सबैले । सानोमा धेरै नबोल्ने ।”

सुकन्या टोलाउँनुहुन्छ एक छिन्, विगतले उहाँको प्रौढ अनुहार पुनः कुत्कुत्याउँछ र उहाँ मुस्काउँदै भन्नुहुनछ, “हाम्रा टोलका दाईहरू र काकाका छोराहरू बसेर गाँजा खन्थे । दिदीले पनि एकचोटि गाँजा खाइदिइछन् । नशा लागेपछि आएर ग्वाम्ल्वाङ्ग ओच्छयानमा लडिन । के गरेको भनेर सोध्दा, ‘मैले त गाँजा तान्देको’ सुनाउँछिन्, स्वास्वा गर्दै स्वास माथि माथि तान्छिन्, म एक्लै थिएँ घरमा । एकछिन् डराएँ म त, पछि आफै भन्छिन्, ‘जाऊ बट्टु दाजुलाई बोलएर ल्याऊ ।’ बट्टु दाजु, हाम्रो दाईको साथी । उनी हामी भन्दा निकै तल बस्थे, म दौडेर उलाई बोलाउन गएँ । के भएको भनेर सोधे दाईले, दिदीले गाँजा खाइदिइछन् भन्दा उनी त मुसुक्क हाँस्छन् । उनले मलाई, ‘तिमी जाऊ बहिनी म आउँछु ।’ भनेर पछि आएर गालेको कागति उनलाई खुवाएको हिजै हो जस्ताो लाग्छ ।” बट्टु दाजुको बांगो मुस्कानले सुकन्यालाई अझैपनि एक्लैमा हँसाउने रहेछ ।

“पाँच वर्षको उमेरमै दिदीलाई छिमेकीले कोदोको जाँड खुवाई दिएको थियो, म सानै थिएँ त्यतिबेला, दिदीको हाउभाउ अलिअलि सम्झिन्छु । उनी जाँड खाएर आएपछि मरी-मरी हाँस्थिन् र बुङ्गबुङ्ग खाटबाट लड्थिन् ।” त्यो घटनालाई लिएर बाउले छिमेकीसँग झगडै गरेका उहाँ बताउनु हुन्छ । उहाँ सुनाउँनुहुन्छ, “दिदीले भनेको कुरा मानेन भने एकदमै रिसाउँने बानी थियो । ठाडै बाँझ्न जाने खालको । कसैले हामीलाई पिट्यो भने बाउले उल्टो किन गइस् भनेर हामीलाई नै पिट्थे । त्यहीभएर पनि होला उनमा आफ्ना लागि आफैं लड्ने क्षमता विकास भएको ।”

‘बदमासी’को पराकाष्ठा
सुकन्या भन्नुहुन्छ, “दिदीको त्यसवेलाको ‘बदमासी’को पराकाष्ठा भनिनसक्नुको छ । कतिसम्म गर्थिन् भने, अर्काको घरमा काम गर्नेलाई साथी बनाइहाल्ने र घरमालीकले अत्याचार गर्यो कि तिनलाई भगाएर अर्को ठाउँमा कामको बन्दोबस्त गरेर, काम लगाइहाल्ने । एकदमै निडर थिइन्, हामी बस्ने बंगलाको शौचालय बाहिर टाढा थियो, अन्कन्टार जंगलमा भन्दापनि हुन्छ । राति-राति दाजु र म शौचालय जान डराए पनि दिदी त एक्लै गइहाल्ने । केहीसँग, कोहीसँगपनि नडराउने उनी त ।” सुकन्या सुनाउँनुहुन्छ, “पारिजात स्कुल पढ्दाताका धेरै बोल्दैन थिइन् । गम्भीर खालकी थिइन् उनी । विद्यार्थीपनि तगडा नै थिइन दिदी । वास्तवमा उनी पढ्नमा अल्छि नै थिइन्, प्रायः कोर्सका किताबहरू पढ्दैन थिइन् तर फाल्तु चिज खुब पढ्ने गर्थिन् । पाएसम्मको उपन्यास र किताबहरू पढ्ने तरपनि कोर्सबुक नपढेरै पास चै हुन्थिन् ।”

मिशिनरी स्कुल, जहाँ पारिजातले विद्यालय शिक्षा आर्जन गर्नुभयो, त्यसलाई नेपाली गर्ल्स हाई स्कुल भन्थे । सुकन्या ती दिनलाई सम्झदैं सुनाउँनुभयो, “दिदी सात कक्षा फेल भएपछि पढाई छोडिहाल्यो । उतिवेला दिदीले खुब स्कुल फेरिन्, कति स्कुलहरू चहारिन् । खासमा उनको फाल्तु चिजतिर मन धेरै जान्थ्यो, अहिले ती कुराको मूल्य छ तर त्यतिवेला त्यस्तो थिएन । उनलाई नाचगान, गीत खुब मनपर्ने । कक्षा दुईमा पढ्दा, एउटा गुरुआमा हुनुहुन्थ्यो, क्रिश्चियन हुनुहुन्थ्यो उहाँ । सारै पिट्नुहुन्थ्यो । दिदीले र मैले पनि खुब पिटाइ खायौंँ । खासमा दिदी कडा अनुशासन मन नपराउने । उनी त हावाजस्तै स्वच्छन्द । चित्त नबुझेको कुरा मुखमैे भनिदिने बानी थियो । जसले गर्दा उसँग मान्छे डराउँथे । उनी घुम्न पनि एकदमै ‘सोखिन’ थिइन् ।”

