• २०८२ मंसिर २२, सोमबार

प्रवास, सृजनशीलता र ‘मर्नु अघि’

अन्तरवार्ता
आख्यानकार जमुना भट्टराईसँग स्रष्टा–संवाद
कवि तथा आख्यानकार जमुना भट्टराई अमेरिकामा बस्नुहुन्छ । उहाँले ‘अपदस्त अस्तित्व’ कवितासङ्ग्रहद्वारा साहित्यिक यात्रा आरम्भ गर्नुभएको हो । अहिले उहाँको उपन्यास ‘मर्नु अघि’ प्रकाशित भएको छ । प्रवासमा बसेर नेपली साहित्यमा योगदान दिइरहनु भएकी जमुना भट्टराईसँग प्रवासका कठिनाईमा नयाँ उपन्यास ‘मर्नु अघि’ कसरि जन्मियो भन्ने प्रश्नहरूको सेरोफेरोमा रन्जना निरौलाले गरेको स्रष्टा संवाद !!

स्रष्टा–संवाद:
प्रवास, सृजनशीलता र ‘मर्नु अघि’
नमस्कार ! आज हामीसँग हुनुहुन्छ कवि तथा आख्यानकार जमुना भट्टराई, जसले ‘अपदस्त अस्तित्व’ कवितासङ्ग्रहद्वारा साहित्यिक यात्रा सुरु गर्नुभयो र अहिले आफ्नो नवीनतम उपन्यास ‘मर्नु अघि’ लिएर पाठकमाझ आउनुभएको छ । स्वागत छ, जमुना जी !

१. जमुना जी, आफ्नो साहित्यिक यात्राको बारेमा केहि जानकारी दिनुहोस् न
म साहित्य पढ्न मन पराउँथें, लेख्ने सोच त्यति थिएन । तर जीवनले अप्रत्याशित मोडमा लग्यो, जब मलाई क्यान्सर रोग लाग्यो तब कलम मेरो साथि बनेको हो । रोगको पीडालाई शब्दहरूले भुलाइदिए र ती शब्दहरूले नै मलाई बाँच्न सिकाए । ‘अपदस्त अस्तित्व’ मेरा आँसु र आशा बिचको पहिलो आवाज हो, जसबाट मेरो साहित्यिक यात्रा सुरु भयो ।

२. तपाईं लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ । प्रवासको व्यस्तता र मनोभावनात्मक दूरीबीच ‘मर्नु अघि’ जस्तो गहिरो उपन्यास लेख्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
– म अमेरिका धेरै वर्षदेखि बसेकी होइन, रोगसगै संघर्ष गर्दै गर्दाको समयमा म यहाँ पुगेकी हुँ । जब शरीर कमजोर भयो, शब्दहरू बलिया बने । काम गर्न नसक्दा समयसँग गफ गर्न सुरु गरेँ, अनि कलम मेरो निकटको साथी भयो । ‘मर्नु अघि’ त्यही समयको साक्षी हो जहाँ पात्र दीपाको पीडा, आत्मसंघर्ष र अस्तित्वको खोज एकैसाथ बाँचिरहेका थिए ।

३. प्रवासमा रहँदा नेपाली समाज र मानवीय सम्बन्धहरूलाई कस्तो दृष्टिले हेर्नुहुन्छ? ती अनुभूतिहरू यो उपन्यासमा कसरी प्रतिबिम्बित भएका छन ?
– प्रवासले मानिसको मनलाई धेरै कोणबाट हेर्न सिकाउँछ । यहाँको जीवनमा मैले यहि देखे । मान्छे जहाँ गए पनि उसको मनको गाँठो भने मातृभूमिसँगै गाँसिएको हुन्छ । ‘मर्नु अघि’ भित्रका सम्बन्ध, दूरी र अभावले प्रवासी मनको गहिरो चिरफार गर्छन् । ती पात्रहरूमा मैले आफ्नो र धेरै प्रवासीहरूको मनलाई मिसाएकी छु ।

४. ‘मर्नु अघि’ लेख्ने क्रममा तपाईंले भोग्नुभएको कठिनाइ र आत्मसंघर्षबारे पनि केही बताइदिनुहोस् न। प्रवासले त्यो सृजनात्मक यात्रामा कस्तो प्रभाव पा¥यो ?

