• २०८२ मंसिर १३, शनिबार

जुत्तन नं २

जीवन आचार्य

जीवन आचार्य

हेर्दा हेर्दै थाके आँखा
हिँड्दा हिँड्दै गले गोडा, भाँचियो वैशाखी,
सुन्दा सुन्दै बहिरा भए कान कुर्सीका,
र अलपत्रमा परे युद्धहरू र योद्धाहरू
अलपत्रमा पर्यो देश

जिन्दगी नदी हो
खहरे पनि हो
खोला हो कतै कतै
सागरमा पुगेपछि जिन्दगीको परिभाषा बदलिन्छ र जिन्दगी जस्तो जिन्दगी बन्छ ।

सोच्नुपर्छ फरक तरिकाले
के जिन्दगी बन्न लक्ष्य नै भेटाउनुपर्छ र ?

म सम्झन्छु जिन्दगीलाई फूल
कतै मन्दिरमा सजिन्छ, कतै गलामा मुस्काउँछ,
कतै बगरमा फ्याँकिन्छ,
फक्रन पनि पाउँदैन फूल
बीचमै ओइलाएर जान्छ।

म सम्झन्छु
बग्दा बग्दैको नदीलाई

बिचमै बाँध बाँधिदिन्छन्
सागर पनि पुग्न पाउँदैन पानी ।

म सम्झन्छु
खहरेले खोला खोज्दै, खोलाले नदी खोज्दै आफ्नो जिन्दगी बगर बनाएको छ ।

देख्दा-देख्दै यी कुरा दृश्यमा
तर पनि अटाएका छैनन् आँखामा
सजाएर सपनाले सपना देख्ने गर्छन् ।

एक्लै बरबराउन थाल्छन्
मानसिक विचित्र मान्छे जस्तै

मडारिरहेको देखेको छु कालोमेघ
समय चर्खा बनेको छ
त्यही चर्खामा बेरिएर फनफन घुमेको छ
मान्छेको मन

खुट्टा खोज्दै जुत्ता र जुत्ता खोज्दै खुट्टा
आफ्ना साइजका ।

कसैले सोचे होलान् र
किन भेटिँदैनन् भनेर साइजका जुत्ता
मात्रै हात लाग्छन् बेसाइजका, बेकामका
कसले भेटाएर लुकायो होला ?


जीवन आचार्य