नेपाली साहित्यकी महान हस्ती पारिजातले सानैमा पनि कवितामा संगीत हालेर बहिनीलाई सुनाउने गर्नुहुन्थ्यो । सुकन्या भन्नुहुन्छ, दिदीमा अनौठो प्रतिभा थियो । एकैछिन् उहाँ भावुक हुनुभयो, “बाउले सबभन्दा धेरै माया दिदीलाई नै गर्थे । उनी सानैदेखि एकदमै रोगी थिइन् । गाउँमा पखाला, आऊ, आँखा पाक्ने रोग जे चले पनि उनलाई लागि हाल्ने । त्यै भएर पनि उनलाई विशेष माया गर्थे । हामीलाई शानका साथ हुर्काउन खोज्ने । कति माया गर्थे भने, दशैंमा या अन्य समयमा सिलाइएको लुगा ठुलो सिलाइदिन्थे र भन्थे, पछि सुकन्याको लुगा विष्णुले लगाऊ अनि विष्णुको लुगा सुकन्याले लगाऊ । दिदी अग्ली थिइन्, उनलाई मेरो लुगा ठीकैभए पनि मलाई कसरी उनको लुगा अँट्नु ।

“बाउ ब्रिटीशजस्तै कडा थिए, अनुशासन खोज्थे । उनले दिदीलाई डाक्टर बनाउने ठुलो इक्छा राखेका थिए तर दिदीलाई सानैदेखि पढ्ने, पत्रिका निकाल्ने रहर हुने ।” उहाँलाई दिदीका कतिपय निर्णय, उहाँले कसरी लिनुभयो होला भनेर अझै पनि अनौठो लाग्दोरहेछ । उहाँ सम्झिनुहुन्छ, “दार्जिलिगंमै हुँदा बाउले काकाका छोरा दाजु र भाउजूलाई हामीसँग राखिदिएका थिए । ती दाई-भाउजू भने स्वार्थी निस्किए, हामीलाई भोक लागेको वेला खाना नदिने । खाजाखाने वेला बजारबाट ल्याउन जानेजस्ता उपद्रो गर्थे, दिदीलाई एक पटक रिस उठेछ । उनले तिमीहरूले हमीलाई भोक लागेको वेला खानापनि नदिने, हाम्रो बाउको पैसामा तिमीहरू मोज गर्ने ? जाऊ गइहाल भनेर घरबाटै निकाले र आफू सकि नसकी खाना पकाएर हामीलाई खुवाउने गर्थिन् ।”

“दिदी अन्यभन्दा निकै भिन्न थिइन् ।” भन्दै सुकन्या बाल्यकाल सम्झेर मनमनै मुग्ध हुनुभयो र केही सम्झदैं भन्नुभयो, “त्यतिवेला मितीनी लगाउने रमाइलो चलन थियो । दिदी र मैले पनि मितीनी लगायौं । उसको र मेरो मितीनी सबै एकैहूल । आइएको पढाई, म र दिदीले संगै पढ्यौं । उनी पास भएपछि बाउले पत्याउनै सकेन र दोहर्याएर रिजल्ट हेर्न पठाए । उनी सारै नपढ्ने । रिजल्ट हेर्ने मान्छेलाई सुकन्याको रिजल्ट हेरेर आइस् भनेर भन्ने । पछि त बाउलेपनि उसको प्रतिभा माने नि ।”

एक पटक जाडोमा बाउले हामीलाई कश्मिराको निलो आकाशे रंगको फ्रक बनाइदिनुभयो । लगाएर धेरै पुरोनो पनि भएको थिएन, त्योवेला हामी दिनभरी पुतली खेल्थ्यौं । पुतली खेल्नभनेर दिदीले त्यो फ्रक च्यात भनिन् मलाई, मैले होइन पहिले तिमीले आफ्नो च्यात भनेँ । नभन्दै उनले त घयार्र फ्रक च्यातिन् । मैलेपनि आफ्नो त्यस्तो राम्रो फ्रक च्यातेँ र हामीले खुब पुतली बनाई–बनाई खेल्यौं । कहाँ कहाँमात्र पुगेन ती फ्रकका टुक्राहरू । बाउले देखेछन्, अनित रिसाएर त्यो तिमीहरूलाई सिलाइदिएको कश्मिराको जामा खोई, एकएक टुक्रा टिपेर ल्याऊ भनेपछि बिहानै म र दिदी सिस्नुघारी, भीरतिर कताकताबाट बटुलेर ल्याएको बडो सम्झना आउँछ ।”