– रोग, एक्लोपन र अनिश्चितताबीच लेखिएको उपन्यास हो यो । कहिलेकाहीँ शब्दहरू आँसुमा डुब्थे, कहिले टाइप गर्दा गर्दै हात काँप्थे । तर लेख्दै जाँदा मलाई लाग्थ्यो म मर्नुभन्दा अघि म कृतीका साथमा बाँच्न चाहान्छु । प्रवासको शान्त रात र परदेशी एकान्तले उपन्यासको यात्रा अझ गहिरो बनायो ।

५. ‘मर्नु अघि’ उपन्यासको शीर्षक नै अत्यन्तै गहिरो र भावनात्मक छ । यस शीर्षकको पछाडिको कथा के हो ?
– क्यान्सरको उपचारकै बीचमा म बारम्बार सोच्थे “मर्नु अघि म के गर्न सक्छु?” यही प्रश्नले उपन्यासको बीउ रोप्यो । म मरेपछि होइन, मर्नुभन्दा पहिले जीवनलाई अर्थ दिन चाहन्थें । त्यसैले यो शीर्षक मेरो आत्मसंवाद हो, मर्नु अघि बाँच्नेहरूका लागि ।

६. तपाईंको पहिलो कृति ‘अपदस्त अस्तित्व’ कवितासङ्ग्रह थियो । कविताबाट उपन्यास लेखनसम्मको यात्रामा कस्तो भिन्नता र रूपान्तरण महसुस गर्नुभयो ?
– कविता मेरो भावना हो, उपन्यास मेरो आँखाको दृष्टि हो । कवितामा आँसुका थोपा छन्, उपन्यासमा पात्र दीपाको आँधीबेरी छ । कविताले भावनाको भित्तामा टाँसिएको अनुभूति दिन्छ भने उपन्यासले त्यस अनुभूतिलाई कथामा परिणत गर्छ । यी दुई कृतिले मलाई पूर्ण बनाएका छन् ।

७. प्रवासमा बसेर नेपाली भाषामा लेखिरहनु कति चुनौतीपूर्ण हुन्छ ? भाषिक र सांस्कृतिक दूरीलाई कसरी समन्वय गरिरहनुभएको छ ?
– साँच्चै चुनौतीपूर्ण छ । यहाँको परिवेश फरक छ, बोलीचाली र सोच पनि । तर हृदयभाषा त उही हो नेपाली । जब म लेख्छु, मलाई लाग्छ म मेरो माटोसँग बोल्दैछु । भाषा र संस्कृति परदेशमा जोगाउनु नै मेरो सानो आन्दोलन हो ।

८. उपन्यासका पात्रहरू-के ती पूर्णतः कल्पनाका हुन्, वा तपाईंको जीवनका वास्तविक छाँयाहरू पनि तिनमा भेटिन्छन् ?
– ‘मर्नु अघि’ का पात्रहरू काल्पनिक हुन् त्यहाँ मेरो जीवन भोगाइ केही पनि छैन । तर त्यहाँ अरू धेरै नारिहरूले भोगेका पीडाहरू छन् । मेरा ती पात्रहरू शुद्ध कल्पना हुन,तिनीहरूले बाचिरहेका आत्माहरू हुन्, जसलाई मेरो शब्दद्वारा जीवन दिन खोजेरहेकी हुँ ।

९. प्रवासमा रहेर लेख्दा नेपाली पाठकहरूसम्म पुग्न पक्कै पनि सजिलो भएन होला । तपाईंले पाठक प्रतिक्रियाहरू कस्ता पाइरहनु भएको छ ?
– सुरुमा लाग्थ्यो, परदेशबाट लेख्दा कसले पढ्ला र बुझ्ला । तर जब पाठकहरूले आँसु र मनले पढे तब थाहा भयो, दूरीले हृदय छुट्याउन सक्दैन । अहिले नेपालदेखि अमेरिका, अष्ट्रेलिया, कतारसम्मका नेपाली पाठकहरूले पठाएका सन्देशहरूले मलाई निरन्तर लेख्न ऊर्जा दिइरहेकोे महसुस गरेकी छु ।

