• २०८२ मंसिर ७, आईतवार

कथाकार सुरेश यक्सोले ल्याए ‘पेनिबा’ कथासंग्रह

काठमाडौँ ।

मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रले कथाकार सुरेश यक्सोको ‘पेनिबा’ कथासंग्रह लोकार्पण गरेको छ ।नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति तीलविक्रम नेम्बाङ (बैरागी काइँला), नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, प्राज्ञ तथा कवि श्रवण मुकारुङ, प्राज्ञ शशी लुमुम्बू, समालोचक डा.तुलसी गौतम, कथाकार बिना थिङ र कथाकारकी आमा लक्ष्मी लिम्बूले संयुक्त रूपमा कथासंग्रहको लोकार्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले ‘पेनिबा’ लाई आधुनिक नेपाली समाज र प्रवासी नेपालीहरूको जीवन भोगाइको सशक्त प्रतिबिम्ब भएको बताए। कथामा गहिरा भावना, संवेदना र मनोविज्ञान समेटिएको पनि उनले बताए । उनले भने, पेनिबा कथासङ्ग्रह याक्थुङ समुदायको सांस्कृतिक पहिचान बोकेको दस्तावेज हो । यसमा गाउँको पुरानो जीवनशैली, मानवीय सम्बन्धको दूरी र आधुनिकताको प्रभाव सजीव रूपमा उतारिएको छ ।

कार्यक्रमका विशेष अतिथि एवम् नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले ‘पेनिबा’ मा नेपाली समाजको पहिचान र विविधताको सुन्दर शब्द चित्र रहेको बताए । त्यस्तै समालोचक डा. तुलसी गौतमले कथाकारले मुन्धुमको दर्शनबाट जीवन हेरेको बताए। “याक्थुङ लिम्बुहरूको मुन्धुम दर्शन हामीले बाहिर ल्याउनै सकेको छैनौं । यो एउटा जीवन दर्शन हो । यस्तै कथाकार विना थिङले लेखकले कसरी समाज हेर्छ भन्ने कुरा लेखनमा प्रस्तुत हुने बताइन् । कथाकारले कथामा विचारहरू सुन्दर रूपमा कथाको माध्यमबाट प्रस्तुत गरेको बताइन् ।

कार्यक्रमका प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङले ‘पेनिबा’ मा देशविदेशको परिवेशबारे झल्किएको बताए । कथामा पहिचान, अस्तित्व, सामाजिक न्याय र मानवता जस्ता विविध विषय समेटिएको पनि उनले बताए । सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष प्राज्ञ शशी लुमुम्बूले कथाकार सुरेश यक्सो जस्ता नेपाली साहित्यमा नयाँ पुस्ताको निकै योगदान रहेको बताए। उनले यस्ता सिर्जनात्मक प्रयासले नेपाली कथालेखन नयाँ दिशातर्फ लम्किने पनि बताए । कार्यक्रममा च्याब्रुङ नृत्य समेत प्रस्तुत गरिएको थियो । धनकुटाको कागतेमा जन्मिएका यक्सो हङकङमा बस्छन्। यक्सोको उक्त कृतिमा १५ कथा समावेश छन् ।