हरेक दिन चक्रब्युहुमा मारिन्छन भिमन्युहरू
नर र नारायणसंगै बसे पनि
राजकुमारले गर्नु पर्ने भोग पाएन
सात अक्षौणी सेना हुँदा पनि
एक्लो भइ
सहारा नपाई मारिन्छन् ।
शरणको जीवन जिउँदाजिउँदै
मरणको चक्रब्युहू भित्र फस्छन ।
युद्धमा निर्दोस निहत्या मारिन्छन्
युद्धले कसैको रक्षा गर्दैन
कसैको भलो चिताउदैन
जितेकाहरू पनि हरेक पल हारि रहन्छन् ।
शासक जहिले पनि अन्धा हुन्छन्
अन्ध भक्तहरू त्यसैमा टेकेर योजना बनाउछन् ।
बालक वृद्ध केहि भन्दैन
दया,माया पनि केहि हुदैन
हतियारको मात हुन्छ
सत्ताको रवाफ हुन्छ ।
शासन सत्ताले प्रतिशोध निम्त्याएको हुन्छ
प्रतिशोधको आगोमा सत्ता जलिरहन्छ
आगो लगाउनेहरू
सत्ता अरुको देख्छन्
डढी सकेको खरानी देख्दा आफ्नो पाउछन् ।
मार्दा शत्रु देखिएका भीष्म
बाजे देखिन्छन
त्यस्तै धेरै ठुलो शत्रु
गुरु द्रोणाचार्य हुन्छन्
सुतपुत्र भनि गालि गरिएका कर्ण
सहोदर भाई देखिन्छन् ।
पश्चातापले जीवन भर पिरोल्छ
यत्रतत्र आफन्त कै लास देखिन्छन्
घाइते अपांग आफन्त नै आफन्त देखिन्छन्
पश्चातापको हस्तिनापुरमा ।
निकै कठिन छ
द्रोणाचार्यको चक्रब्युहु
सिक्ने क्षमता भएका कर्ण
सिक्न पाउँदैनन्
सिकेका अश्वस्थामा
प्रयोग गर्न जान्दैनन्
जान्ने अर्जुन देख्न पाउँदैनन्
आधा मात्र जान्ने प्रयोगमा ल्याउछन्
अपुरी विद्या जिएई काल हुन्छ ।
छल–कपट छताछुल्ल हुन्छ
छलको देवता वलको राजा भानिन्छ
राज्य छल र वलको
हस्तिनापुर हो ।
मार्दा देखिएको शत्रु
आगो लगाउदा देखिएको शत्रुको घर
चक्रब्युह भित्र थुनेर मारिएका अभिमन्यु
कुरू सभामा नङ्याइएकी द्रोपदी
रक्तकुण्ड भएको कुरुक्षेत्र
पश्चातापको हस्तिनापुर मात्र हो ।
पश्चातापको हस्तिनापुरमा
युधिष्ठिर राजा होउन वा धृतराष्ट्र
अमन चयन हुँदैन ।
कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा