• २०८० मंसिर १९ मङ्गलबार

शुभकामना

रञ्जना निरौला

रञ्जना निरौला

पृथ्वी !
ऋतुहरूमा बाँडिँंदै
आफ्नै लयमा
विचरण गरिरहँदा
आफैँसँग बोकेर ल्यायो
धकेलेर एक वर्ष
नूतन स्वप्निल आँखा खोलेर
नयाँ वर्ष आयो !

वसन्त ऋतुको मादकताभित्र
फूलको सुवासमा बहँदै–बहँदै
थपेर ऊर्जा जीवनमा
यौटा वर्ष झिकेर अर्को वर्ष सजायो
नूतन स्वप्निल आँखा खोलेर
नयाँवर्ष आयो !

वर्षहरू थप्दै, झिक्दै
भोगेर दिनहरू ऋतुमा
अनुभूतिले गते, बार र महिना रँगायो
बसेर काखमा नयाँ पात्रोको
नूतन स्वप्निल आँखा खोलेर
नयाँ वर्ष आयो !

ठोक्किँदै र झोक्किँदै
समयको यात्रामा
कुनै रात आँसुमा
कुनै दिन आह्लादमा
मनले आशा र विश्वासको सिरानी लगायो
नूतन स्वप्निल आँखा खोलेर
नयाँ वर्ष आयो !

शुभारम्भ सुन्दर बनोस्
साथमा नयाँ बिहानीको
सम्भावनाका यात्रामा
मिलोस् चौतारी सफताको
धराको कणमा टल्किएर खुसी
शुभ मङ्गल होस् मानवीय सभ्यताको !

वासन्तिक अरुणोदयका स्वर्णिम लालीले
नवीन समयको ढोका ढकढक्यायो
नूतन स्वप्निल आँखा खोलेर
नयाँ वर्ष आयो !
नयाँवर्षको शुभकामना !!