लघुकथामा नौलो अभ्यास ‘विलोम’को पहिलो अभ्यास सम्पन्न भएको छ । लघुकथाकारहरू विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत पहिलो अभ्यास फागुन ३ गते सम्पन्न गरिएको हो । नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउनु यस विलोम अभियानको उद्देश्य रहेको छ । सोही उद्देश्य अनुरूप पहिलो भेटघाट अग्रज लघुकथाकार, कविएवं सुप्रसिद्ध नाट्यकर्मी अशेष मल्लसँग उनकै निवासमा गरिएको हो ।
भेटघाट गर्ने क्रममा मल्लसँग दुई घण्टा जति लघुकथाको प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता, लघुकथाको भविष्य जस्ता लघुकथाको विविधपक्ष तथा उनको लघुकथा लेखन अनुभूतिबारे कुराकानी गरिएको थियो । लघुकथाको ऐतिहासिकता उन्खनन एवं लघुकथाको बढ्दो लोकप्रियतालाई दृष्टिगत गर्दै यसको स्तरीयता कायम राख्न यस किसिमको अभ्यासबाट सहयोग पुग्ने यसका अभियन्ताहरूको धारणा रहेको छ । भेटघाट कार्यक्रममा विलोम लेखिएको मायाको चिनो पनि कथाकार मल्ललाई प्रदान गरिएको थियो ।
विलोमका अभियन्ता विनोद नेपाल, लघुकथा कुनो, दीपक लोहनी सिक्किमेली लघुकथा समाज र ममता मृदुल लघुकथा सौन्दर्य फेसबुक पेजमा आबद्ध छन् । कथाकार मृदुल लघुकथा समाज नेपाल प्रदेश नं. १ का अध्यक्ष पनि हुन् ।