नौ कक्षा पढ्दै दिदीले उपन्यास लेखेकी थिइन्
“नौ कक्षातिर पढ्दै दिदीले उपन्यास लेखेकी थिइन् । उनले त्यतिवेला लेखेको उपन्यासको नायकको नाम धवल राखेको मलाई सम्झना छ । त्यतिवेला हामीले तिलश्मी खालको डिटेक्टिभ किताब त १५-१५ वटा साटासाट गर्थ्यौ । लभ-सिरिज सोहनी-महिवाल, लैला-मजनू टाइपको खुब पढियो । साथीहरूपनि त्यस्तै थिए नि त । पछि दिदीले स्तरीय साहित्य पढ्न र लेख्न थालिन् । खुब अध्ययनशिल थिइन् उनी । उपन्यासहरू खुब पढिन्थ्यो त्यतिवेला । कुशवाकान्त, प्यारेलाल आवारा, सशधर, गोविन्द सिंह आदि । कुशवाकान्तको किताब त टोलमा आउनै नहुने खोसाखोस गरेर पढ्थे केटीहरूले । बाउले मार्छ भनेर बाहिर गएर किताबमा लुकाएर पढ्थ्यौं उपन्यासहरू ।”

किस्सा ‘लभ लेटर’का
“दिदी राम्री थिइन् । दार्जिलिगंमा त्यतिवेला सानैदेखि लभ गर्ने चलन थियो । तीनचार कक्षा पढ्दा ताका नै मनपराउने, लभ गर्ने चलन थियो । बरु, आजभोलि त्यो चलन बल्ल यता सुरु भएको मान्छु म त । त्यतिवेला केटाहरूले लभ लेटर पहिलेदेखि लेखेका ‘रेडिमेड’ राख्थे र यसो केटी मन पर्याे कि चिठी दिई हाल्ने । एक पटक काठको खडाऊ बेच्ने एउटा मुसलमानसंँग दिदी र म खडाऊ किन्न गयौँ । कति पैसा पर्याे भनेर सोधेको त मैले कहिले पैसा मागेको छुँ भन्छ । पछि त उसले दिदीलाई चिठी पठाएछ । दिदीलाई थुप्रैले चिठी पठाउँथे । उनले एउटा टिनको बाकसमा सबै लभलेटरहरू जम्मा पारेर राख्थिन् र बेलाबेला हामी निकालेर पढ्थ्यौं । एउटाको चिठी झिक्थ्यौें, पढथ्यौं अनि मरीमरी हाँस्थ्यौं । एकदिन दाजुले चिठीहरू देखेछन् र सबै च्यातिदिएछन् । उतिवेला पनि उनले कतिको लभलेटर लेखिदिन्थिन् ।”

सुकन्या सुनाउँनुहुन्छ, “लालीगुराँसको पत्रदल दिदीले खुबै खाइन्, भोटेपान, सिलटिमुर र जडीबुटी खोजीखोजी खान्थ्यौं हामी । सिलटिमुर टिप्दै खाँदै गरेर त एक पटक दिदी झण्डैले बाँचेकी । सिलटिमुर धेरै खानु नहुनेरहेछ । उनले धेरै खाइदिइछन्, बाउले रिसाएर, ‘त्यो अधबेस्रेलाई नून खुवा, मर्छे ।’ भनेर उनी हैरानै भएका थिए । त्यत्तिसम्मको उपद्रो गर्थिन् उनले ।” सुकन्यालाई आज पनि ती दिन र घटनाहरू हिजै घटित भएजस्तै ताजा  लाग्छ ।

उहाँ सुनाउँनुहुन्छ, “साहित्यकारहरूसँंग मिटिङ्ग हुँदा कतिवेला चर्काचर्की हुने गथ्र्याे अनि म ढोकामा उभेर बस्थेँ, कारण कसैले हानिदिए भने बचाउनु त पर्याे भनेर । थुपै्र पटक मिटिङ्गबाट सबै सिराएर हिँड्थे, उनी चैं खाटमा बसेको बसै, त्यस्तो खालको थिइन् । दिदीले भन्ने गर्थिन्, ‘त्यस्तै पर्याे भने एक खुर्पा त कसो न हानुला र यो हातले ।”

“घरमा एउटा पाहुना आउनै नहुने, झ्यालमा लुकेर मुख छोपि-छोपि हाँस्थ्यौं हामी । कुन्नी किन त्यति हाँसो आउँथ्यो त्योवेला ? यस्ता अनेक घटना छन् जनु विस्मृता गएपनि पुनः पुनः चर्चा गरिएर ताजा हुन्छन् र म दिदीसँंगै उहीँ भीरपाखा अझै नाघ्दैछु भन्ने भ्रममा पर्ने गर्छु । दिदीको सपनाले पनि त छोडेको छैन अहिलेसम्म ।”