• २०८२ कार्तिक २९, शनिबार

आमा-अनमोल उपहार

एलिस्मा अधिकारी

एलिस्मा अधिकारी

निश्चल छ आमाको मन
अनमोल छ उनको मप्रतिको माया
आमाको गरिमा अपार,
अमृत सरह अनमोल हुन्छ ममताको छाँया

आमा ! शब्द नै कति मिठो,
कति प्यारो नाता आमा
आमा नै अस्तित्व मेरो
जिउने आधार आमा

सजिलै स्विकार्ने मेरा सबै गल्ती
जो कोहीले कहाँ गर्न सक्छ र त्यो ?
मैले दुःख दिँदा पनि हाँसिरहने,
खुसीको बहार नै आमा हो त्यो ।

जति चुनौती आए पनि
डगमगाउँदैनन मेरा पाइला,
थाहा छ !
आमाको हात छ मेरो शिरमा
सधैं मायालु छायाँ जस्तो ।

भोग्नुपरोस् जतिसुकै कष्ट
दृढ भएर सहन सक्छु म
मसँग छ आमाको साहसी रगत
तातो बग्छ सँधै मेरै शरीरमा ।

मेरी आमा ! !
भोकै बस्न तयार छिन्,
सहन सक्दिनन् मेरो भोक
बुझ्छिन् मेरो सानो कुरा पनि
र त बेवास्ता गर्छिन् आफ्नै थकानलाई ।

न म तिर्न सक्छु त्यो माया,
न शब्दले मापन गर्न सकिन्छ यो उपकार ,
मेरी आमा एक बरदान
जसको तुलनामा आजसम्म
संसारले सिर्जना गरेको छैन कुनै उपहार !!


एलिस्मा अधिकारी