• २०८२ कार्तिक १९, बुधबार

‘कथायात्रा समूह’ आख्यान मञ्जिरा कार्यक्रम चितवनमा

चितवन,

‘कथायात्रा समूह’ आख्यान मञ्जिरा कार्यक्रम लिएर चितवन यात्रा गरेको छ । नेपाली आख्यान साहित्यका विविध पक्षबारे पाठक, लेखक र पुस्तक व्यवसायीहरूसँग छलफल गर्न आख्यान मञ्जिरा कार्यक्रम लिएर कथायात्रा समूह चितवन पुगेको हो । उक्त यात्राको क्रममा चितवनस्थित सम्पूर्ण पुस्तक पसलमा समालोचक रमेश प्रभात, पुस्तक व्यवसायी लेखराम सापकोटा लगायतको समूहसँग चितवन जिल्लामा आख्यान लेखन सम्बन्धी आकर्षण, लेखन विषयवस्तु, समग्र नेपाली साहित्यमा चितवनको योगदान र चितवनको साहित्यिक बजार विषयमा अन्तक्र्रिया भएको छ ।

कथायात्रा समूहले चितवनमा बसेर आख्यानमा सबैभन्दा ठूलो राशि भएको पुरस्कारको संस्थापक व्यक्तित्व, लेखक एवं कविडाँडा साहित्य प्रतिष्ठानका अध्यक्ष एलबी क्षेत्रीसँग पनि भेट गरेको छ । वरिष्ठ साहित्यकार क्षेत्रीले नेपाली साहित्यमा लेखन प्रवृत्ति, पुरस्कारको सकारात्मक र नकारात्मक पक्षबारे चर्चा गर्दै आफ्ना उत्कृष्ट रचनाका अंशहरू वाचन समेत गरेका थिए । कथायात्रा समूहले गर्दै आएको पाण्डुलिपि बहस, कथाकारको कथनी र आख्यान मञ्जिरा लगायतको क्रियाकलापमा समेत सो समयमा छलफल भएको थियो ।

उक्त कथायात्रा समूहमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, हरिश कल्पित र पवित्रा अधिकारी छन् ।