१०. उपन्यासमा महिला चेतना, आत्म–संघर्ष र अस्तित्वको गहिरो विमर्श देखिन्छ । के यो व्यक्तिगत अनुभवसँग पनि जोडिएको विषय हो ?
– होइन तर धेरै महिलालाई दीपाको रूपमा समाज, विवाह, रोग र मौनताको धेरै रूप देखेकी छ ु। ती सबैले मलाई लेख्न बाध्य बनायो । ‘मर्नु अघि’ भित्रको महिला चेतना मेरो कल्पनाको प्रतिविम्ब हो जहाँ पात्र दीपा जस्ता आवाजविहीन महिलाहरूको आवाज बनेको छ ।

११. तपाईंका दृष्टिमा प्रवासी लेखकहरूले नेपाली साहित्यमा कस्ता खालका नयाँ दृष्टिकोण ल्याइरहेका छन् या ल्याउनु पर्छ ?
– प्रवासले दृष्टि फराकिलो बनाउँछ । हामीले दुःख मात्र होइन, विविधता र विश्वदृष्टिकोण पनि देखेका छौँ । प्रवासी लेखकहरूले नेपाली साहित्यमा “स्थानीय माटोको गन्धसहितको विश्व–भावना” ल्याइरहेका छन् । यही मिश्रणले नयाँ धार सिर्जना गर्छ जस्तो लाग्छ ।

१२. ‘मर्नु अघि’ पछि तपाईंको अर्को सृजनात्मक योजना के छ ? के पाठकहरूले नयाँ विषयको अपेक्षा गर्न सक्छन् ?
– अहिले म मेरो क्यान्सर यात्रा र उपचारबीचको वास्तविक अनुभवलाई कथा आधारित पुस्तकका रूपमा लेख्दै छु । यसपटक म उपचार र मानवीय आशाको कथा लेख्न चाहन्छु । जहाँ मृत्यु पनि बाँच्ने शक्ति बन्छ । पाठकले फेरि एउटा आत्मस्पर्शी विषय पाउनेछन् ।

१३. आजका नयाँ पुस्ताका लेखकहरू—विशेषगरी प्रवासमा बसेर लेख्नेहरूलाई तपाईंले के सन्देश दिन चाहनुहुन्छ ?
– प्रवासमा लेख्नु भनेको मनको देश नछोड्नु हो । जहाँ हुनुहुन्छ, त्यहींबाट आफ्नो कथा लेख्नुहोस् । शब्दलाई बाँच्ने माध्यम बनाउनुहोस्, पुरस्कारका लागि होइन, आत्मशान्तिका लागि लेख्नुहोस् । सत्य र संवेदनशीलता कहिल्यै पुरानो हुँदैन ।

१४. अन्त्यमा, महिलालाई लेखक बन्न कतिको सजिलो छ? तपाईंको आफ्नो अनुभव कस्तो रह्यो ?
– सजिलो छैन । समाज अझै महिलाको पीडालाई कथा होइन, कमजोरीका रूपमा हेर्छ । तर म बिस्तारै बुझ्दै छु महिलाले लेख्दा त्यो व्यक्तिगत हुँदैन, त्यो पीडाको सामूहिक स्वर बन्छ । म गर्व गर्छु, कि म लेख्दैछु , आफ्ना लागि मात्र होइन, धेरै बोल्न नसक्ने आवाजहरूको लागि ।

धेरै धन्यवाद, जमुना जी, तपाईंको समय र हृदयस्पर्शी विचारहरूका लागि । तपाईंको ‘मर्नु अघि’ उपन्यासले नेपाली साहित्यमा नयाँ संवेदनाको लहर ल्याओस् भन्ने शुभकामना ।