• २०८२ मंसिर २१, आईतवार

दिव्य गिरीको कथासङ्ग्रह ‘ईश्वरको अनुहार’ लाई ‘तरेली कथा पुरस्कार’ प्रदान

काठमाडौँ ।

तरेली साहित्य प्रतिष्ठानले कवि तथा कथाकार दिव्य गिरीको कथासङ्ग्रह ‘ईश्वरको अनुहार’ लाई ‘तरेली कथा पुरस्कार’ प्रदान गरेको छ । यो पुरस्कार २०८० सालमा काठमाडौं उपत्यकामा प्रकाशित कथा/लघुकथा कृतिमध्ये उत्कृष्ट ठहरिएको कृतिलाई प्रदान गरिँदै आएको हो । तरेली साहित्य प्रतिष्ठान, शंखरापुरले साँखुस्थित होटल समरा गार्डेनमा आयोजित प्रतिष्ठानको बाह्रौँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा पुरस्कार वितरण गरेको हो ।

कार्यक्रमका सभापति तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ, र प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई हुनुहुन्थ्यो । त्यस्तै शंखरापुरका मेयर र उपमेयर, साथै साहित्यकार प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, गोविन्दप्रसाद घिमिरे वेदमणी, ठाकुर शर्मा, र ज्ञाननिष्ठ ज्ञवाली विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा कुलपति राईले महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण र पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

सोही अवसरमा साहित्यकार राजेन्द्र श्रेष्ठका ‘पदचिन्ह’, ‘सूर्यास्तको एक साँझ’ र ‘सम्झना बिर्सना’ कवितासङ्ग्रह, भरतमणि ढुंगानाको ‘भावनाका लहर’, कृष्णप्रसाद नेपालको ‘अबको शिक्षा’, र शैलेन्द्र श्रेष्ठको ‘नेता महात्म्य–२’ गरी छ वटा पुस्तकहरूको लोकार्पण समेत गरिएको थियो । लोकार्पण गरिएका कृतिहरूको समीक्षा प्रा.डा. शैलेन्दुप्रकाश नेपाल र प्रा. ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि भूपाल राईले कथाकार दिव्य गिरीलाई ‘तरेली कथा पुरस्कार’ प्रदान गर्नुभएको हो ।