समाचार
काठमाडौँ ।
कवि कृष्ण उदाशीको ‘पानीको पर्खाल’ कवितासंग्रह लोकार्पण गरिएको छ । प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यमा कवितासंग्रहको लोकार्पण भएको हो । प्रमुख अतिथि मुकारुङ, डा. अशोक थापा, जयराम तिम्सिना र कवि कृष्ण उदाशीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् । कार्यक्रममा डा. अम्बिका अर्याल र डा. अशोक थापाले लोकार्पित कृति ‘पानीको पर्खाल’को समीक्षात्मक टिप्पणी गरेका गरेका थिए ।
डा. अर्यालले कलात्मकता, गहना र दार्शनिकता कविको काव्यगत विशेषता रहेको बताए । त्यस्तै डा. थापाले ‘पानीको पर्खाल’ का कविताहरू सशक्त र शालीन र शक्तिशाली रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि मुकारुङले उदासीको कवितामा सार र दर्शनको सुन्दर तादाम्य रहेको बताए । कवि उदाशीले काठमाडौंले मोफसललाई सधैं पर्खालभित्र थुनेको बिस्मात् पोखे । उनले ‘पानीको पर्खाल’ त्यही विभेदीय पर्खाल भत्काउने प्रयासको प्रतीक भएको बताए ।
सञ्चालक महेश क्षितिजले ‘बाबुको गर्भ’ कविता वाचन गर्दै कार्यक्रम चलाएका थिए। कवि उदासीले ‘हिउँद र मेरा बा’ तथा ‘गाउँ र आमाहरू’ वाचेका थिए । त्यस्तै राधा कँडेल, महेश पौडेल र चन्द्रवीर तुम्बापोले पनि कृतिका कविता वाचेका थिए । सर्वनाम थिएटरमा भएको कार्यक्रममा गायक–संगीतकार राजनराज शिवाकोटी, गायक गौरभ दर्पण, प्राडा जनार्दन घिमिरे, उपन्यासकार श्याम सिंहक, कवि मिथोच, विशाल नाल्बो, योगमाया दाहाल, शरद अधिकारी सर्जक तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
