• २०८२ पुष १३, आईतवार

उपन्यासकार चन्द्रलालको ‘औँसीको जून’ लोकार्पण

काठमाडौँ ।

सुसेली साहित्यिक प्रतिष्ठानले साहित्यकार चन्द्रलाल तामाङको ‘औँसीको जून’ उपन्यासको लोकार्पण गरेको छ । सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष रामराजा केसीको अध्यक्षता र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा कृतिको लोकार्पण भएको हो । नगरपालिका उपप्रमुख बसन्ती डङ्गोल तामाङ, साहित्यकारकारहरू किशोर पहाडी, श्यामल, मुकुन्द पौडेल, लता केसी, डा. शेखरकुमार श्रेष्ठ, डा. छायादत्त न्यौपाने, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, सुभाषचन्द्र पौडेल भीमफेदीया, डा. सविना श्रेष्ठ, नारी चिन्तक तथा अभियन्ता लक्ष्मी गुरुङ, मुरारि सिग्देल, शेखर अर्याल, भरतबहादुर चन्द लगायतले कृतिको लोकार्पण गरेका थिए ।

उपन्यासकार तामाङ सुसेली साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष हुन्। उनको ‘मनका रङ्गहरू’ कवितासङ्ग्रह पनि प्रकाशित छ। त्यस्तै उनका दर्जनौं गीत रेकर्ड भइसकेका छन् । दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले कार्यक्रमको सम्बोधन गर्दै उपन्यासकार तामाङ र प्रकाशक सुसेली साहित्यिक प्रतिष्ठानलाई बधाई दिए । दक्षिणकाली नगरपालिका साहित्यमा अगाडि रहेको पनि उनले बताए। ठूलो एकादशी जस्तो पावन दिनमा लोकार्पण भएको उपन्यास औँसीको जून जस्तै रहेको बताए । आउँदो दिनमा पनि साहित्यका क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग पु¥याउने वचनबद्धता जनाउँदै उनले नगरपालिकाको तर्फबाट २५ थान पुस्तक लिएका थिए ।

समालोचक तथा लघुकथा केन्द्रका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठले लोकार्पित कृतिको समालोचकीय टिप्पणी प्रस्तुत गरेका थिए । समसामयिक विषय र घटनामा लेखिएको उपन्यासमा आदर्शका रूपमा मिथक पनि देखाइएको उनले बताए । उपन्यासमा जीवनलाई हेर्ने दृष्टिकोण रहेको बताउँदै डा. श्रेष्ठले उपन्यासकार तामाङ एक कुशल समीक्षक पनि रहेको बताए । त्यस्तै उनले इन्द्रिय सन्तुष्टि र प्रेमलाई फरक रूपमा देखाइएको उपन्यासमा सामाजिक विसंगति र विकृतिको रूपमा औँसी रहेको र ती विसंगति र विकृति हटाउन सकियो भने जूनको रूप लिन सकिने पनि बताए । उपन्यासकार तामाङले आफ्नो लेखकीय मन्तव्यमा गीतकार बी. बी.थापाले आफूलाई उपन्यास लेख्न प्रेरित गरेको र त्यसलाई मूर्त रूप दिन श्यामल, डा. शेखरकुमार श्रेष्ठ, नरेन्द्रजङ्ग पिटर, ईश्वरचन्द्र ज्ञवाली, रामकुमार केसी र सुसेली साहित्यिक प्रतिष्ठानको भूमिका रहेको बताए ।

कार्यक्रममा नगरपालिका उपप्रमुख वसन्ती डङ्गोल तामाङ, किशोर पहाडी, श्यामल, लता केसी, डा. सविना श्रेष्ठ, मनीषकुमार शर्मा, प्रधानाध्यापक रामकुमार बस्नेत, डा.छायादत्त न्यौपाने तथा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्ष रामराजा केसीले उपन्यासकार तामाङ प्रतिष्ठानका मात्र कोषाध्यक्ष नभई उनी साहित्यका पनि कोषाध्यक्ष रहेको बताए । उनका कृतित्व तथा व्यक्तित्वको प्रशंसा गर्दै केसीले आउँदो दिनमा अन्य कृतिको अपेक्षा गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

शुभकामना मन्तव्यका क्रममा केदारनाथ आचार्यले लेखक चन्द्रलाल तामाङका विषयमा लेखिएको आफ्नो कविता वाचेका थिए । दीपक लामिछानेले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित व्यक्तित्वहरूलाई सुसेली साहित्यिक प्रतिष्ठानले मायाको चिनो अर्पिएको थियो । कार्यक्रमको शुरूमा प्रतिष्ठानकी सदस्य सविता केसीले स्वागत मन्तव्य सहितको कविता वाचेकी थिइन् ।