आख्यान–श्रृङ्खला
भर्जिनिया ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले अनेसास एकराज पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको उपन्यास बोरालाई प्रदान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीका अवसरमा शनिबार भर्जिनियाको मनाससमा आयोजित पुरस्कार वितरण कार्यक्रममा अनेसासले पूर्वघोषित निर्णयअनुसार भण्डारीको उपन्यास बोरालाई सर्वोत्कृष्ट उपन्यास पुरस्कार प्रदान गरेको हो । समारोहका प्रमुख अतिथि बोर्ड अफ ट्रस्टीका (विओटी)का पूर्वअध्यक्ष डा.श्याम कार्की र पुरस्कार समितिका अध्यक्ष तीर्थराज पाण्डेयले १००० डलर धनराशिसहित पुरस्कार भण्डारीलाई प्रदान गरे। अनेसासले प्रत्येक दुई वर्षमा विभिन्न ११ विधाका पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्षको सर्वोत्कृष्ट उपन्यास पुरस्कार भण्डारीको उपन्यास बोरालाई प्रदान गरिएको हो।
२ हजार १ सय डलरराशिको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको सन्त्रासका साठी दिन उपन्यासलाई प्रदान गरिएको छ । अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोक साहित्य पुरस्कार रुकुमका लोककथाका लेखक शशिराम कार्कीले प्राप्त गरे। एक हजार डलरराशिको अनेसास होमनाथ सुवेदी डायस्पोरा वाङ्गमय पुरस्कार डा.तुलसी आचार्यको स्वप्न भूमि उपन्यास, अनेसास सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध नियात्रा, संस्मरण पुरस्कार मोमिलाको निबन्ध संग्रह ‘प्रश्नहरू त बाँकी नै छन्’लाई प्रदान गरियो । त्यसैगरी, सांस्कृतिक अध्ययन विधाको अनेसास सीता शर्मा संस्कृति तथा दर्शन पुरस्कार डा.दुर्गाबहादुर घर्तीको सांस्कृतिक अध्ययन, अनेसास राष्ट्रकवि काव्य पुरस्कार (डायस्पोरा) जगन्नाथ पौडेलको बग्दा बग्दै कविता संग्रह, अनेसास राष्ट्रकवि काव्य पुरस्कार कृसु क्षेत्रीको कविता संग्रह पसिनाको क्यानभास, अनेसास पदम विश्वकर्मा उत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा संग्रह पाश्र्व धुनलाई प्रदान गरियो ।
यसैगरी, अनेसास लक्ष्मण सत्याल गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीत संग्रह धर्तीका ध्वनिलाई र अनेसास शिव लामिछाने गीत बाल साहित्य पुरस्कार बाल साहित्य यात्रामा देशकी लेखिका विमला निरौलालाई प्रदान गरियो । समारोहमा प्रमुख अतिथि बोर्ड अफ ट्रस्टीका (विओटी)का पूर्वअध्यक्ष डा.श्याम कार्की, अमेरिकाको मेरिल्यान्ड राज्यका डेलिगेट डा.ह्यारी भण्डारी, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सतेन्द्र साह, अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रस्टीका (विओटी)का अध्यक्ष पदम विश्वकर्मा, पूर्वअध्यक्ष गीता खत्री, सल्लाहकार तीर्थराज अधिकारी, अनेसासका पूर्वअध्यक्ष गोवर्धन पूजा, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष महेश्वर पन्तले मन्तव्य व्यक्त गरेका थिए ।
अनेसासले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार शनिबार भर्जिनियामा एक समारोहमा प्रदान गरेको हो। कुल ११ हजार ६ सय डलरराशिका ११ वटा पुरस्कारका लागि विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए । दुई सत्रमा सञ्चालित समारोहको पहिलो सत्रको सञ्चालन अनेसासकी कोषाध्यक्ष तारा अधिकारी र दोस्रो सत्रको सञ्चालन महासचिव राजु सिटौलाले गरेका थिए भने अनेसास डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीले स्वागत गरेका थिए ।
